s

बंगलादेशमा रहेका नेपालीलाई दूतावासको अनुरोध : अधिकतम सतर्कता अपनाउनू

काठमाडौँ — बंगलादेशमा आन्दोलन पुन: चर्किएपछि ढाकास्थित नेपाली राजदूतवासले त्यहाँ रहेका नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार दूतावासले एक सूचना जारी गर्दै बंगलादेशमा रहेका सबै नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो ।

दूतावासका अनुसार बंगलादेशमा सरकारले अनिश्चितकालीन कर्फ्युसमेत लगाएको छ । 'बंगलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बंगलादेश सरकारबाट हाल अनिश्‍चितकालीन कर्फ्यु आदेशसमेत जारी भएको सन्दर्भमा बंगलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,' दूतावासको सूचनामा भनिएको छ ।

बंगलादेशमाअध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीसहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जानकारी दिएको छ । उनीहरूसँग दूतावास निरन्तर सम्पर्कमा रहेको पनि सूचनामा उल्लेख छ । सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र नेपाल फर्कन र दूतावाससँग समन्वय गर्न पनि सूचनामा अनुरोध गरिएको छ । 'नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरुले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्‍चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको छ ।

दूतावासमा सम्पर्क गर्नका लागि निम्न नम्बर दिइएको छ :

योजना बम्जन, द्वितीय सचिव: +8801880691013

रिया क्षेत्री: +8801745407958

Published on: 6 August 2024 | Kantipur

Link

Back to list

;