इरानले मिसाइल प्रहार गरेको अर्को क्षेत्र कुर्दिस्तानको अर्विल बेस क्याम्पमा हो । जहाँ पाँचवटा मिसाइल प्रहार भएको थियो । त्यो क्याम्पमा झन्डै सय नेपाली कार्यरत छन्, जसमा नेपाली महिला पनि छन् । क्याम्पभित्र भने सात जना मात्र बस्छन् । ‘सबै जनालाई क्याम्पभित्र राखिएको छैन, हामी सात जना मात्र भित्र बस्ने हो,’ अर्विल क्याम्पमा कार्यरत झापाकै विराट तामाङले भने, ‘अरू साथीहरू बिहान काम गर्न आउँछन्, बेलुका क्याम्पबाट बाहिर जान्छन् ।’
विराटसहितको टोलीले पनि रातभर बंकरमै बितायो । ‘कुर्दिस्तान निकै सुरक्षित क्षेत्र मानिएको थियो । मैले यस्तो कहिले अनुभव गरेको थिइनँ । मान्छे हो, डर त लागिहाल्छ । बिहान भएपछि सबै सामान्य भयो । दिउँसो एकछिन आराम गरेपछि ड्युटीमा फर्कें । अहिले सामान्य हिसाबले ड्युटी गरिरहेका छौं,’ उनले फोनमा भने, ‘नेपालबाट सोचेजस्तो डरलाग्दो स्थिति भने हुँदै होइन ।’ अर्विलमा पानी ट्यांकर चलाउने ड्राइभर, क्लिनर, कफी बनाउने र खाना बनाउने नेपालीहरू छन् ।
इरानको निसानामा इराकमा रहेका अमेरिकी बेस क्याम्प छन् । इराकको ६ वटै प्रान्तमा अमेरिकी बेस क्याम्प छन् । सबै क्याम्पमा नेपालीको प्रवेश छ । सबैभन्दा बढी बग्दादस्थित क्याम्प ताजी र भिक्टरीमा नेपाली छन् । क्याम्प ताजी, भिक्टरी र ग्रीन जोनमा गरी झन्डै दुई सय नेपाली कार्यरत छन् । ‘बग्दादको ग्रीन जोनभित्रको अमेरिकी दूतावाससहित अमेरिकी बेस क्याम्पमा कार्यरत नेपालीको विवरण संकलन गरेका छौं । सम्पर्कमा आएका मात्र गर्दा पनि एक सय ९९ जनाको सूची तयार भयो,’ ग्रीन जोनमा कार्यरत सुरज तामाङले भने, ‘योभन्दा बढी नेपाली छन् जस्तो लाग्छ ।’ ग्रीन जोनमा रहेका अधिकांश विदेशी दूतावासको सुरक्षा नेपालीले नै दिइरहेका छन् । अमेरिकी बेस क्याम्पका लागि सयौं कम्पनीले काम गरिरहेको हुँदा एउटा कम्पनीमा कार्यरत नेपालीको अर्को कम्पनीमा कार्यरत नेपालीसँग सम्पर्क छैन । ‘हामीलाई सिधै एयरपोर्टबाट काम गर्ने ठाउँमा ल्याएर राख्छ । त्यही बस्छौं,’ उनले भने, ‘त्यहींबाट बाहिर निस्कने चान्स छैन । जाने बेला फेरि सुरक्षागार्डकै स्कर्टिङमा विमानस्थलमा लैजान्छ ।’
कम्पनीहरूले सुरक्षाको अवस्था हेरी कामदारलाई इराकबाट फर्काउन थालेका छन् । ‘हाम्रो कम्पनीले पनि दिनहुँजसो कामदार पठाइरहेको छ, त्यसमा नेपाली पनि छन् । तर कति गए भन्ने यकिन छैन,’ उनले भने, ‘हाम्रो पालो जतिखेर पनि आउन सक्छ, तयारी अवस्थामै छौं ।’ अमेरिकी दूतावासका लागि खाना बनाउने कार्यमा ९ नेपाली महिलासमेत छन् । ‘तीन दिनसम्म खाना पुर्याइएको थिएन, बुधबारबाट फेरि खाना लैजाने काम सुरु भयो,’ उमेश श्रेष्ठले भने, ‘ग्रिन जोन भएकाले खाना पुर्याउन डर लागेको छैन ।’ इराककै सलादिन क्षेत्रस्थित अमेरिकी बेस क्याम्प रहेको बलदाबाट भने झन्डै १२ सय कामदारलाई अर्विलमा ल्याएर राखिएको छ । जसमा २५ जना नेपाली एकआपसमा सम्पर्कमा छन् । ‘२५ जना भने हामी एउटै समूहमा छौं, हामीलाई मंगलबार साँझबाटै बेस क्याम्पबाट हटाउन सुरु गरेको थियो । अहिले अर्विलको एउटा होटलमा सुरक्षाफौजसहित राखेको छ,’ सिन्धुपाल्चोकका हेमन्त थापाले भने, ‘टिकट तयार भइसकेको छैन । एक/दुई दिनभित्र उडाइदिन्छौं भनेको छ ।’
इराक मामिला हेर्ने कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले इराकबाट ‘आफूहरू समस्यामा परेको’ भन्दै कोही पनि सम्पर्कमा नआएको बताए । ‘हामीले निरन्तर नेपालीसँग समन्वय बढाइरहेका छौं, कसैले पनि आफूहरू असुरक्षित छौं र कम्पनीले जान नदिएको भनेर भनेका छैनन्,’ उनले भने, ‘कम्पनीहरू आफैं स्थिति कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छन् । स्थिति बिग्रिएमा आफैंले पठाउने तयारी गरेका छन् ।’ उनले सुरक्षित भएर बस्न नेपालीलाई सतर्क बनाइरहेको बताए ।
फिलिपिन्सले पनि इराकबाट आफ्ना नागरिक फर्काउन सुरु गरिसकेको छ । भारत र पाकिस्तानले इराकमा यात्रा नगर्न आफ्ना नागरिकलाई सचेत गराएका छन् ।
Published on: 9 January 2020 | Kantipur
GET IN TOUCH