s

बाध्यताको वैदेशिक शिक्षा

बढ्दो बौद्धिक जनशक्ति पलायन मुलुकका लागि ठूलो चुनौतीको विषय बन्दै गएको छ । हरेक वर्ष एक लाखभन्दा बढी विद्यार्थी वैदेशिक शिक्षाका लागि बाहिरिने गरेको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । सन् २०२२ मा ९५ मुलुकतर्फ १ लाख १ हजार २ सय ४६ र सन् २०२३ मा १ लाख ५ हजार १ सय २३ विद्यार्थी नेपालबाट बाहिरिएका छन् ।

मुख्यतः जापान, अस्ट्रेलिया, क्यानडा, भारत, बेलायत, अमेरिकाजस्ता मुलुकमा विद्यार्थीको आकर्षण अधिक छ । २०२२ र २०२३ मा जापानतर्फ मात्र ५४ हजार ५८ विद्यार्थी गएका छन् । सोही अवधिमा अस्ट्रेलिया जानेको संख्या ५४ हजार ४ सय ९५ रहेको छ । त्यसैगरी २१ हजार १ सय ५१ जना क्यानडातर्फ लागेका छन् । राष्ट्र बैंकको २०८०/८१ को १० महिनाको तथ्यांक हेर्दा ५१ अर्ब ३३ करोड वैदेशिक शिक्षाका नाममा स्वदेशी पुँजी बाहिरिएको छ । पछिल्लो एक दशकमा २ खर्ब ६७ अर्ब बाहिरिएको पुँजीमा पछिल्लो १० महिनाको जोड्दा ३ खर्ब १६ अर्ब ३३ करोड हुन आउँछ ।

यतिबेला एसईई उत्तीर्ण हुने विद्यार्थी दस जोड दुईका लागि कलेजमा भर्ना भइसकेका छन् । अनुत्तीर्णहरूले भने मौका परीक्षाको परिणामलाई कुर्नुपर्ने अवस्था छ । पास हुने अधिक अब्बल विद्यार्थीको पहिलो रोजाइ विज्ञान विषय पढ्ने पाइन्छ । विज्ञानको अध्ययनपश्चात् प्राविधिक विषयप्रति आकर्षण अधिक रहनु वैदेशिक शिक्षालाई सुनिश्चित गर्नु जस्तै बनेको पाइन्छ । वैदेशिक शिक्षाका लागि प्राविधिक विषय भिसाको लाइसेन्स जस्तै बन्ने गरेको विद्यार्थी बताउँछन् । यतिबेला नेपालका शिक्षालय निर्यातमुखी जनशक्ति उत्पादनको कारखानाका रूपमा रूपान्तरण हुँदै गएका छन् । व्यावसायिक शिक्षालाई बढावा दिने गरी शैक्षिक प्रणालीमा आमूल परिवर्तनको बहस आजको आवश्यकता हो । बाहिरिन खोज्ने विद्यार्थीलाई रोक्नेभन्दा उनीहरूको आकर्षण नेपाली शिक्षालयमै बढाउने गरी नीति निर्माण तर्जुमा गर्न जरुरी छ ।

विकसित राष्ट्रले दक्ष जनशक्तिलाई भिसा खुकुलो बनाउने नीति अवलम्बन गर्दै आएका छन् । यद्यपि पछिल्लो समय अस्ट्रेलिया, अमेरिका र क्यानडाले भिसामा केही कडाइ गर्ने नीति लिएका छन् । नेपालमा प्राविधिक विषयप्रतिको बढ्दो आकर्षणका कारण नै वैदेशिक अवसर बन्न पुगेको छ । पछिल्लो समय नर्सिङ र कम्प्युटर इन्जिनियरिङप्रतिको आकर्षण वैदेशिक अवसरमा अन्तरनिहित देखिन्छ । नेपालका अधिकांश निजी अस्पतालले मासिक १३/१४ हजार तलबमा नर्सलाई कजाइरहेको यथार्थता उनै नर्सहरू व्यक्त गर्छन् । कृषि, वन, मेडिकल लगायतका प्राविधिक विषयको आकर्षणको अन्तर्यसँग पनि वैदेशिक अवसर जोडिएको पाइन्छ । नेपालको अस्थिर राजनीति, अदूरदर्शी नीति निर्माण र अवैज्ञानिक शैक्षिक प्रणालीका कारण दक्ष जनशक्तिले समेत विदेश पलायनको बाटो रोजिरहेको यथार्थताप्रति दलीय नेतृत्व पंक्ति गम्भीर देखिँदैन । उच्च शिक्षाका लागि विदेशिएका विद्यार्थी अपवादबाहेक विदेशमै पलायन भइरहेका छन् ।

शिक्षा मन्त्रालयका अनुसार २०७९/८० मा जापान जान ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीको संख्या २१ हजार ६ सय ४१ थियो, जुन २०८०/८१ मा १२ हजार ९ सय ७६ ले बढेर ३४ हजार ६ सय १७ पुगेको छ । २०७९/८० र २०८०/८१ को तुलनामा क्यानडा र अस्ट्रेलियाका लागि ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीको संख्या घटेको छ तर अमेरिकाका लागि बढेको देखिन्छ । २०७९/८० मा क्यानडाका लागि एनओसी लिनेहरू २० हजार ८ सय १० थिए भने २०८०/८१ मा १५ हजार ८ सय ४ मा झरेको छ । अस्ट्रेलियाका लागि एनओसी लिनेको संख्या दोब्बरले घटेको छ । २०७९/८० मा एनओसी लिनेहरू २८ हजार ७९ थिए भने २०८०/८१ मा १३ हजार ८ सय ६३ मा आएको तथ्यांकले बताउँछ । यूकेका लागि एनओसी लिनेहरूको संख्या केही बढेको देखिन्छ । २०७९/८० मा १० हजार २ सय ८० ले एनओसी लिएका थिए भने २०८०/८१ मा ११ हजार २ सय ७६ ले लिएका छन् । पछिल्लो समय दक्षिण कोरियातर्फ पनि विद्यार्थीको आकर्षण बढ्न थालेको देखिन्छ । २०७९/८० मा कोरियाका लागि ३ हजार ७९ ले एनओसी लिएकामा २०८०/८१ मा ५ हजार ६ सय २३ ले लिएका थिए । भारतलगायत विभिन्न मुलुकमा उच्च शिक्षाका लागि जाने उद्देश्यले २०७९/८० मा १ लाख २ हजार ६ सय १० विद्यार्थीले एनओसी लिएकामा २०८०/८१ मा १ लाख ४ हजार ८ सय ९८ ले एनओसी लिएको तथ्यांकमा उल्लेख छ ।

यसरी कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति दलीय नेतृत्व पंक्तिको उदासीनताले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । नेपाली विद्यार्थीको लगनशीलता र मिहिनेत गर्ने बानीकै कारण विश्वका विभिन्न विश्वविद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका समाचार यदाकदा सुन्न पाइन्छ ।

वैदेशिक शिक्षाका नाममा विदेशिने अधिकतर युवापंक्तिका अनुसार विकसित मुलुकका लागि वर्किङ भिसा प्राप्त गर्न कठिन हुने हुँदा लक्ष्य पैसा कमाउने भए पनि भिसाको सहजताका लागि वैदेशिक शिक्षा प्राप्तिको बाटो रोजेको देखिन्छ । स्वदेशी डिग्री प्राप्तिपश्चात् पनि आफ्नै मुलुकमा राम्रो अवसर प्राप्त हुन सक्छ भनेर छोराछोरीलाई आश्वस्त पार्दै आए पनि अर्थतन्त्रमा देखिएका समस्याका कारण उनीहरूलाई विदेशतर्फ धकेल्नुपरेको बाध्यता राष्ट्र बैंकका एक अधिकारीले सुनाएका थिए ।

सुशासनको अभाव, असुरक्षित व्यवसाय, अनिश्चित अवसर, महँगी, भ्रष्टाचार र अस्थिर राजनीतिकै कारण युवामा वितृष्णा बढेको छ । बौद्धिक जनशक्तिलाई स्वदेशमै आकर्षित गर्न शिक्षा प्रणालीमा आमूल सुधार र लगानी मैत्री वातावरणको सुनिश्चितता आजको आवश्यकता हो ।

Published on: 1 August 2024 | Kantipur

Link

Back to list

;