s
Year of Publication: 13 August 2024 | Gorkhapatra
Published by: CESLAM
घोडाघोडी, साउन २९ गते । कैलालीको घोडाघोडी नगरपालिका–८, जरहीका करण साउद ड्र्यागन (सिउँडी) फलको खेती गरी मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा भारतको पन्जाबमा लामो समय बिताएका साउद बल्ल बुद्धि फिरेको बताउनुहुन्छ । इन्टरनेटको माध्यमबाट सिउँडी फल खेतीबारे जानकारी पाएपछि उहाँले भारतबाट नै बेर्ना ल्याएर व्यावसायिक खेती थाल्नुभएको थियो । तीन कट्ठा जमिनमा सिउँडी फल लगाएको तीन वर्षपछि आम्दानी दिन थालेको छ ।
उहाँले ७० बोटका फलबाट पहिलो चरणमा पाकेका फल बेचेर ३० हजार रुपियाँ आम्दानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षबाट फल्न सुरु गरेको हो, दुई पटक फल्छ, पहिलो पटकको बेचिसकियो, अब दोस्रो पटकको तयार हुँदै छ ।”
उहाँले एक लाख रुपियाँसम्म आम्दानी हुने आशा गरेको बताउनुभयो । आफ्नै देशमा केही काम गरेर मनग्गे कमाउन सकिन्छ भन्ने आत्मविश्वासले व्यावसायिक खेती सुरु गरेको भनाइ उहाँको छ । अहिले करणले फल बिक्रीसँगै ड्र्यागनको बेर्नासमेत तयार गरी बिक्री सुरु गर्नुभएको छ । उहाँले तयार गरेको बेर्ना तीन सय रुपियाँका दरले बेच्ने गरेको बताउनुभयो । कतिपयले व्यावसायिक खेती गर्नुभन्दा पनि एक/दुई बोट लगाउने हिसाबले ड्र्यागनका बेर्ना लैजाने गरेको उहाँले जानकारी दिनुभयो ।
तीन कट्ठा जग्गामा घेरबार, पोल, बेर्नासहित पाँच लाख रुपियाँ लगानीमा उक्त व्यावसायिक खेती गरिएको हो । करणले ड्र्यागन फलबाट राम्रो आम्दानी हुने जनाउँदै कतैबाट अनुदान पाएमा बढाउँदै लैजाने बताउनुभयो ।
स्वास्थ्यका लागि राम्रो मानिएको ड्र्यागन फलको व्यावसायिक खेतीमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । घोडाघोडी नगरपालिका कृषि शाखाले ड्र्यागन फलको व्यावसायिक खेती गर्ने युवालाई अनुदानसमेत दिएको जनाएको छ ।
Published on: 13 August 2024 | Gorkhapatra
GET IN TOUCH