s

२० वर्षपछि फर्किन् चेली

बीस वर्षअघि भारत चण्डीगढमा बेचिएकी एक महिला गाउँ फर्किएकी छन्। एक वर्षसम्म मानसिक तथा शारीरिक यातनापछि बेवारिसे छाडिएकी उनलाई देहरादुनका युवकले उद्धार गरेर उपचार गरेका थिए। चरम यातनाले मानसिक रूपमा विक्षिप्त उनी वषौर्ंपछि पति लिएर माइतीघर फर्केकी हुन्। उनको घर रुकुम खोलगाउँस्थित मानकोट हो। तर बाटो बिराएर जाजरकोट आइपुगेकी छन्। बाल्यकालको स्मरण गर्नसमेत नसक्ने अवस्थामा छिन्। '१६ वर्षकी थिएँ। मामा पर्नेले भारत लगेर बेचे,' उनले भनिन्, २० वर्षपछि घर फर्किंदा गाउँ नै बिर्सेछु।

मामा नातेदारले भारतको चन्डीगढ लगेर उनलाई बेचेका थिए। एक वर्षसम्म ती भारतीयले मानसिक तथा शारीरिक यातना दिएको उनी बताउँछिन्। 'यातनापछि मानसिक तथा शारीरिक रूपमै कमजोर भएँ। एक दिन उसले जंगलमा लगेर फ्याँकिदियो,' उनले भनिन्। बेवारिसे अवस्थामा जंगलमा फालिएकी उनलाई देहरादुन विकासनगर थानाका जीवन सिंहले भेट्टाएर उद्धार गरेका थिए। घरमा लगेर औषधि उपचारपछि निको भएको उनी बताउँछिन्।

उपचारपछि उनीहरूसँगै बस्न थालेको र पछि विवाहसमेत गरेका थिए। तर चरम यातनाले विक्षिप्त उनलाई पुन: बिक्री गरिएको र आफूले उद्धार गरेर माइत ल्याएको सिंहले बताएका छन्। 'चरम यातनाले मानसिक सन्तुलन गुमाएझंै थिइन्। पुरानै व्यक्तिले पुन: बिक्री गरिदिएपछि प्रहरीको सहयोग लिएर उद्धार गरेँ,' उनले भने। अर्को ठाउँमा बेचिएकी उनलाईर् प्रहरी सहयोगमा ६ महिनापछि फेला पारिएको सिंहले बताए। 'विवाह गरेको १९ वर्ष बित्यो। जन्मेका सन्तानलाई बचाउन सकिएन,' उनले भने, विक्षिप्त अवस्थामा छिन्। जे भए पनि म छोड्न सक्दिनँ। किनकि उनी निर्दोष छिन्।'

Published on: 7 January 2015 | Kantipur

Back to list

;