s

देशभित्रै रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु छन् : मन्त्री खड्का

Year of Publication: 19 July 2024 | Kantipur

Published by: CESLAM

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशभित्रै रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताएका छन् । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताए ।

उनले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताए । उनले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको भन्दै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने बताए ।

मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरुको ध्यानाकर्षण गराए । उनले इन्जिनियरहरुलाई द्विपक्षीय अथवा त्रिपक्षीय सम्झौता गरेर काम गर्न सुझाव दिए ।

उनले भने, ‘हामीसँग रोजगार सिर्जना गर्नलाई प्रशस्त ठाउँहरु छ । हामी त्यतापट्टि कार्य गर्न उन्मुख छौँ । अहिलेको सरकार यस कार्यमा दत्तचित्त छ । हामी १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्दैछौँ । आउने २८ तारिख बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद बिक्रीको सम्झौता गर्दैछौँ । मलाई लाग्छ हामी यसलाई डबलका हिसावमा बिक्र‍ी गर्नसक्छौँ । तर हामीसँग ३ हजार २०० मेघावाट मात्रै विद्युत उपलब्ध छ । प्रोजेक्टमा इन्जिनियर साथीहरु इन्चार्ज भएर जाने । दुई चार महिना काम गर्ने । अर्को प्रोजेक्टले सुविधा बढी दिए छोडेर हिँडिदिने र त्यो प्रोजेक्ट अलपत्र पर्ने । यो समस्या छ । कन्ट्रक्शनमा काम गर्ने साथीहरु द्विपक्षीय र त्रिपक्षीय सम्झौता गरेर काम गर्नुस् । अधिकारका कुराहरु पनि राख्नुस् ।’

मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरुले मौरीको भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

Published on: 19 July 2024 | Kantipur

Link

Back to list

;