s
होम कार्की
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले अलपत्र परेको नेपालीलाई आफ्नै खर्चमा एयर अरेबियाको चार्टर विमानबाट शुक्रबार नेपालीलाई ल्याउने टुंगो लागेको छ । शुक्रबार नेपाल अवतरण हुने समयको भने अझै टुंगो लागेको छैन । बर्माबाट पनि शुक्रबारै २६ जना आउने भएका छन् ।
यूएईले दुई वटा उडान मार्फत् अलपत्र परेकालाई नेपाल पठाइदिने प्रस्ताव राखेको थियो । जसमध्ये पहिलो उडान शुक्रबार तय भएके हो । यूएईले एकसय ६८ सिट क्षमता भएको विमानमा उनीहरुलाई नेपाल पठाउन लागेको हो ।
‘भिजिट भिसामा गई अलपत्र परेका र गर्भवती महिलालाई प्राथमिकतामा राखिएको छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने,‘दूतावासले जहाजको क्षमता अनुसार नै नेपालीलाई पठाउनको लागि आन्तरिक तयारी गरिरहेको छ ।’
दूतावासको सर्म्पकमा ५० जना गर्भवती महिला छन् । पहिलो उडानमा सहभागी गराउन नसकिएमा दोस्रो उडानमा सहभागी गराउने दूतावासको भनाई छ ।
विमानमा आउने सबै यात्रुको कोभिड परीक्षण गराएर मात्रै ल्याउने परराष्ट्रको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरीक उड्डायन मन्त्रालयले बिहीबार अबेर मात्रै एयर अरेबियालाई अनुमति दिए लगत्तै परराष्ट्र मन्त्रालयले यूएईस्थित नेपाली दूतावासलाई उडानको अनुमति पठाएको हो । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा थियो ।
‘हामीले शुक्रबार ६ बजे अगाडि नै अवतरण गर्ने प्रबन्ध मिलाउन दूतावासलाई अनुरोध गरेका छौं,’ ती अधिकारीले भने । यूएईमा रहेका झन्डै १८ हजार जना नेपाली कामदार फर्कनको लागि दूतावासमा आवेदन दिएका छन् ।
Published on: 4 June 2020 | Kantipur
GET IN TOUCH