s

चेलीलाई चोट

आफ्नो सन्तान हुर्काउने, बढाउने पढाउने तथा नाम र इज्जत राख्न सक्ने गरी ठूलो मान्छे बनाउने रहर कुन आमालाई हुँदैन र ? श्रीमान्ले कमाएर दिएको पैसाले स्वस्थ सन्तान हुर्काउन त कति गाह्रो हुन्छ भने एकातिर अपाङ्ग छोरा, अर्कोतिर श्रीमान्ले अर्की श्रीमती ल्याएर आफूलाई वास्ता नगर्नु ती नारीलाई कस्तो होला पुरुषले केवल कल्पना मात्रै गर्न सक्छन् । यस्तै नियतिको सिकार भएपछि ९ वर्षको हुँदासमेत छोरा बोल्न र हिँड्न नसक्ने छोराको उपचार खर्च र लालनपालनका लागि वैदेशिक रोजगारीमा कतार आएकी एक चेली कम्पनीको मुदिरले कुटपिट गरेपछि नेपाली नियोगको शरणमा आइपुगेकी छन् । ११ महिना पहिले एक क्लिनिङ कम्पनीमा आएकी डुमरवाना ४ बाराकी सबिना गुरुङले अहिले यही नियति भोग्दै छिन् । श्रीमान्ले कान्छी श्रीमती ल्याएर बसेपछि ९ वर्षको छोरा राजन गुरुङ  -जो अहिलेसम्म बोल्न र हिँडडुलसमेत गर्न सक्दैनन्) को पालनपोषणका लागि २-४ पैसाको जोहो गर्न उनी कतारको एक क्लिनिङ कम्पनीमा काम गर्न आएकी थिइन् । ६ सय रियाल तलब र कम्पनीले खाना दिने भन्ने सर्तमा २२ हजार रुपैयाँ तिरेर उनी यता आएकी हुन् ।

तर यता आएपछि उनलाई कम्पनीले खाना नदिई  त्यसबापत १ सय रियाल दिँदै आएको थियो । बिहान ६ बजेदेखि बेलुका ८-९ बजेसम्म घर-घरमा काममा पठाउने गरेको भए पनि कम्पनीले उनलाई ओभर टाइम काम लगाएबापतको पैसा भने दिने गरेको थिएन । त्यति हुँदा पनि चुपचाप काम गरेर बसेकी उनलाई गत बिहीबार इजिप्सियन मुदिरले कुटपिट गरेपछि भने अर्काको देशमा गुलामी गरेर बसिरहन उपयुक्त लागेन । कतारकै अर्को कम्पनीमा कार्यरत बहिनी भेटेर फर्केको विषयलाई लिएर मुदिरले कुटपिट गरेको थियो । हाल गुरुङ कम्पनीबाट लिन बाँकी २ महिनाको बक्यौता तलब, हवाई टिकट र एक्जिट परमिटको प्रतीक्षामा दूतावासको आश्रय स्थलमा बसेकी छन् ।

Published on: 12 May 2011 | Kantipur

Back to list

;