s

बेरोजगार मजदुर भन्छन्, ‘कोठामा खानेकुरा सिद्धियो, किन्ने पैसा छैन’

लीला श्रेष्ठ

भक्तपुर — महोत्तरी बर्दिबासका ६५ वर्षीय अटलबहादुर तामाङ त्रिपुरेश्वरस्थित एक निर्माण कम्पनीमा ज्यामी काम गर्थे । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेदेखि उनी काममा जान पाएका छैनन् । न लकडाउन अघि गरेको कामको पारिश्रमिक नै पाएका छन् । पत्नी संगीतासहित तामाङ चाागुनारायण नगरपालिका–२ दुवाकोटमा बस्छन् । ‘कोठामा खानेकुरा सक्यो, काम गरेको पैसा पनि पाएको छैन’, उनले भने, ‘पारिश्रमिक माग्दा कम्पनीले बैंक बन्द भएको बाहाना बनाउँछ ।’

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित दैनिक ज्याला मजदुरीबाट बञ्चित मजदुरको परिवारलाई खाना वितरण गर्दै । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

शुक्रबार साँझ चाँगुनारायण–२ को समन्वय, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा र सहयोग संस्था भक्तपुरको सहयोगमा रोजीरोटी खोसिएका मजदुरका लागि सुरु गरेको खाना वितरण स्थलमा भेटिएका अटलबहादुर दम्पतीले कोठामा खाद्यान्न रित्तिएको बताएका छन् । ‘कोठामा खानेकुरा सिद्धियो, पैसा पनि छैन,’ संगीताले भनिन्, ‘१० दिनयता दैनिक साँझ सहयोगी मनहरुले खाना खुवाउँदै आउनु भएको छ । त्यसैको भरमा बाँचेका छौं ।’

 

काभ्रेपलान्चोक मंगलटारकी १७ वर्षीया अस्मिता लामा गर्भवती छिन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा लकडाउनका कारण पतिपत्नी नै रोजगारविहीन भए । ‘हामी श्रीमान्/श्रीमती नै ज्यामी काम गर्छौं, लकडाउन सुरु भएदेखि काम रोकिएको छ,’ उनले भनिन्, ‘लकडाउनअघि काम गरेको ज्याला पनि नपाएकाले घर जान पाइएन, कोठामा चामल, ग्यास सकियो ।’ खाना वितरण स्थलबाट खाना ल्याएर छाक टार्ने गरेको उनले बताइन् ।

त्यसैगरी, मकवानपुर हेटौंडाकी ४० वर्षीया सरस्वती मगरको पीडा पनि उस्तै छ । घर बनाउने ठाउँमा इँटा, बालुवा, गिट्टी बोकेर तीन जनाको परिवार धान्दै आएकी सरस्वतीको कोभिड–१९ का कारण रोजीरोटी गुम्यो । ‘लकडाउनअघि बिरामी परेँ, लकडाउनपछि काममा जान पाएन,’ उनले भनिन्, ‘खर्च नभएर घर जान पनि पाइएन् ।’ उनको घरमा १५ र १२ वर्षका दुई छोरा छन् । श्रीमान्‌को मृत्यु भएपछि परिवारको जिम्मेवारी आफ्नो काँधमा आएको र छोराहरुको शिक्षा र पालनपोषणका लागि ज्यामी काम गर्न भक्तपुर आइपुगेको उनले बताइन् । ‘आम्दानीको स्रोत केही छैन, दैनिक मजदुरीले परिवार धानेको थिएँ, त्यही पनि लकडाउनले रोकियो,’उनले भनिन्, ‘कोठामा खानेकुरा सिद्धियो, किन्ने पैसा छैन ।’

उनीहरु त प्रतिनिधि पात्र मात्र हुन् । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएयता हजारौं मजदुर रोजगारविहीन हुन पुगेका छन् । दैनिक रोजीरोटी गुमेका मजदुरहरुलाई दैनिक साँझ खाना वितरण गर्दै आएको चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरि केसीले बताए ।

खाद्यान्नका लागि रोजगार कार्यक्रम

चाँगुनारायण नगरपालिकाले खाद्यान्नका लागि रोजगार कार्यक्रम सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रण गर्न सुरु भएको लकडाउनसँगै दैनिक ज्याला मजदुरी गर्नेहरु रोजगारविहीन भएका छन् । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनु पर्ने व्यक्तिहरुलाई नगरको प्रत्येक वडा कार्यालयमार्फत पहिलो चरणको राहत वितरण गरिसकेको र केही व्यक्तिको नाम छुट हुन गएकोमा छुट नामावली संकलन गरी नगरपालिकामा टिपाएको जनाएको छ । नगर कार्यपालिका बैठकले रोजगारविहीन भई खाद्यान्न अभाव भएका मजदुरलाई रोजगारी दिएर खाद्यान्नको लागि रोजगार कार्यक्रमअन्तर्गत काम सुरु गर्ने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

नगरको वडास्तरमा काम गर्न इच्छुकले राहतका लागि नाम टिपाएकामध्ये एक परिवारमा एक जनालाई २ दिनका लागि सामाजिक दूरी कायम गरी काम उपलब्ध गराउने जनाएको छ । वडाभित्रका सडक, खानेपानी मर्मत र वन क्षेत्रमा तथा अन्य सार्वजनिक काम गर्न इच्छुक व्यक्तिहरुले दैनिक ज्याला मजदुरी गर्न शनिबार वडा कार्यालयमा नागरिकताको फोटोकपीसहित निवेदन दिन अनुरोध गरेको छ । एकदिन मजदुरी गरेबापत प्रतिदिन ८ सय १० रुपैयाँ ज्याला पाउने सूचनामा उल्लेख छ ।

Published on: 1 May 2020 | Kantipur

Link

Back to list

;