s

बिलखबन्दमा ६३ सय ६५ भुटानी शरणार्थी

बिहीबार विश्वभर विभिन्न कार्यक्रम गरी विश्व शरणार्थी दिवस मनाइँदै छ । शरणार्थीसम्बन्धी घोषणापत्र, १९५१ जारी भएको ५० वर्ष पुगेको अवसरमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको बैठकले विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार २० जुन २००१ देखि विश्व शरणार्थी दिवस मनाउन सुरु गरिएको हो ।

सुरुवातदेखि नै भुटानी शरणार्थीले पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै आएका छन् । साढे तीन दशकअघि भुटानी राजाले लखेटेर शरणार्थी बन्न पुगेका नेपालीभाषी भुटानीहरू झापा र मोरङमा बस्दै आएका छन् । नेपाल आएदेखि नै उनीहरूले स्वदेश फिर्तीको माग उठाउँदै आएका छन् । तर, शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय, शरणार्थीसम्बन्धी काम गर्ने संस्था र नेपाल सरकारले स्वदेश फिर्तीको मागलाई सम्बोधन गर्न सकेनन् । बरु भुटानी शरणार्थीलाई विकसित देशमा पुनर्वास गरियो । एक लाख १५ हजारभन्दा बढी भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भइसकेका छन् ।

अब झापाको दमकस्थित बेलडाँगी शिविरमा चार हजार ९६५ र पथरीशनिश्चरेस्थित शनिश्चरे शिविरमा एक हजार चार सय भुटानी शरणार्थी रहेको जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक छ । दुई शिविरमा रहेका ६ हजार ३६५ शरणार्थी भने बिलखबन्दमा छन् । शरणार्थी समाधानका विकल्प स्वदेश फिर्ती, पुनर्वास र स्थानीयकरणमध्ये तेस्रो देश पुनर्वासले प्राथमिकता पाएको थियो । यो पनि सन् २०१६ बाट पूर्ण रूपमा बन्द छ । अहिले न त स्वदेश फिर्ती, स्थानीयकरणको विकल्प नै अघि बढेको छ, न त पुनर्वास प्रक्रिया नै अघि बढेको छ ।

दातृ निकायले २०१८ बाट जीवनयापनबापत दिँदै आएको रासन पनि बन्द गरिसकेको छ । २०२० बाट दमकस्थित शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (युएनएचसिआर) पनि बन्द भएपछि भुटानी शरणार्थी अन्योलमा छन् । ‘नेपाल सरकारको मौनताले शिविर भयावह बन्दै छ । पारिवारिक विखण्डनले मानसिक बिरामी शिविरमा बढ्दो छ । परिवारको केही सदस्य तेस्रो देश र केही सदस्य शिविरमा छन् । पुनर्मिलनको सम्भावना पनि घट्दो छ । त्यही कारण लागुऔषध प्रयोगकर्ता शिविरमा बढ्दो छ,’ भुटानी शरणार्थी अगुवा दिल भुटानी भन्छन्, ‘अब शरणार्थीका लागि स्वदेश फिर्ती, स्थानीयकरण र पारिवारिक पुनर्मिलनका लागि एकपटक पुनर्वासको विकल्प खुला गरिदिनुपर्छ । हामी सरकारी निर्णयको प्रतीक्षामा छौँ ।’

७० वर्षीया भुटानी शरणार्थी सुकमाया राई दुई वर्षअघि लुक्दै भुटानको पुरानो गाउँ सम्ची जिल्लाको बिरुगाउँ पुगेकी थिइन् । त्यहीँ आफ्नो श्रीमान् र दुई छोराको मृत्यु भएको थियो । भुटानी शासकले लखेटेपछि उनी १९९० मा नेपाल आएकी थिइन् । त्यसपछि दुईपटक आफ्नो ठाउँ पुगिन् । ‘मेरो घर भत्किएछ । जग्गा सबै जंगल भएछ । सुन्तला पाक्न लागेको थियो खाएर आएँ,’ उनले भनिन्, ‘घर जान मन छ । तर, त्यहाँ पुग्दा भुटानी राजाले के गर्छन् भन्ने डरले फेरि लुक्दै आएँ ।’ शिविरमा एक्लै बस्ने उनी अहिले दाताले दिएको सहयोगमा बाँचेकी छिन् । ‘बाहिर बस्नेले केहिलेकाहीँ सहयोग दिन्छन् र खाएकी छु । काम गर्न सक्दिनँ,’ उनले भनिन्, ‘त्यसवेला भुटान फर्किन पाइन्छ भनेर बसियो । अहिले बिजोग जिन्दगी बित्दै छ ।’

७५ वर्षीय जसवीर विश्व उच्च रक्तचाप, किड्नीको समस्यालगायतले ओछ्यानमा थलिएका छन् । उनका एक छोराको मानसिक समस्याका कारण उनी तेस्रो मुलुक पुनर्वास हुन पाएनन् । अहिले उनको पाँचजनाको परिवार अर्काको सहयोगको भरमा बाँचेको छ । ‘अब हाम्रो विकल्प के हो ? हामीले के गर्नुपर्ने ? कि यसै मर्नुपर्ने ? न त पुनर्वासमा लग्यो, न त स्वदेश नै फर्कायो,’ उनले भने, ‘उच्चपदस्थ बस्नेले नै नक्कली भुटानी शरणार्थी प्रकरण ल्याए । यसले त हामीलाई झनै गलत नजरले हेरे ।’

भुटानी शरणार्थी अम्बिका कार्कीले १९९९ मा भारतीय नागरिकसँग विवाह गरिन् । तर, उनी शरणार्थी शिविरमै निरन्तर बसिन् । विवाह भएको केही वर्षमै श्रीमान्सँग उनको सम्बन्ध विच्छेद भयो । त्यसपछि पनि शिविरमा निरन्तर सामाजिक सेवाको काम गरिन् । यसभन्दा अघिसम्म उनी परिचयपत्रवाहक भुटानी शरणार्थी नै थिइन् । तर, अहिले उनले परिचयपत्र पाएकी छैनन् । ‘नवीकरण पनि भयो । तर, बाहिर विवाह गरेकाले परिचयपत्र पाइएन । मेरा तीन छोराछोरीमध्ये दुईको परिचयपत्र छ । म अहिले परिचयपत्रविहीन छु,’ उनले भनिन्, ‘मजस्तो बाहिर विवाह गरेका, तर श्रीमान्सँग सम्बन्ध विच्छेद भएका, सम्बन्ध राम्रो नभएका हामी परिचयविहीन भएका छौँ । केही गर्न सक्ने अवस्थामा छैनौँ । हाम्रो हातखुट्टा बाँधिएको छ ।’

नक्कली शरणार्थी प्रकरणले सक्कली भुटानी शरणार्थी चिन्तामा

भुटानी शरणार्थी शिविर बेलडाँगीका सचिव सञ्चहाङ सुब्बाले यसपटकको विश्व शरणार्थी दिवस मन अमिलो बनाएर शरणार्थीले मनाउनुपर्ने अवस्था आएको बताउँछन् । उच्चपदस्थकै नेतृत्वमा भएको नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा शरणार्थीको साख नै गिरेकाले दुःखी हुँदै दिवस मनाउनुपर्ने अवस्था आएको उनी बताउँछन् । ‘हाम्रो भविष्य नेपाल सरकारको हातमा छ । अहिले हामीलाई हातमुख जोड्नसमेत मुस्किल छ । विदेशमा बस्ने हाम्रा दाजुभाइको सहयोगमा बाँच्नुपरेको छ । त्यो कतिन्जेलसम्म चल्छ ?’ उनले भने, ‘नेपाल सरकारले हाम्रो स्वदेश फिर्ती, पुनर्वास र स्थानीयकरणको मुद्दालाई सम्बोधन गरोस् । स्वदेश फिर्तीका लागि भुटान सरकारसँग दह्रो भएर कुरा गरोस् । दर्ताविहीनको सन्दर्भमा सरकारले छानबिन गरेर उचित निर्णय गरोस् ।’ नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सक्कली भुटानी शरणार्थीलाई समस्या परेको उनी बताउँछन् । नक्कली भुटानी शरणार्थीका कारण परिचयपत्र नवीकरणमा झन्झट दिँदा र समयमा परिचयपत्र नवीकरण नहुँदा शरणार्थीले धेरै समस्या झेल्नुपरेको उनले बताए ।

Published on: 20 June 2024 | Naya Patrika

Link

Back to list

;