s

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने : मन्त्री विष्ट

Year of Publication: 11 January 2019 | Gorkhapatra

Publication Type: NEWS

Published by: CESLAM

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्नुभयो ।
 
उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने छ । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानु हुनेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो ।
 
सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गर्नुभयो । उहाँले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताउनुभयो ।
 
उहाँले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको भन्नुहुँदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराउनुभयो । 
 
उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पार्नुभयो । 
 
Published On: 11 January 2019 | Gorkhapatra

Back to list

;