s

पुराना रिक्सा मजदुरलाई अभिशाप बन्दै सिटी सफारी

Year of Publication: 25 March 2016 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

राजु अधिकारी
 
झापा- धेरैले भन्छन्, प्रविधिले समृद्धि ल्याउँछ। तर, सबैलाई त्यस्तो नहुने रहेछ। यसका ताजा प्रमाण बनेका छन्– सहरका रिक्साचालक मजदुर। सहरमा नयाँ प्रविधिले रवाफ जमाइरहँदा यी मजदुर भने बेरोजगार बनेर भोक–भोकै हुने खतरा बढेको छ।
अहिले सहरमा पुरानो रिक्सालाई सिटी सफारी भनेर चिनिने विद्युतीय रिक्साले धमाधम बिस्थापन गरिरहेको छ। तर, आश्चर्य के छ भने नयाँ प्रविधि बजारले मागिरहेको छ, यो माग थोरै भए पनि पैसा हुनेले नै धानिरहेका छन्। तर, जो जीवनभर रिक्सा मजदुरी गरिरहेका छन्, उनीहरु किन्न सक्ने समार्थ्यमा छैनन्। यसरी आफ्नो आयस्रोतको मुख्य माध्यम पनि आफूभन्दा आर्थिक रुपमा शक्तिशाली वर्गले खोस्दै लगेपछि समाजको सबैभन्दा निर्धन मजदुर वर्ग यतिबेला हातमुख जोर्न धौ–धौ पर्ने अवस्थामा पुगेको छ।
 
रहर त रिक्सा चालकलाई पनि सिटी सफारी कुदाउने र पैसा कमाउने नै छ। तर, बाध्यता यस्तो छ कि तीनपांग्रे रिक्साको पाइडल नखियाई धरै छैन। सहर होस् या गाउँ, सबैतिर विद्युतीय रिक्साको भीड छ। उनीहरुको हातमा भने उही पुरानो रिक्सा छ, पाइडलवाला। अचेल हरेक रिक्सा चालकलाई धेरैले सुझाव दिने गरेका छन्, 'अब यस्तो रिक्साको काम छैन, सिटी सफारी चलाउनू।' तर, सफारी किन्ने उपाय केही नभएका ती रिक्सा चालक जवाफमा मुसुक्क हाँस्छन्, अनि फेरि पाइडल मार्छन्। सुझाव दिनेले त सजिलै दिन्छन्। तर, रिक्साको खिएको टायर फेर्नसमेत आँट गर्न नसक्नेहरुको मन यस्तो सुझावले पटक–पटक कुँड्याउँछ।
 
'अहिले बाटोभरि सिटी रिक्सा कुद्छन्, हाम्रो रिक्सामा मान्छे चढ्नै छाडे,' मेचीनगरका सडकमा ३५ वर्षदेखि पाइडल रिक्सा चलाउँदै आएका झापा, मेचीनगर–१२ का ६१ वर्षीय खोका राजवंशी भन्छन्, 'अनि सफारी किन्नु भन्छन्। आफ्नो नाममा एक धुर पनि जमिन नभा'को मान्छेले लाखौं खर्चेर कसरी किन्नु सफारी?' उनका अनुसार अहिले सबैतिर बैंक र सहकारीले लगानी गरेर सिटी सफारी किनिदिँदैछ। तर, बैंक तथा सहकारीहरुले लगानीअघि ऋणीसँग धितो खोज्छन्। 'हामीसँग धितोको नाममा जग्गा छैन,' खोकाले भने 'धितोबेगर ऋण पाइँदैन, रिक्सा चलाएर कमाएको पैसाले सफारी कहिले किन्नु?'
 
उनलाई सबैभन्दा ताज्जुब लागेको कुरा त के छ भने जब सहरमा सिटी सफारी भित्रियो, गाउँका 'साहुजी'हरु सबै सफारीतिर लागे। 'गाउँमा किराना पसल गरिरहेका, व्यापार गरिरहेका पैसा खेलाउनेहरुले धमाधम सफारी किने, कुदाउन थाले,' उनी भन्दै थिए 'हामी दिनहुँ रिक्सा कुदाउनेले किन्न सकेनौं। अहिले यही रिक्सा पनि नचलेर खानै मुस्किल हुने अवस्था आयो।' उनलाई गाउँका 'साहुजी'हरुले सफारी किनेर चलाएकोमा दुःख छैन। चिन्ता आफ्नो गाँस दिनैपिच्छे असुरक्षित भएकोमा छ। 'यो सफारी हामी गरिबले पनि सजिलै किन्न सक्ने भएको भए म उहिले किन्थेँ,' उनले मनको कुरा खोले 'तर, कसरी किन्नु र!'
 
उनी र उनीजस्ता धेरै रिक्सा मजदुरलाई थाहा छ, मान्छे सुविधा खोज्छ। भाडा पनि सस्तो र छिटो छरितो हुने भएपछि सफारीको बजारभाऊ छ अहिले। तर, पाँच छोरी, एक छोरा र श्रीमतीसहित आठजनाको परिवार धान्ने एउटै आम्दानीको स्रोत थियो राजवंशीको रिक्सा। उनकै पसिनाको कमाइले परिवार चलेको थियो। 'कमाइ भयो हातमुख जोडिन्छ नत्र मुखमा माड पर्दैन,' राजवंशीले भने, 'दसैं–तिहारलगायत चाडपर्व पनि रिक्साकै कमाइबाट बिदा हुन्थे अहिले समस्या नै समस्या भो।' बजारमा सिटी सफारी नभित्रिँदा दैनिक सरदर पाँच सय रुपैयाँ कमाइ हुन्थ्यो उनीजस्ता रिक्सा चालकको। उनले भने, 'हिजोआज मुस्किलले डेढ सय रुपैयाँ।'
 
सातजनाको परिवार भएका रिक्सा चालक कृष्णमोहन धिमाललाई अचेल निजी विद्यालयमा पढ्ने छोरा छोरीको मासिक फिस तिर्न समेत गाह्रो भएको छ। 'पहिले म पनि आरामले दैनिक सात सय रुपैयाँसम्म कमाउँथे', उनले भने अहिले एक सय ५० देखि दुई सय रुपैयाँ जोड्न पनि सोच्नै पर्छ।'
 
२३ वर्षदेखि रिक्सा कुदाउँदै आएका ४७ वर्षीय धिमालले आफू र आफू जस्तै धेरै परम्परागत पाइडल रिक्सावालाहरु वैकल्पिक पेसाको खोजीमा रहेको बताए। तर, रोजगारीको वैकल्पिक बाटो हिँड्ने निर्णय पनि जोखिमपूर्ण छ। 'आफूले जानेको कामबाट कमाइ हुन छाड्यो,' धिमालले भने 'यो उमेरमा नयाँ काम सिक्न पनि गाह्रो हुन्छ। हामी पूरा समस्यामा छौं।'
 
समाजको सबैभन्दा आधारभूत वर्ग भनेर चिनिने मजदुरको यस्तो समस्यासँग तिनकै जीवनस्तर उकास्ने भन्दै खुल्ने सहकारीहरु मौन छन्। उनीहरुमाथि लगानी गर्न धितो नभएकै कारण हच्किरहेका छन्। यस्तो अवस्थामा रिक्सा मजदुरलाई यस्तै विजोग हालतमा छाडिदिने कि सिटी सफारीको विकल्प खोज्ने? 'प्रविधिलाई रोक्ने कुरा हुँदैन,' समाजशास्त्रका विद्यार्थी सागर शिवाकोटी भन्छन् 'तर, प्रविधि भित्रेपछि मजदुरको विजोग भएको अवस्थालाई राज्यले अनदेखा गर्न मिल्दैन।'
 
उनका अनुसार नयाँ प्रविधिले नेपाल जस्तो देशमा सबैभन्दा बढी मार रोजगार क्षेत्रमा पार्छ। 'यस्तो बेलामा राज्यले त्यो श्रमलाई वैकल्पिक आधार दिनुपर्ने हो,' उनले थपे, 'अथवा सहकारीले रिक्सा मजदुरको अवस्था सुधार्ने गरी लगानी गर्न अघि सर्नुपर्ने हो। दुवै कुरा नहुँदा उनीहरु प्रविधिको मारमा परेका छन्। यो प्रविधिले भन्दा पनि राज्यको उदासीनताले ल्याएको समस्या हो।'
 
Published on: 25 March 2016 | Nagarik

Back to list

;