s

विदेशबाट फर्किएर कृषिमा ललित

जीवछ यादव

लहान, फागुन ९ गते। सखुवानकारकट्टी गाउँपालिका–३ महादेवाका ३४ वर्षीय ललित यादव बिहानदेखि बेलुकासम्म खेतमा तरकारी उठाउनेदेखि बजारमा बेच्नसम्म व्यस्त हुनुहुन्छ। गाउँपालिकामा उहाँ एक सफल कृषकको रूपमा चिनिनु हुन्छ।

ललितले आलु, गाेबी, करेला, लौका, फर्सी, भण्टा, मुला, गाँजर सबै तरकारी उत्पादन गर्नुहुन्छ। उहाँले गाउँका पाँच जनालाई रोजगारी दिनुभएको छ। २०७४ सालमा स्थानीय निर्वाचनपछि वडा नम्बर–३ को वडा कार्यालयले सञ्चालन गरेको कृषि तालिमले उहाँलाई तरकारी र अन्न बालीको विषयमा थप ज्ञान भएको छ।

ललित यो वर्षको वर्षायाममा ८७ क्विन्टल धान उत्पादन गर्नुभएको छ। उहाँ तरकारीसँगै जग्गा ठेक्कामा लिएर धानको उत्पादनमासमेत लाग्नुभएको छ। उहाँ प्रत्येक दिन मोटरसाइकलमा तरकारी बोकेर लहानको मुख्य चोकमा रहेको थोक बिक्रेतालाई तरकारी पुर्‍याउने गर्नुहुन्छ।

तरकारी खेतीसँगै चैते धान उत्पादन गरेर ललितले राम्रो आम्दानी गरिरहेको देखेर गाउँका अन्य युवासमेत खेतीमा आकर्षित भएका छन्। सखुवानकारकट्टी गाउँपालिका वडा–३ का वडाध्यक्ष भोगेन्द्र प्रसाद यादवले बताउनुभयो।

लहान नगरपालिकादेखि दक्षिणमा पर्ने सखुवानकारकट्टी र भगवानपुर गाउँपालिका धान र गहुँ खेतीको लागि पकेट क्षेत्र हुन्। परम्परागत रूपमा खेती गर्दै आइरहेका कृषकलाई स्थानीय तहले दिएको कृषि सम्बन्धी तालिमले राम्रो प्रभाव पारेको सखुवानकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो। गाउँपालिकामा ललित यादव जस्तै नयाँ पुस्तालाई प्रेरणा दिने कृषक रहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। यादवले पाँच जना युवालाई रोजगारी दिएर वार्षिक पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ।

Published on: 22 February 2023 | Gorkhapatra

Link

Back to list

;