s

छोरीसँगै पढ्ने बालिकालाई जबर्जस्ती यौनधन्दामा

चितवन वीरेन्द्रनगरकी ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन बालिकालाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा पक्राउ परेकी छिन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले पुनसँगै झापाकी ३४ वर्षीया पूजा लोवालाई पक्राउ गरेको छ ।

आफ्नी छोरीसँगै विद्यालयमा अध्यनयरत १६ वर्षीया बालिकालाई रोजगार दिने प्रलोभन दिएर पुनले वेश्यावृत्तिमा लगाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका सुरुमा उनले बालिकालाई आफूसँगै कोठामा राखेको र जबर्जस्ती वेश्यावृत्तिमा लगाएर भएभरको आम्दानी असुलेर बालिकामाथि चरम आर्थिक शोषण गरेको खुलेको छ । पुन र लोवाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा ब्युरोले मुद्दा चलाएको छ ।

ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले बालिकालाई जबर्जस्ती यौनधन्दामा लगाउने र आर्थिक शोषण गर्ने धन्दामा संलग्न दुई महिला पक्राउ परेको जानकारी दिए । ‘उनीहरूले बालिकालाई जबर्जस्ती यौनधन्दामा लगाएको देखियो । आर्थिक शोषण पनि गरेको देखियो । पक्राउ परेका उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा चलाइएको छ,’ उनले भने ।

प्रहरीका अनुसार पुन चाबहिल बस्छिन् । उनकी छोरी चाबहिलस्थित एक विद्यालयमा अध्ययनरत छिन् । पीडित बालिका पनि पुनकी छोरीसँगै सोही विद्यालयमा अध्ययन गर्थिन् । एउटै कक्षामा अध्ययन गर्ने हुँदा दुवैजना मिल्ने साथी थिए । यही क्रममा बालिकाले पुनकी छोरीसँग आफ्नो घरको समस्या बताइन् । बालिकाको समस्या छोरीले आफ्नी आमालाई सुनाइन् । पुनले बालिकालाई भेट्न कोठामा बोलाइन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको र घरमा सधैँ झगडा हुने बुझेपछि पुनले बालिकालाई आफूसँगै बस्न भनिन् । पुनको प्रस्तावमा बालिका तुरुन्तै राजी भइन् । केही महिना पुनसँगै बसेकी उनी विद्यालय पनि गइन् ।

यसै क्रममा पुनले बालिकालाई ‘पढेर केही नहुने, बरु काम गरे आम्दानी हुने’ भनिन् । बालिका काम गर्न राजी पनि भइन् । सोही क्रममा पुनले बालिकालाई नवलपरासीस्थित रेस्टुरेन्टमा काम गर्न पठाइन् । प्रहरीका अनुसार रेस्टुरेन्टमा बालिकामाथि पहिलो दिनमै बलात्कार भयो । रेस्टुरेन्ट मालिकले बालिकालाई अन्य ग्राहकसँग पनि यौन सम्पर्क गर्न लगाए । आफूमाथि चरम शोषण भएपछि बालिकाले पुनसँग रेस्टुरेन्टमा काम नगर्ने जानकारी गराइन् । तर, उनले अझै त्यहीँ बस्न भनिन् । पुनले एक महिनापछि बालिकालाई काठमाडौं बोलाइन् । केही दिन आफूसँगै राखिन् । त्यसपछि चाबहिलस्थित पूजा लोवाले सञ्चालन गरेको फ्रेन्डसिप ब्युटी एन्ड स्पामा काममा लगाइन् । पूजाले पनि बालिकालाई स्पामा यौनधन्दामै लगाइन् । केही महिना काम गरेपछि बालिकाले त्यहाँ पनि काम गर्न इन्कार गरिन् ।

बालिकाले फ्रेन्डसिप ब्युटी एन्ड स्पा छाडेपछि पुनले उनलाई आफ्नै कोठामा राखिन् । केही दिनपछि सम्पर्कमा आएका ग्राहककहाँ पठाओमार्फत यौनसम्पर्क गर्न पठाइन् । बैंकमा पैसा राखिदिने प्रलोभन दिएर ग्राहकबाट भएको सबै आम्दानी पुनले आफैँ राखिन् । एक वर्षसम्म धन्दा चलिरह्यो । यही क्रममा बालिका आफ्नो केटा साथीसँग भक्तपुरस्थित रिसोर्टमा ‘डेट’मा गइन् । प्रहरीले रिसोर्टमा छापा हान्दा बालिका पक्राउ परिन् । बालिकासँगै पक्राउ परेका अन्य युवायुवतीको परिवारका सदस्य प्रहरी कार्यालय पुगे ।

पक्राउ परेकाहरूलाई बुझेर लिएर गए, तर बालिकाको कोही आएनन् । प्रहरीले बालिकासँग सोधपुछ ग¥यो । कोही नभएको बताएपछि प्रहरीले बालिकालाई सामाजिक संस्थाबाट सञ्चालित सेफ हाउस पठायो । जब सेफ हाउसका सामाजिक कार्यकर्ताले उनीसँग सोधपुछ गरे, बल्ल उनले आफ्नो पीडा बताइन् । ‘रिसोर्टबाट पक्राउ परेपछि बालिकालाई लिन कोही आएनन् । उनले आफ्नो कोही नभएको बताइन् । प्रहरीले सामाजिक संस्थाबाट सञ्चालित सेफ हाउस पठायो । बल्ल उनले त्यहाँ आफ्नो सारा पीडा विस्तारपूर्वक बताइन् । त्यसपछि उनलाई जाहेरी दिन लगाएर यौनधन्दामा लगाउने सबैलाई पक्राउ गरियो,’ ब्युरोका प्रवक्ता एसपी मिश्रले भने ।

Published on: 27 June 2024 | Naya Patrika

Link

Back to list

;