s

नेपालमा अमेरिकादेखि उत्तरकोरियासम्मका कामदार

Year of Publication: 17 October 2019 | Onlinekhabar

Published by: CESLAM

अदक्ष कामदार विदेश पठाईंदै दक्ष विदेशबाट ल्याइँदैअदक्ष कामदार विदेश पठाईंदै दक्ष विदेशबाट ल्याइँदै

कामको खोजीमा नेपाली युवाहरु विदेशिने गरेको समाचार नौलो भएन । तर, काम खोज्दै अन्य देशबाट नेपाल आउने क्रम पनि पछिल्लो समयमा बढेको छ । फरक के छ भने हामी नेपालबाट अदक्ष जनशक्ति विदेश आपूर्ति गर्छौं, विदेशबाट दक्ष जनशक्ति नेपाल आउँछन् । दक्ष जनशक्तिको अभाव भएपछि विभिन्न कार्यालय, होटल, उद्योग, परियोजना र संघसंस्थामा विदेशी कामदारहरु भर्ति गर्ने क्रम बढेको हो । नेपालका विकासे आयोजनामा इन्जिनियर, विमान कम्पनीमा पाइलट तथा विभिन्न विशेष प्राविधिक दक्षता आवश्यक हुने क्षेत्रमा विदेशी कामदारको माग छ । सरकारी निकायसँग भएको सम्झौता, विज्ञापन गर्दा पनि नेपाली कामदार नपाइनु लगायतका विभिन्न अवस्थामा विदेशी कामदार नेपाल ल्याउन पाइन्छ । श्रम तथा रोजगारजन्य सुरक्षा विभागका निर्देशक तथा प्रवक्ता सूर्यप्रसाद उपाध्यायका अनुसार ठूला परियोजनामा व्यवस्थापन हेर्न आजभोलि ठेकेदार कम्पनीहरुले विदेशबाटै कामदार ल्याउन थालेका छन् । ‘हाईड्रोपावर, सिमेन्ट फ्याक्ट्रीमा र एनजीओहरुमा हाईस्किल कामदार विदेशबाट आउँछन्,’ उनी भन्छन् । विशेषगरी चीनका निर्माण कम्पनीहरुले उच्च दक्षता आवश्यक हुने पदमा आफ्नै देशबाट कामदार ल्याएर लगाउन सुरु गरेका हुन् । हुन त नेपालमा भारतीय कामदारहरुको दबदबा छ । विशेषगरी सिपयुक्त, अप्ठेरा, जोखिमयुक्त र नेपालमा हेयका दृष्टिले हेरिने कामहरुमा संलग्न भारतीय कामदार लाखौंको संख्यामा छन् ।

तर, नेपालमा भारतबाहेकका देशबाट पनि थुप्रै कामदारहरु आएर काम गर्छन् । उनीहरुले सरकारबाट श्रम स्वीकृति अनिवार्य लिनुपर्छ । यस्तो श्रम स्वीकृति विभागबाटै जारी हुन्छ । नेपालमा गत एक वर्षबीचमा २ हजार ७ जना विदेशी कामदारले श्रम स्वीकृति लिएका छन् । यसमा भारतीय कामदारको संख्या ७२ मात्रै छ । सरकारले भारतीय कामदारलाई श्रम स्वीकृति लिन अनिवार्य गरेको छैन । तर, पनि कागजी प्रक्रिया पुरा गर्ने केही भारतीय कामदारले श्रम इजाजत लिने गरेका छन् । गत तीन वर्षमा ५ हजार बढी कामदार भारतबाहेकका मुलुकबाट आएर काम गरे । यो संख्यामा आधाभन्दा बढी हिस्सा चिनियाँ कामदारको छ । श्रम विभागको तथ्यांकअनुसार अहिले नेपालमा १ हजार भन्दा बढी चिनियाँ कामदार कार्यरत छन् । यसमा झण्डै १७० जना त दुईवर्षका बीचमा आएका नयाँ कामदार हुन् भने झण्डै ९ सय जना यसअघिदेखि नै यहाँ बसेर काम गर्दै श्रम इजाजत नवीकरण गरिरहेका छन् ।

अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, फिलिपिन्स, अमेरिका लगायतका देशबाट कामदार भिसामा आउनेहरु धेरै छन् । युरोपियन कामदारहरु बढीजसो गैह्र सरकारी संघसंस्थामा छन् । एक वर्षका बीचमा २३१ जना बेलायतबाट कामका लागि नेपाल आएका छन् भने अमेरिकाबाट ७१ जनाले नेपालाई श्रम गन्तब्य बनाएर काम गरिरहेका छन् । कोरियाबाट ११५ जना कामदार नेपालमा छन् । विदेशबाट आउने महिला कामदारको संख्या भने न्यून छ । नेपालमा जम्माजम्मी ३५० जना विदेशी महिला काम गरिरहेका छन् । १ हजार ७ सय १७ जना पुरुष कामदार छन् । गत दुई वर्षका बीचमा मात्रै ३ हजार ९१५ जनाले नेपालमा श्रम स्वीकृति पाएका छन् । यसमा नवीकरण र नयाँ स्वीकृति दुबै गणना गरिएको छ । पछिल्लो समयमा नेपालमा कामका लागि आउने विदेशीको संख्या बढ्दो छ ।

संख्या ठूलो नभए पनि उच्च दक्ष जनशक्ति भएकाले उनीहरुले यहाँ काम गरेर लैजाने रेमिट्यान्सको हिस्सा संख्याको अनुपातमा ठूलो छ । नेपाली कामदारले मलेसिया र खाडीमा सस्तोमा श्रम बेचिरँदा नेपाल आउने दक्षतायुक्त जनशक्तिले राम्रो आर्जन गरिरहेका छन् ।नेपालमा अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रिया, अष्ट्रलिया, बंगलादेश, बेलारुस, बेल्जियम, भुटान, बोलिभिया, ब्रजिल, बुल्गेरिया, बुर्किनोफासो कम्बोडिया, क्यामरुन, क्यानाडाबाट समेत कामदार आएका छन् । चिली कोलम्बिया, कंगो, कोस्टारिका, चेक रिपब्लिक, डेनमार्क, इजिप्ट, फिनल्यान्ड, घाना, ग्रिस, गुईना, होन्डुरस, इन्डोनेसिया, इरान, आरल्यान्ड, इटाली, काजगिस्तान, केन्या लगायतका देशका कामदारले पनि नेपालाई श्रम गन्तब्य बनाएका छन् । उत्तर कोरिया, काजखस्तान, लाट्भिया, मलेसिया, माली, मेक्सिको, मोरक्को, म्यन्मार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नाइजेरिया, नर्वे, पाकिस्तान, प्यालेस्टाइन, पोल्यान्ड, पोर्चुगल र रोमानियाका समीति कामदार नेपालमा कार्यरत छन् ।

रोमानिया, रसिया, साइबेरिया, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्विडेन, स्विट्जरल्यान्ड, ताजिकिस्तान, थाइल्यान्ड, ट्रिनिडाड एन्ड टोबागो, टर्की, युगान्डा , युक्रेन, उज्वेकिस्तान, भेनेजोयला, भियतनाम, यमन र जिम्बावेबाट पनि यहाँ कामदार आएका छन् । विदेशबाट आएका दक्ष र अनुभवी कामदारहरुले पटक–पटक श्रम इजाजत नवीकरण गर्नुले पनि उनीहरुका यहाँ खुसी रहेको देखाउँछ । नेपालमा भूकम्पपश्चात पुनर्निर्माणको काम अघि बढेपछि विदेशबाट आउने कामदारको संख्या पनि बढ्न पुगेको श्रम विभागको आँकलन छ । नेपाल आएर काम गर्न एक वर्षको श्रम इजाजत पाइन्छ । त्यसलाई नवीकरण गरेर पनि यहाँ काम गरिरहन पाइन्छ । तर, त्यसका लागि विभिन्न सरकारी प्रक्रिया पुरा गर्नुपर्छ । नेपालमा आएर काम गर्न तोकिएको शूल्क पनि तिर्नुपर्छ । प्रतिव्यक्ति २० हजार रुपैयाँ शुल्क तोएिको छ । यसअघि यस्तो शुल्क १० हजार मात्रै थियो, गत वर्षबाट यो शुल्क बढाइएको हो । ६ महिनाभन्दा कम समयका लागि श्रम स्वीकृति लिनेले भने १५ हजार रुपैयाँ तिर्नुपर्छ ।पछिल्लो समयममा प्रदेश तथा स्थानीय स्तरमा पनि विभिन्न प्राविधिक काममा विदेशीको खोजी हुन थालेको छ । यसका कारण विभिन्न संस्थामर्फत सम्झौता गरेर नेपाल आउने विदेशी कामदार बढ्न थालेका हुन् ।

Published on: 17 October 2019 | Onlinekhabar

Link

Back to list

;