s

व्यक्तिगत भिसा प्रमाणीकरण लागू

कतारमा नेपालबाट गैरकानुनी प्रक्रियाबाट झिकाउने प्रक्रिया बढेको भन्दै नेपाली दूतावास, कतारले मे १ देखि व्यक्तिगत भिसा प्रक्रिया अनिवार्य रूपमा दूतावासमा प्रमाणीकरण गर्नुपर्ने मापदण्ड लागू गरेको छ । व्यक्तिगत रूपमा निकालेको भिसालाई कतारमा नेपालीहरू तनुवा भिसा, हाते भिसा र आजाद भिसा नाम दिने गर्छन् ।

अब यस्तो भिसा सीधै नेपाल पठाएर कामदार झिकाउने प्रक्रियालाई दूतावासले रोक लगाएको छ । व्यक्तिगत रूपमा भिसा निकालेर पठाउने एजेन्ट, कम्पनी प्रतिनिधि वा कामदारका आफन्तहरूले कामदारको भिसा र कामदार रोजगार सम्झौतापत्र (इम्प्वाइमेन्ट कन्ट्रयाक्ट) दूतावास प्रमाणीकरण गरेर पठाउनुपर्ने हुन्छ । दूतावासले प्रमाणीकरण भएको भिसा तथा सम्झौतापत्र देखाएपछि मात्र श्रम विभागबाट स्वीकृति मिल्ने र कामदार आउन सजिलो हुने जनाएको छ । दूतावासले एक महिनापछि संस्थागत कामदारको हकमा पनि यो नियम लागू हुन भनेको छ ।

कतारबाट आफन्त र कम्पनीका प्रतिनिधिले भिसा निकालेर पठाउने र नेपालबाट एजेन्टले फर्जी काजगात बनाएर पठाएका कामदारमा समस्या परेको भन्दै दूतावासले मापदण्ड बनाएको हो । दूतावासले प्रमाणीकरण गरेको कागजात आफ्नै वेबसाइटमा राख्ने तयारीसमेत गरेको छ ।

'ऋण काढेर आएका कामदार एकपछि अर्को समस्यामा पर्दै गएकोले नेपाली समुदायको सल्लाहमा कामदारको भिसा र श्रम सम्भौता प्रमाणीकरण गरी त्यसको विवरण वेबसाइटमा राख्न सुरु गरेका छौं,' राजदूत सूर्यनाथ मिश्रले कान्तिपुरलाई भने, 'यसले नेपालको राजस्वमा वृद्धि र सुरक्षित आप्रवासन भएर ठगीका धेरै समस्या न्यूनीकरण गर्न सक्नेछौं ।'

दूतावासले एक महिनाअघि मार्च ३१ मा कतारस्थित नेपाली समुदायसँग छलफल गरी मापदण्ड कार्यान्वयनको लागि परराष्ट्र, श्रम मन्त्रालय र वदैशिक रोजगार विभागमा पत्राचार गरेको थियो । मन्त्रालयहरूले कुनै प्रतिक्रिया पठाएका छैनन् । अन्यथा कुनै प्रतिक्रिया नआएकोले यसलाई लागू गरेको दूतावासले जनाएको छ ।

व्यक्तिगत भिसा र श्रम सम्झौता मात्र नभएर संस्थागत रूपमा म्यानपावर कम्पनीबाट आउने कामदारहरूको भिसा र श्रम सम्झौता पनि अनिवार्य दूतावासबाट प्रमाणीकरण गर्नुपर्नेमा नेपाली समुदायको जोड छ । कतारका एक पुरानो ट्राभल कम्पनीका वरिष्ठ तथ्यांक विश्लेषक शिखर वैद्यले संस्थागत भिसालाई पनि यसरी नै प्रमाणीकरण गर्न सुरु गर्नुपर्नेमा जोड दिए । 'दूतावासबाट भिसा प्रमाणीकरण गरेर पठाउन सकियो भने अहिले देखिएको समस्या ९०/९५ प्रतिशत हल हुन्छ,' उनले भने, 'नत्र उतै -स्वदेशमा) नक्कली श्रम सम्झौता बनाउने आउने क्रम रोकिँदैन ।'

कतारमा भएको छलफलमा सहभागीहरूले काजगात प्रमाणीकरण गरी दूतावासले आफ्नो वेबसाइटमा समेत राख्नुपर्नेमा समेत जोड दिएका थिए । दूतावासले मे १ देखि नै भिसा प्रमाणीकरणको जानकारी वेबसाइटमा राख्ने र काजगात द्रुत सेवाको माध्यमबाट वैदेशिक रोजगार विभागमा पठाउने जनाएको छ । दूतावासका अनुसार व्यक्तिगत भिसा प्रमाणीकरणको लागि कामदार मगाउने कम्पनी वा उसको प्रतिनिधिले नेपालबाट आउने कामदारको प्रवेश भिसा, पासपोर्टको फोटोकपीसहित कतारको चेम्बर अफ कमर्सबाट प्रमाणीकरण गरेको कामदारको रोजगार सम्झौता पेस गर्नुपर्नेछ । दूतावासले व्यक्तिगत भिसा प्रमाणीकरणको लागि ६० रियाल लिने गरेको छ । भिसा प्रमाणीकरण नगरी कामदार झिकाउनेलाई कारबाही गर्नेसमेत दूतावासले जनाएको छ । व्यक्तिगत भिसाको लागि कतारमा जिम्मा लिने कम्पनी वा उसको प्रतिनिधिले दूतावासबाट कागजात प्रमाणीकरण गरेर पठाएपछि नेपालबाट आउने कामदारले कुनै म्यानपावर कम्पनी वा एजेन्टको भर पर्नु पर्दैन ।  कामदार स्वयंले वैदेशिक रोजगार बिमा, स्वास्थ्य परीक्षण, ओरिन्टेसन टे्रनिङ, वैदेशिक रोजगार प्रवर्धन बोर्डको कल्याण कोषमा रकम जम्मा र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कतार आउन सक्ने उसले जनाएको छ ।

यसअघि यो नियम भए पनि न्यूनतम रूपमा मात्र कार्यान्वयनमा आएकोले दूतावासले यसलाई बृहत् बनाउन लागेको जनाएको छ । दूतावासबाट प्रमाणीकरण गरेर व्यक्तिगत भिसामा कतार आउने संख्या एक वर्षमा १ सय पनि पुगेको छैन । दूतावासमा एक महिनाअघि छलफल भएपछि अपि्रल महिनामा २२ कामदारले भिसा प्रमाणीकरण भएको दूतावासले जनाएको छ । साढे ३ लाख नेपाली कार्यरत कतारमा प्रतिमहिना करिब ७ हजार कामदार थपिने गरेका छन्, जसमध्ये व्यक्तिगत भिसामा आउने संख्या ६० प्रतिशतको हाराहारीमा छ ।

प्रमाणीकरण भिसा वेबसाइटमा दूतावासले आफ्नो वेबसाइटमा भिसा प्रमाणीकरण कामदारको विवरण राख्न सुरु गरेको छ । मापदण्ड लागू गरेको भोलिपल्ट मे २ मा दूतावासमा ४ कामदारको भिसा र रोजगार सम्झौता प्रमाणीकरण भएको छ ।  दूतावासले लालवीण्र बुढाथोकी, केशबहादुर पुर्जा मगर, कृष्ण ढकाल र उमा निरौलाको भिसा प्रमाणीकरण गरी वेबसाइटमा राखिएको जनाएको छ । निरौला सेक्युरिटी गार्ड र अन्य तीनजनाको पेसा लेबर छ । दूतावासका अनुसार मंगलबार एक कम्पनीमा सेल्स गर्ल पदको लागि सुजिता काफ्लेको भिसा प्रमाणीकरण भएको छ । दूतावासले स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा वेबसाइटबारे जानकारी गराएको थियो । दूतावासको वेबसाइट धधध।लझदमयजब।अom हो । वेबसाइटमा व्यक्तिगत र संस्थागत कामदारको विवरण छुट्टाछुट्टै राख्न मिल्ने गरी तयार गरेको साइट डेभोलपर तामाङ मिडिया एन्ड मार्केटिङका प्रबन्ध निर्देशक विनेश तामाङले बताए । दूतावासका अनुसार वेबसाइटमा प्रमाणीकरण भएका व्यक्तिगत भिसा विवरण हेर्नको लागि समबन्धित कामदारको पासपोर्ट नम्बर टाइप गर्नुपर्ने र संस्थागत विवरण जोसुकैले पनि हेर्न सक्नेछन् । वेबसाइटमा तथ्यांक राख्न सुरु भएपछि मंगलबारसम्म संस्थागततर्फ ३ वटा कम्पनीका ३९ कामदारको भिसा प्रमाणीकरण भएको छ । प्रमाणीकरण भएको कामदारको नाम, पासपोर्ट नम्बर, भिसा नम्बर, कामदारको पद, कम्पनीको नाम, तलब, कम्पनीको फोन नम्बरलगायत विवरण छ ।

Published on: 12 May 2011 | Kantipur

Back to list

;