s

विदेशबाट फर्किएर सामूहिक कुखुरापालन

Year of Publication: 3 November 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

कृष्णप्रसाद गौतम

विदेशबाट फर्किएका  दुली-६ का चारजना युवाले गाउँमा सामूहिक कुखुरापालन सुरु गरेका छन् । विदेशमा दुःख पाएपछि आफ्नै गाउँमा आएर सामूहिक रूपमा व्यावसाय थालेको उनीहरूले बताए ।

एक वैदेशिक रोजगार कम्पनीमार्फत कतारमा गएर काम नपाएपछि फर्केका उनीहरूले कुखुरापालन थालेका हुन् । कतारमा उनीहरू तीन महिना काम खोज्दै भौंतारिएका थिए । उपाय नलागेपछि उनीहरूले एक बर्षअघि फर्केका हुन् ।

स्थानीय २६ वर्षीय केशव पुन, २४ वर्षीय बालकृष्ण पुन, २५ वर्षीय धनवीर पुन र आकाश पुनले कुखुरापालन राम्रो आम्दानी गर्न थालेका हुन् । उनीहरूले चितवनको एक कुखुरा र्फममा गई तालिम लिएर व्यवसाय थालेका थिए ।

युवाहरूले यस व्यवसायबाट प्रतिव्यक्ति मासिक २० हजारसम्म्ा कमाइ हुने बताए । उनीहरूले विभिन्न सात जातका उन्नत कुखुरा पालेका छन् । 'अहिले र्फममा एक हजार दुई सय कुखुरा छन्,' केशवले भने, 'अघिल्लो सिजनमा दुई हजार कुखुरा बिक्री गरिसकेका छौं ।' युवाहरूले गाउँकै अन्य दुई युवाहरूलाई समेत रोजगारी दिएका छन् । 'तीन महिनामा तीन किलोसम्मका कुखुरा उत्पादन हुने गरेका छन्,' बालकृष्णले कान्तिपुरसित भने, 'बजारको समस्या छैन ।' विदेश गएर दुःख पाएपछि गाउँमै केही गर्ने सोचेर व्यवसाय सुरु गरेको अर्का लगानीकर्ता आकाशले बताए । 'अरू साथीहरूलाई पनि विदेश नजान सल्लाह दिने गरेका छौँ,' उनले भने । कुखुरा व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूले फलफूल खेतीसमेत थालेका छन् । दुई रोपनी जग्गा भाडामा लिएर फलफूल खेती अगाडि बढाएको उनीहरूले बताए । उनीहरूले आँप, केरा, अङ्गुर, भुइँकटहर, सुन्तला र जुनारको खेती गरेका छन् ।

Published on: 3 November 2013 | Kantipur

Back to list

;