s

अस्ट्रेलियामा विद्यार्थी भिसाको नियम परिवर्तन

नारायण खड्का

अस्ट्रेलिया सरकारले विद्यार्थी भिसा प्रक्रियालाई सहज र सरल बनाउने भएको छ । अस्ट्रेलियाको शिक्षा प्रणालीको पुनर्मूल्याकन नीति सार्वजनिक गर्दै यहाँका अध्यागमन मामिलामन्त्री क्रिस ब्राउनले अस्ट्रेलियालाई उच्च शिक्षाको गन्तव्य बनाउने लक्ष्य रहेको जानकारी दिएका छन् ।

विभिन्न सरोकारवालाहरूसँगको छलफलपछि प्राप्त प्रतिवेदनका आधारमा अस्ट्रेलिया सरकारले आउने वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राखेर नियम परिवर्तन गर्न लागेको हो ।

अहिले भएको नियमलाई परिमार्जन गरी पढ्ने उद्देश्यले आउने विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राखेर अस्ट्रेलिया सरकारले भिसासम्बन्धी नियमका महत्त्वपूर्ण केही बुँदाहरूलाई सहज बनाउन लागेको हो । हाल नीतिका रूपमा मात्र आएको यो सरकारले पारित गरेपछि कानुनको रूपमा लागू हुनेछ ।

गएको बिहीबार मन्त्री ब्राउनले मिडिया रिलिजमार्फत यो कुराको जानकारी दिएका हुन् । अस्ट्रेलियाको विद्यार्थीसम्बन्धी नियमको पुनर्मूल्यांकन नीति सार्वजनिक गर्दै मन्त्री ब्राउनले अस्ट्रेलियालाई उच्च शिक्षाको आकर्षक केन्द्रको रूपमा स्थापित गर्न केही परिवर्तन गर्न लागेको बताएका छन्। सरकारले माइकल नाइटलाई शिक्षासम्बन्धी नियम पुनर्मूल्यांकन गरी प्रतिवेदन प्रस्तुत गर्ने जिम्मा दिएको थियो । नाइटले विभिन्न सरोकारवालासँगको छलफलपश्चात् तयार गरेको ४१ बुँदे प्रतिवेदनका आधारमा अस्ट्रेलिया सरकारले नियम परिवर्तन गर्न लागेको हो । यससम्बन्धी जानकारी 'मिनिस्टर डट इम्मी डट गभ डट एयु' वेभसाइटमा समेत छ ।

प्रस्तावित नीतिअनुसार अस्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थीहरूले देखाउनुपर्ने आर्थिक हैसियतमा पनि केही खुकुलो बनाइने भएको छ भने यहाँका विश्वविद्यालयहरूमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई प्राथमिकताका आधारमा भिसा उपलब्ध गराइनेछ । अस्ट्रेलियामा उच्च शिक्षा ब्याचलर वा मास्टर्स गर्न आउने विद्यार्थीहरूलाई विद्यार्थी भिसासँगै थप २ वर्षको वर्क परमिट भिसासमेत उपलब्ध गराइनेछ । त्यसका साथै पीएचडी गर्ने विद्यार्थीलाई थप ४ वर्षको वर्क परमिट भिसा उपलब्ध गराउनेछ । जसअनुसार आफ्नो अध्ययन सफलतापूर्वक सम्पन्न गरिसकेपछि विद्यार्थीहरूले थप २ देखि ४ वर्ष निर्धक्क काम गर्न पाउनेछन् ।

Published on: 27 September 2011 | Kantipur 

Back to list

;