s

राहदानी बनाउने घटे

Year of Publication: 29 July 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

रोजगारीका लागि डेढ वर्षअघि कतार जान कस्सिएका भीमफेदी गाउँपालिका भैंसेका २१ वर्षीय तकबहादुर दोङ गाउँमै कुखुरा पालेर बसेका छन् । स्थानीय तह चुनावअघि उनी विदेश जाने तयारीमा थिए । चुनावपछि भने उनलाई विदेशको मोह हरायो । गाउँमै अहिले उनले ब्रोइलर जातका हजार कुखुरा पालेका छन् ।
 
गढी गाउँपालिका बूढीचौरका २२ वर्षीय सुन्दर भोम्जन पनि स्थानीय तह चुनावपछि गाउँमै केही गर्ने भन्दै विदेश जानबाट रोकिए । कृषि विकास कार्यालयको सहयोगमा उनले प्लास्टिकका ३ टनेल बनाएर व्यावसायिक गोलभेंडा खेती गरिरहेका छन् । २ लट गोलभेंडा बिक्री गरिसकेका उनले आम्दानी राम्रैहुने बताए ।
 
स्थानीय तहको चुनावसँगै युवाहरूमा विदेश जाने मोह घट्दै गएको छ । ‘रोजगारीका लागि विदेश जान पासपोर्ट बनाएकाहरू पनि जनप्रतिनिधि बनेका छन्, कोही विभिन्न उद्यम गरी बसेका छन्,’ गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले भने । युवाहरूमा स्थानीय तहप्रति भरोसा पलाएको छ । जसका कारणले जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउने आउनेको संख्या पनि बर्सेनि घटिरहेको छ ।
 
आव ०७२/७३ मा मकवानपुरबाट १६ हजार ७ सय ५० जनाले राहदानी बनाएका छन् । तीमध्ये ३ हजार ७ सय महिला छन् । आव ०७४/७५ राहदानी लिनेको संख्या साढे ६ हजार घटेको छ । कार्यालयका अनुसार आव ०७४/७५ मा १० हजार २ सय ५ जनाले मात्र राहदानी लिएका छन् । ‘२ वर्षमा राहदानी लिनेको संख्या ६ हजार ५ सय घटेको छ,’ प्रजिअ चक्रबहादुर बूढाले भने, ‘गाउँमै रोजगारी पाइन्छ, कमाउन विदेश जानु पर्दैन भन्ने युवाहरूमा आशा पलाएको छ ।’
 
आव ०७३/७४ मा ११ हजार ३ सय ४४ जनाले राहदानी बनाएका थिए । ९९ प्रतिशतभन्दा बढी राहदानी वैदेशिक रोजगारीमा जान बनाउने गरिन्छ । ‘३ वर्षको अवस्था हेर्दा राहदानी बनाउनेको संख्या घटदै गएको छ,’ समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहले भने, ‘मुलुकमै अब केही हुन्छ भन्ने विश्वास पलाएको छ, त्यो विश्वासलाई जनप्रतिनिधिहरूले व्यवहारमा प्रमाणित गर्नुपर्छ ।’
 
जिल्लाका १० स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिमध्ये ५० भन्दा बढी रोजगारीका लागि विदेश जानलाई पासपोर्ट बनाएर बस्नेमध्येका थिए ।
 
Published on: 29 July 2018 | Kantipur

Back to list

;