s

अमेरिका बसेर नेपालमा ठगी

 रुद्र खड्का
 
काठमाडौं-अमेरिकामा बस्ने भतिजको सम्पर्कमा रहेका पूर्ण खत्रीले फोन गरेर अमेरिकामा महिनामा तीन लाख रुपैयाँ तलब पाइने बताएपछि नुर्बु शेर्पाको खुसीको सीमा रहेन । 
 
अफूले यसअघि गरेका कैयौं प्रयास असफल भएपछि निराश संखुवासभा, मादी–१ का शेर्पाका लागि अमेरिका जान पाइने 'सजिलो अफर' रोज्जा लाग्यो । भतिजको चिनजानका अमेरिकामै बस्ने व्यक्तिले बोलाएपछि एक फोनमै शेर्पाले जतिसक्दो चाँडो आउन तयार रहेको जानकारी गराए ।
 
खत्रीले पनि सम्पर्क भएको केही दिनमै अमेरिका बोलाउने आश्वासन दिएपछि शेर्पा आवश्यक रकम जुटाउन खटिहाले । 'खत्रीले ४० लाख रुपैयाँ जति लाग्ने बताएपछि केही रकम पसल बिक्री गरेर जुटाएँ,' शेर्पाले भने, 'बाँकी ऋण खोजें ।' फोनमा भएको कुराकानी अनुसार रकम तयार पारे पनि खत्रीले सुरुमा शेर्पालाई तीन लाख रुपैयाँमात्र बुझाउन लगाए । 'सुरुमा तीन लाख रुपैयाँ र बाँकी रकम अमेरिका उड्ने बेला बुझाए हुने बताएपछि ठगी गर्न शंका गर्ने ठाउँ रहेन,' शेर्पाले भने । खत्रीको सल्लाहअनुसार शेर्पाले तीन लाख रुपैयाँ पत्नी जानुका खत्रीको बैंक खातामा जम्मा गरिदिएका थिए ।
 
यति गरिसकेपछि शेर्पालाई खत्रीले थाइल्यान्ड बोलाए । थाइल्यान्डबाट उड्न सजिलो हुने र रकम पनि उतै बुझाउने भनेपछि शेर्पा थाइल्यान्ड उडे । त्यहाँ रहेका खत्रीका एजेन्टले अमेरिकाको सबै तयारी पूरा भयो भन्दै थप ४१ लाख ६० हजार रुपैयाँ मागेपछि केहीबेर उनीहरूबीच विवाद पनि भयो । 'अमेरिकाबाट फोन गर्ने बेला खत्रीले ४० लाख रुपैयाँ लाग्ने बताएका थिए,' शेर्पाले भने, 'थाइल्यान्ड पुग्दा भने पहिलाको सहमतिभन्दा चार लाख रुपैयाँ बढी रकम मागेपछि केहीबेर तनाव भयो । अन्तिममा ४४ लाख ६० हजार रुपैयाँ नपाए नेपाल फिर्ता हुनुपर्ने एजेन्टले बताएपछि सबै रकम बुझाउन बाध्य हुनु पर्यो,' उनले भने । एजेन्टले नगदै मागे पनि शेर्पाले भने थाइल्यान्डबाटै खत्रीकी पत्नी जानुकाको काठमाडौंमा रहेको बैंक खातामा सबै रकम जम्मा गरेको बताए । 'अमेरिकामा रहेका खत्रीले पनि पत्नीको खातामा रकम जम्मा गर्दा राम्रो हुने सल्लाह दिएका थिए,' उनले भने, 'जानुकाको खातामा रकम जम्मा गरेपछि एजेन्टले पासपोर्ट दियो । अनि पो ठगिएको थाहा पाएँ । अमेरिका उड्नका लागि तयारी अवस्थामा रहन भनिए पनि पासपोर्टमा भिसा लागेकै रहेनछ,' उनले भने, 'खै भिसा भनेर सोधखोज गर्दा एजेन्टले विमानस्थलको एउटा काउन्टर देखाएर त्यहीँ भिसा लाग्छ भन्यो । तर, त्यहाँ त अमेरिकाको भिसा लाग्नु त कता हो कता अनधिकृत व्यक्तिका लागि प्रवेश निषेध रहेछ ।'
 
निषेधित क्षेत्रमा प्रवेश गरेको अभियोगमा जब प्रहरीले शेर्पालाई पक्राउ गर्यो । त्यतिबेला खत्रीका एजेन्ट भागिसकेका थिए । 'थाई प्रहरीले पक्राउ गरेपछि एजेन्टतिर हेर्दा त भागिसकेछन्, 'शेर्पाले भने, 'अब भने आफू ठगिएकोमा भ्रम रहेन ।' पहिलोपटक अमेरिका जाँदा आवश्यक पर्ने केही डलर बचाएकाले पाँच दिनपछि त्यो रकम प्रहरीलाई बुझाएर नेपाल फर्केका शेर्पा तीन महिनादेखि शान्त मनले एकछिन पनि बस्न सकेका छैनन् । अमेरिका जान पाइने प्रलोभनमा ४४ लाख ६० हजार रुपैयाँ डुबाएका शेर्पालाई अहिले त्यो रकम कसरी फिर्ता पाउने भन्ने चिन्ताले सताइरहेको हो ।
 
खत्रीको प्रलोभनमा पर्दा आर्थिक संकटमा परेका शेर्पाले डुबेको रकम फिर्ता पाउन विभिन्न सरकारी निकाय चहारे पनि कुनै उपलब्धि हात परेको छैन । उनले भने, 'ठगी गर्न पल्किएकाहरू हदैसम्मको अपराध गर्न पछि पर्दा रहेनछन् ।' उक्त रकम फिर्ता नपाए आफू र परिवार सडकमा आउने उनको भनाइ छ । नेपाल फर्केपछि ठगिएको रकम फिर्ता पाउन उनले प्रहरीका विभिन्न कार्यालय, वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । 'मसँग खत्रीलाई रकम जम्मा गरेको बैंक भौचर, थाइल्यान्ड जाने टिकट र कुराकानी भएको सबै रेकर्ड छ,' शेर्पाले भने, 'तैपनि न्यायकर्ता निकायले सधैं अनुसन्धान गरिरहेको जवाफ दिन्छन् ।'
 
तीन महिनाअघि थाइल्यान्डबाट फर्केपछि काठमाडौंमा रहेकी खत्रीकी पत्नीलाई खोज्न हिँड्का शेर्पाले एक महिनाअघि धरानमा फेला पारेका थिए । उनका अनुसार काठमाडौंमा दुईवटा घर रहेको बताउने जानुका रकम कुम्ल्याएपछि मोबाइल अफ गरेर भागिसकिछन् । 'विभिन्न च्यानल प्रयोग गरेर जानुकालाई धरानमा फेला परेर आफैंले प्रहरीमा बुझाएँ । र, उनलाई काठमाडौंसम्म ल्याउने बस भाडा पनि आफैं तिरें,' उनले भने, 'प्रहरीसँग सबै रकम फिर्ता गर्ने सहमति गरेकी जानुकाले रकम फिर्ता गर्नुको साटो गुन्डागर्दी गरेको आरोप लगाउँदै जिल्ला, पुनरावेदन अदालतमा मुद्दा दर्ता गराएकी छिन् ।' शेर्पाले आफू खुलमखुला ठगिए पनि न्याय पाउन नसकेको गुनासो गरे । 'वैदेशिक रोजगारीको क्रममा ठगिएको मसँग सबै प्रमाण छ,' तैपनि न्याय पाउन सकेको छैन, 'उनले भने, 'यो देशमा पीडितले न्याय पाउने व्यवस्था छ कि छैन ?'
 
अमेरिकामा बस्दै आएका व्यक्तिको प्रलोभनमा परेर सर्वसाधारण ठगिन थालेपछि सरकारी अधिकारीले वैदेशिक रोजगारीमा मरिहत्ते नगर्न आग्रह गरिरहेका छन् । विभागका निर्देशक जनकराज रेग्मी नेपालमा बस्ने युवायुवतीमा विदेश मोह निकै बढेकाले यसको रोकथाम गर्नुपर्ने बेला आएको बताए । 'स्वदेशको बसाइभन्दा वैदेशिक रोजगारी निकै पीडादायी हुन्छ,' रेग्मीले भने, 'तैपनि पछिल्लो समय अचम्म लाग्दो तरिकाले युवायुवतीमा विदेश मोह बढेको छ ।' रेग्मीले विदेशमा बस्ने व्यक्तिले जतिसुकै गलत कुरा गरे पनि त्यस्तालाई विश्वास गर्ने र अन्तिममा दुःख पाउने घटना निकै बढेको बताए । वैदेशिक रोजगारीमा जान खोज्नेलाई प्रलोभनका पछाडि नलाग्न उनले आग्रह गरे । शेर्पाका अनुसार खत्रीले अमेरिका बोलाउने भन्दै अन्य व्यक्तिको पनि रकम ठगेका छन् । ती व्यक्तिहरू पनि उजुरी गर्ने क्रममा रहेको उनले बताए ।
 
Published on: 10 March 2016 | Nagarik

Back to list

;