s

विवादास्पद सुवेदी वैदेशिक रोजगार विभागको महानिर्देशक

श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले विवादास्पद सहसचिव भरत सुवेदीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गर्ने निर्णय गरी सामान्य प्रशासन मन्त्रालयसित लिखित सहमति मागेको छ ।

श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले अस्ट्रेलियाको स्थायी बसोबासको अनुमतिपत्र (पीआर) होल्डर सुवेदीलाई मुलुकको महत्वपूर्ण विभागको प्रमुख बनाउने मन्त्रालयस्तरीय निर्णय गरी सामान्यसित सहमति मागेको जानकारी स्रोतले दिएका छन् । मन्त्री गुरुङले विभागका महानिर्देशक विश्वनाथ ढकाललाई मन्त्रालयमा सार्ने निर्णय गरेका छन् ।

पीआर र ग्रीनकार्ड होल्डर कर्मचारीलाई कारबाही गर्न सरकारले पेस गरेको विधेयक संसदमा विचाराधीन रहेका बेला त्यसको भावनाविपरीत मन्त्री गुरुङले पीआरवाला सुवेदीलाई आकर्षक ठाउँमा लगेर पुरस्कृत गर्न लागेका हुन् ।

सामान्य मन्त्रालयले सहमति दिएपछि सुवेदी विभागको महानिर्देशक हुनेछन् । न्यूनतम तबलमान पाउने निश्चित भएको, कम्पनी र गर्नुपर्ने काम खुलेको इजाजतपत्र भएकालाई मात्र विदेशमा काम गर्न जान अनुमति दिने र वैदेशिक रोजगारमा जाने क्रममा ठगिनेलाई न्याय दिलाउने विभागमा सुवेदीलाई लगेपछि त्यहाँ हुँदै आएको अनियमितता अझ बढ्ने चिन्ता सरकारी अधिकारीहरू नै व्यक्त गर्छन् ।

ती अधिकारीका अनुसार पटक-पटक आर्थिक विवादमा पर्दै आएका सुवेदी आएपछि विभागमा भ्रष्टाचार बढ्ने र गरीब नेपाली युवा वैदेशिक रोजगारमा जाँदा झन् बढी ठगिने खतरा बढेको छ । वैदेशिक रोजगारमा जाँदा नेपाली कामदार ठगिन नपाऊन् भनेर विभागमा इमानदार र सक्षम सहसचिवलाई महानिर्देशक बनाउनुपर्नेमा मन्त्री गुरुङबाट उल्टो काम भएको स्रोतले उल्लेख गरेको छ ।

तीन महिनाअघि श्रम मन्त्रालयको सीप विकास केन्द्रको प्रमुखमा पदस्थापन भएका सुवेदी त्यहाँ एक दिनमात्र हाजिर भई अर्थमन्त्रालय मातहतको राजस्व अनुसन्धान विभागमा काज सरुवा भएर उपमहानिर्देशक भएका थिए ।

अर्थमन्त्री रामशरण महतले 'चोर बाटो' बाट उनलाई अर्थमन्त्रालयमा ल्याएर उपमहानिर्देशक बनाएका हुन् । सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले मात्र सहसचिवहरूलाई सरुवा र काजमा पठाउने निर्णय गर्ने कानुनी व्यवस्थालाई मिचेर महतले सुवेदीलाई चोर बाटोबाट अर्थमा काजमा ल्याएका थिए । अर्थमन्त्रीको आग्रहमा श्रममन्त्री गुरुङले उनलाई अर्थमा काजमा पठाएका हुन् ।

निजामती ऐनमा तीन महिनाभन्दा बढी काजमा बस्न नपाइने कानुनी व्यवस्था भएकाले सुवेदी श्रम मन्त्रालयमा फर्किएर वैदेशिक रोजगार विभाग प्रमुख बन्न लागेका हुन् । उनी अर्थमा काजमा गएको तीन महिना पुगिसकेको छ ।

Published on: 8 January 2015 | Kantipur

Back to list

;