s

वैदेशिक रोजगारीको प्रलोभनमा व्यक्तिबाटै ठगिन्छन् ७० प्रतिशत बढी युवा

वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनीबाट भन्दा धेरै ठगी व्यक्तिहरूबाट भइरहेको एक तथ्यांकले देखाएको छ।

मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले सार्वजनिक गरेको पछिल्लो वर्षको तथ्यांकअनुसार ७० प्रतिशतभन्दा धेरै व्यतिगत ठगी भएको देखिएको छ।

चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकअनुसार ७०.७५ प्रतिशत व्यक्तिमार्फत् र म्यानपावरमार्फत् २९.२५ प्रतिशत व्यतिहरू ठगिएका छन्।

यो तथ्यांक वैदेशिक रोजगारीका क्रममा समस्यामा परी पिपुल फोरमबाट निःशुल्क कानुनी सहायता लिएकाहरूको हो।

पिपुल फोरमले चालु आर्थिक वर्षको हालसम्म दुई हजार ४०४ जनालाई निःशुल्क कानुनी सहायता प्रदान गरेको छ। उनीहरूको चार करोड ३३ लाख ५२ हजार ७१० रूपैयाँ ठगी भएको पिपुल फोरमले जनाएको छ।

पिपुल फोरमले लामो समय अगाडिदेखि नै वैदेशिक रोजगारीमा समस्या परेकाहरूलाई निःशुल्क कानुनी सहायता दिँदै आएको छ।

सुरूदेखि हालसम्म यो संस्थाले एक अर्ब तीन करोड ३२ लाखभन्दा धेरै रकम ठगी भएका ३५ हजार ७३६ जनालाई निःशुल्क कानुनी सहायता दिएको जनाएको छ।

भने अनुसार काम तलब सेवासुविधा नपाउने, चर्को रकम असुलेर वैदेशिक रोजगारीमै नपुर्‍याउने, काम लगाइदिन्छु भनेर पैसा लिएर पासपोर्ट पनि जफत गरेर राख्ने लगायत समस्या अत्यधिक रहेको अधिवक्ता सुदीप देवकोटाले बताए।

पछिल्लो समय सामाजिक सञ्जालबाट ठगी गर्नेहरू बढ्दै गएको उनले बताए।

विभिन्न सोझासाझा व्यक्तिलाई प्रलोभनमा पारि उनीहरूको खातामा पैसा हाल्न लगाउने र ठगी गर्ने व्यक्ति उम्किने जस्ता घटना बढिरहेकाले सचेत रहन पनि उनले आग्रह गरे।

पिपुल फोरमका संस्थापक अध्यक्ष एवं अधिवक्ता सोम लुइँटेले वैदेशिक रोजगारीका धेरैजसो पीडितहरूले न्याय नै पाउन नसकेको बताए।

'अनुसन्धान नै कमजोर छ। प्रशासनिक निकायले अनुसन्धानको जिम्मा पाएको छ। अनि राजनीतिक प्रभावमा परेर धेरैजसो घटनामा पीडितले न्याय पाउन नसकेको अवस्था छ,' उनले भने।

वैदेशिक रोजगारीको उजुरी हेर्ने जिम्मा प्रहरीलाई दिनुपर्ने उनले बताए।

Published on: 26 June 2024 | Setopati

Link

Back to list

;