s

बैंग्लोरमा दुई विद्यार्थीको मृत्यु

बैंग्लोरस्थित टेक्नोलोजी इन्स्टिच्युटमा इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत बनेपाका राजु उपाध्याय र ललितपुरकी रुसा महर्जनको सोमबार 'शंकास्पद मृत्यु' भएको छ ।

इन्स्टिच्युटबाट १ किलोमिटर पर कोड्थी रेल्वे-क्रसिङमा सोमबार अपराह्न ३ बजे उनीहरूको शव फेला परेको थियो । अंग्रेजी नयाँ वर्षको दिन -बिहीबार) नेपाल र्फकने भनेर रेल्वे टिकटसमेत लिइसकेको र त्यसैका लागि सोमबार बिहान ११ बजे सामान किनमेल गर्न स्थानीय बजारमा निस्केका उनीहरूको एकाएक मृत्यु भएको खबर साथीभाइले पाएका थिए । 'जाडो छुट्टीमा घर जाने तयारी भइरहेको थियो,' राजुसँगै इन्स्टिच्युट बाहिर भाडामा बस्दै आएका इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत नेपालगन्जका महेश शाहीले कान्तिपुरसँग भने, 'बेलुका उनीहरूको शव रेल्वे लाइनमा छ भन्ने सुनेर हेर्न जाँदा हामी अचम्ममा परेका थियौं ।' २० वर्षीया रुसा इन्स्टिच्युटभित्रकै होस्टलमा बस्दै आएकी थिइन् । 

राजुका अर्का साथी रोल्पाका टेकबहादुर केसीका अनुसार राजुको टाउकोमा गम्भीर चोट लागेको र हातको जोर्नी भाँचिएको अवस्थामा रेलको लिकबाहिर शव थियो । रुसाको भने देव्रे खुट्टा भाँचिएको र आन्द्राभुँडीसमेत बाहिर निस्केको अवस्थामा रेलको ट्रयाकभित्रै शव फेला परेको थियो । शवको छेउमा भर्खरै किनेको नयाँ मोबाइल पनि थियो । 'वरिपरि उभिएका केही यात्रीले ट्रेनले हानेर मृत्यु भएको भनेका छन्,' केसीले भने, 'तर पोस्टमार्टम अगाडि केही भन्न सक्ने अवस्था छैन ।' दुवैको शव स्थानीय शिवाजीनगरस्थित अस्पतालमा राखिएको छ । दुवैका अभिभावक काठमाडौंबाट बैंग्लोर आइपुगेपछि मात्रै पोस्टमार्टम गरिने भएको छ । अभिभावक बुधबार बिहानसम्ममा बैंग्लोर आइपुग्ने जनाइएको छ ।

राजु सिभिलतर्फ ब्याचलर इन इन्जिनियरिङ र रुसा कम्प्युटर इन्जिनियरिङका विद्यार्थी थिए । बैंग्लोर टेक्नोलोजी इन्स्टिच्युटमा डेढ सयभन्दा बढी नेपाली विद्यार्थी छन् । 

Published on: 31 December 2014 | Kantipur 

Back to list

;