s

कोरियाबाट फर्केका युवा भन्छन्– बैंकबाट ऋण पाउन कठिन भयो

Year of Publication: 24 July 2019 | Nagarik

Published by: CESLAM

कोरियाको रोजगारीबाट फर्केका युवाले स्वदेशमा काम गर्ने जोश र जाँगर भए पनि बैंकबाट ऋण पाउन अझै कठिन रहेको बताएका छन्। मंगलबार कोरियन राजदूतावाससँगको साझेदारीमा अंकुर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरियाबाट फर्केका युवाले स्वदेशमा उद्यमको विकास गर्न एकातिर सहजै ऋण पाउने व्यवस्था हुनुपर्ने र अर्कोतर्फ कामको सम्मान हुनुपर्ने बताए।

खासगरी वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषि कर्म गर्न खोज्दा बैंकबाट ऋण पाउन नसक्दा पुनः वैदेशिक रोजगारीमा फर्कनु पर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। वैदेशिक रोजगारीबाट फर्केर बाँकेमा बंगुरपालन गर्दै आएका दीपेन्द्रकुमार जोशीले भने, ‘कृषिमा निकै सम्भावना छ। तर, बैंकले नपत्याउँदा उद्यम गर्न चाहनेले पुँजी अभाव भोग्नु परेको छ।’

खासगरी ऋण लिन खोज्दा बैंकले धरौटी खोज्ने र वैदेशिक रोजगारीबाट फर्केका अधिकांश युवासँग धरौटी राख्ने सम्पत्ति नहुँदा ऋण पाउन कठिन रहेको उनीहरूको भनाइ छ। कोरियाबाट फर्केका झापाका युवा हरिप्रसाद उप्रेतीले बैंकले विश्वास नगर्दा युवामा उद्यमशीलता विकास हुन नसकेको गुनासो गरे। सोही कार्यक्रममा व्यवसायमा सफलता प्राप्तिका लागि गर्नुपर्ने तयारी लगायत युवाहरूले व्यवसाय सञ्चालन गर्दाको अनुभव सुनाइएको थियो।

सोही कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार बाध्यताको रोजगारी अन्त्य गर्ने प्रयासमा रहेको बताए। उनले रोजगारीका लागि कोरिया पुगेका युवालाई लामो समयसम्म सोही मुलुकमा नबस्न समेत आग्रह गरे।

Published on: 24 July 2019 | Nagarik

Back to list

;