s

भारतीय गोर्खा सैनिकको प्रतिष्ठानमा नि:शुल्क उपचार

नेपालमा रहेका भारतीय भूतपूर्व सैनिकको स्वास्थ्य उपचार सेवाका लागि भारत सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सोमबार सम्झौता गरेको छ । नेपालभरका भारतीय भूपू गोर्खा सैनिक सवा लाख छन् । उनीहरूका आश्रति परिवारसहित गरेर ६ लाख जनाको सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि भारतीय सरकारले पश्चिमका लागि पोखराको मणिपाल मेडिकल कलेज र पूर्वका लागि बीपी प्रतिष्ठानसँग सम्झौता गरेको हो ।

प्रतिष्ठान उपकुलपति प्राध्यापक डा. बलभद्रप्रसाद दास र भारतीय सरकारका तर्फबाट कर्णेल मनराजसिं मनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रको अवधि दुई बर्षे भए पनि अद्यावधिक गर्दै जाने बताइएको थियो । अवकाश पाएका पूर्व गोर्खालाई भारत सरकारले नि:शुल्क उपचार सेवा भारतकै विभिन्न अस्पतालमा दिँदै आएको थियो । तर नेपालबाट उपचार गर्न भारतको अस्पतालमा आउँदा बढी झन्झटिलो भएकाले नेपालमै त्यस्तो सेवासुविधा उपलब्ध गराएको भारतीय सुरक्षा सल्लाहकार कर्णेल मनराजसिं मानले बताए । उनले भने, 'नेपालको कुनाकाप्चामा बसेका कतिपय गोर्खा उपचारका लागि भारतीय अस्पतालमा आइपुग्दा खर्च पनि हुने र झन्झटिलो पनि हुने भएकाले नेपालकै स्तरीय अस्पताललाई छनोट गरी स्वास्थ्य सेवाको सुविधा उपलब्ध गराएको हो ।' पूर्व क्षेत्रमा भारतीय भूपू गोर्खा सैनिकहरूको संख्या करिब ३५ हजार रहेका छन् । 

उनका अनुसार भारत सरकारले भारतीय भूपू सैनिकको परिचय पत्र दिएका व्यक्तिलाई प्रतिष्ठान र मणिपालले उपचार गरेको सबै खर्च जति भए पनि भारत सरकारले बेहोर्ने छ । उनले भने, 'ती गोर्खा सैनिकमा आश्रति परिवारले पनि नि:शुल्क उपचार गर्न पाउने छन् ।' प्रतिष्ठानका उपकुलति दासले भने, 'प्रतिष्ठान आफै पनि न्युरो, मुटुजस्ता जटिल विषयको उपचार गर्न सुपर स्पेसियालिटी उपचार सेवा सुरु भएकाले भारतीय सरकारसँग गरिएको सम्झौता अक्षरश: पालना गरिने प्रतिबद्धता जाहेर गर्दछु ।' उनले प्रतिष्ठानमा आएका बिरामी रिफर हुने १ दशमलब २ प्रतिशतमात्र रहेको बताए । 

Published on: 31 December 2014 | Kantipur

Back to list

;