s

चौध हजार विदेशीलाई नेपालमा रोजगारी

Year of Publication: 15 March 2017 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

रेवती सापकोटा

नेपाली युवा अवसरको खोजीमा विदेश गइरहेका बेला नेपालमै श्रमस्वीकृत लिएर काम गर्ने विदेशी कामदारको संख्या करिब १४ हजार पुगेको छ। श्रम विभागको गैर नेपाली व्यवस्थापन शाखाले हालसम्म करिब १४ हजार विदेशी कामदारलाई श्रम स्वीकृत दिएको पाइएको छ।

सो शाखाका अनुसार सबै भन्दा बढी श्रम स्वीकृति लिने विदेशी कामदारमा चिनियाँ नागरिक धेरै छन्। करिब पाँच हजार चिनियाँ नागरिकले श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन। ‘नेपालमा धेरै चिनियाँले श्रम स्वीकृति लिएर काम गरिरहेका छन्’, श्रम विभागका निमित्त महानिर्देशक बरुणकुमार झाले अन्नपूर्णसँग भने, ‘नेपालका जलबिद्युत आयोजनामा चिनियाँ कामदार बढी छन्। आयोजनाहरुमा उनीहरुको टेण्डर परेको हुन्छ त्यसकारणले गर्दा पनि उनीहरुका कामदार नेपालमा बढी हुन्छन।’

तामाकोशी, त्रिशूली, मादी, मस्याङदी, मेलम्ची आयोजनामा चिनियाँ कामदार काम गर्छन्। नेपालमा चिनियाँ लगानीमा आएको बृद्धिसँगै कामदारको संख्या पनि बढिरहेको छ। विभागका अनुसार तारे होटल, बैंक र ठूला कम्पनीमा भारतका करिब दुई सय जनाले श्रम स्वीकृति लिएर काम गरिरहेका छन्।

श्रम स्वीकृति दिनका लागि श्रम विभागले सोमबार र शुक्रबार उनीसँग अन्तर्वार्ता लिने गर्छ। विभागका एक अधिकारीका अनुसार निमित्त महानिर्देशक झाले भारतीय र चिनियालाई श्रम स्वीकृति दिँदा विभेद गर्ने गरेका छन्। ‘भारतीयलाई नजिक र चिनियाँलाई टाढाको व्यवहार देखाउने गर्नुहुन्छ’ झा प्रति लक्षित गर्दै ती अधिकारीले भने। झाले भने आफूबाट त्यस्तो विभेद नरहेको दाबी गरे।

श्रम विभागको संगठन संरचना अनुसार गैरनेपाली व्यवस्थापन शाखा प्रशासन निर्देशक ख समूहले हेर्ने व्यवस्था छ। निवर्तमान महानिर्देशक शत्रुघन पुडासैनीले विभागको संगठन संरचना अनुसार कार्यविभाजन गर्दा गैर नेपाली व्यवस्थापन शाखा निर्देशक ख समूहले गर्ने व्यवस्था मिलाएका थिए। ‘त्यसलाई विभागमा साहसिलो निर्णयका रुपमा हेरिएको थियो र दिउँसो दुई बजेदेखि लिइने गरेको अन्तर्वार्तालाई ११ बजे सारिएको थियो,’ ती अधिकारीले भने, ‘निमित्त महानिर्देशक झाले पहिलेको निर्णय उल्टयाएर अन्तर्वार्ताको समय दुई बजे नै पुरयाउनु भएको छ।’

ती अधिकारीका अनुसार लोकसेवा आयोगले रिक्त रहेको दरबन्दीमा जनशक्ति पठाएपछि पनि उनलाई जिम्मेवारी दिइएको छैन। करारमा नियुक्त गरिएका प्रविणकुमार कर्णलाई नै कम्प्युटर अप्रेटरको जिम्मेवारी दिइएको ती अधिकारीले बताए। प्रशासनमा ६ जनाको दरबन्दी रहे पनि दुई जना मात्रै जनशक्ति रहेको झाले बताए। ‘कर्मचारी नभएपछि प्राविधिकलाई प्रशासनिक काम लगाउनु परेको छ,’ झाले भने।

Published on: 15 March 2017 | Annapurna Post

Back to list

;