s

१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र

फर्निचरको कामका लागि भनेर म्यानपावर कम्पनीले दुई महिनाअघि मलेसिया पठाएका १५ नेपाली कामदारले काम नै पाएका छैनन् । काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि अलपत्र परेका छन् ।

जेपी ओभरसिजले मलेसियाको जोलानो डिजाइन एसडिन बिएचडीमार्फत फर्निचरको काममा लगाइदिने भनेर पठाएको सिराहाको लहान नगरपालिका– २३ का मोहनकुमार साहले बताए । ‘फर्निचरको काम दिइएन । बरु बिजुलीको पोल गाड्ने र नाला बनाउने काममा खटायो । त्यो पनि दुई महिनामा ६ दिन मात्रै काम पाएका छौँ,’ उनले भने । मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आसमा तीनदेखि चार लाखका दरले पैसा बुझाएर उनीहरू मलेसिया उडेका थिए ।मलेसिया पुगेर अलपत्र पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका– ६ का अरुणकुमार साह र इन्जित साह तथा सोही पालिका– ३ का अभिनाश मण्डल छन् ।

सप्तरीकै डाक्नेश्वरी नगरपालिका– १ का हेमन्त साह, बलान बहुल गाउँपालिका– २ का चिन्तु मण्डल, शम्भुनाथ नगरपालिका– ११ का अनिल मण्डल, खड्क नगरपालिकाका धर्मनाथ यादव, छिनमस्ता गाउँपालिका– ६ का सन्तोषकुमार साह र सुरुंगा नगरपालिका– ३ का वीरेन्द्रकुमार यादवले पनि काम पाएका छैनन् । त्यस्तै, सिराहाको भगवानपुर गाउँपालिका– ३ का कृष्णकुमार यादव, सर्मेशकुमार यादव, गोलबजार नगरपालिका– ३ का रूपेशकुमार यादव, अर्नमा गाउँपालिका– ४ का दिलीपकुमार यादव र बाराको निजगढ नगरपालिका– १० का पाँचल वाइवाई उद्धारको पर्खाइमा छन् ।

मोहनकुमारका अनुसार सप्तरीका इन्जित र धर्मनाथ त्यहाँबाट भागेका छन् । ‘हामी अहिले १३ जना फलामले बनाएको कन्टेनर कोठामा एकै ठाउँमा बसेका छौँ,’ उनले भने, ‘बस्न र सुत्न निकै समस्या छ ।’ कृष्णकुमार यादवले आफूहरू उद्धारको पर्खाइमा रहेको बताए । ‘छिमेकीसँग तीन लाख ७० हजार ऋण लिएर म्यानपावर कम्पनीलाई बुझाएको हुँ,’ उनले भने, ‘अहिलेसम्म ६ दिन मात्र काम पाइएको छ । ऋण कसरी तिर्नु ?’ उनको पाँचजनाको परिवार छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएका म्यानपावरका एजेन्टहरू रामचन्द्र साह, सन्तोष साह, शीतल मरर तथा सिराहाको लहानका रामशंकर यादव, कन्हैयाकुमार गोस्वानी, बारा निजगढका राहुल साहमार्फत उनीहरू म्यानपावर कम्पनीको सम्पर्कमा पुगेका थिए । प्रतिव्यक्ति तीनदेखि चार लाख दरले पैसा बुझाएर आफूहरू मलेसिया पुगेको पीडितले बताएका छन् ।

जेपी ओभरसिजका प्रबन्ध–निर्देशक प्रचण्डबहादुर बमले भने आफ्नो कम्पनीले ती कामदारको श्रम गराउनेबाहेक थप केही नगरेको बताए । ‘ती कामदारको श्रम हामीले गराएको हो, तर अरू मलाई केही थाहा छैन,’ उनले भने, ‘जे लेख्नु छ लेख्नुस् ।’

फलामको कन्टेनर कोठामा १३ जना एकै ठाउँमा बसेका छौँ
मोहनकुमार साह, लहान नगरपालिका– २३, सिराहा

जेपी ओभरसिजले मलेसियाको जोलानो डिजाइन एसडिन बिएचडीमार्फत फर्निचरको काममा लगाइदिने भनेर पठाएको हो । यहाँ आएपछि फर्निचरको काम दिइएन । बरु बिजुलीको पोल गाड्ने र नाला बनाउने काममा खटायो । त्यो पनि दुई महिनामा ६ दिन मात्रै काम पाएका छौँ । सप्तरीका दुईजना साथी त्यहाँबाट भागेका छन् । हामी अहिले १३ जना फलामले बनाएको कन्टेनर कोठामा एकै ठाउँमा बसेका छौँ । बस्न र सुत्न निकै समस्या छ ।

Published on: 6 August 2024 | Naya Patrika

Link

Back to list

;