s

विद्यार्थीलाई स्वरोजगार बनाउन उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन

Year of Publication: 19 July 2024 | Annapurna Post

Published by: CESLAM

विद्यार्थीलाई उच्च शिक्षासँगै उद्यम, व्यवसायमा संलग्न, स्वरोजगार बनाई कामको खोजीमा विदेशिनुपर्ने समस्या हटाउनका लागि विश्व विद्यालय अनुदान आयोगको सहयोगमा कार्यक्रम सुरु गरेको हो।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख बजेट उपलब्ध गराएको कार्यक्रम मार्फत विद्यार्थीहरूलाई उद्यमशीलता तालिम, सफल व्यवसायको स्थलगत अध्ययन र विद्यार्थीहरूबाट व्यवसाय सञ्चालनका लागि प्रस्ताव संकलन गरिएको बताए।

‘उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई कामको खोजीमा विदेशिन रोक्ने र आफैं उद्यमी बन्न सघाउन कार्यक्रममार्फत ४० लाख रुपैयाँसम्म ब्याज बिनाको ऋण उपलब्ध गराउने व्यवस्था छ,’ उनले भने, ‘म्याग्दी क्याम्पसमा अध्ययन गर्ने र अध्ययन पूरा गरिसकेका १३ जना विद्यार्थीले उद्यमशीलता सहायता कार्यक्रमका लागि प्रस्ताव पेश गरेका छन्।’

संकलित प्रस्तावहरू मध्य मूल्यांकन समितिको सिफारिसमा पाँचवटा छनौट गरेर बिउपुजीका लागि आयोगमा पठाइने कार्यक्रम संयोजक रामजीप्रसाद सुवेदीले बताए। तरकारी, फलफूल खेती, मौरी, बाख्रा, होटल व्यवसाय र वन पैदावारमा आधारित उद्यम सम्बन्धी प्रस्ताव परेको छ।

विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने बनाउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक सुवेदीले बताए। यसैगरी म्याग्दी बहुमुखी क्याम्पसले कक्षा ११ मा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गरेको छ। ५० जना क्षमताको कम्प्युटर प्रयोगशाला भएको क्याम्पसले स्नातक र स्नाकोत्तर तहमा पनि कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गरेपछि सो विषय अध्ययनका लागि काठमाडौं, चितवन लगायतका सहरमा पुग्नुपर्ने समस्या हटेको छ।

शिक्षा, व्यवस्थापन र मानविकी संकायमा स्नाकोत्तर तहसम्म सञ्चालन हुने म्याग्दी क्याम्पसलाई विश्व विद्यालय आयोगले गुणस्तर प्रत्यायन सुनिश्चितता (क्युएए) प्रदान गरेको छ। कक्षा ११ देखि स्नाकोत्तर तहसम्म १ हजार १०० जना भन्दा बढी विद्यार्थी रहेका सहायक क्याम्पस प्रमुख नारायण सुवेदीले बताए।

Published on: 19 July 2024 | Annapurna Post

Link

Back to list

;