s

बेरोजगार भएर स्वदेश आउने १० लाखलाई नेपालमै काम दिन्छाैं

Year of Publication: 25 August 2020 | gorkhapatra

Published by: CESLAM

मुकुन्द गैरे

काठमाडौँ, भदौ ९ गते । वैदेशिक रोजगारीमा गएका ५२ हजार भन्दा बढी विभिन्न ३० देशबाट बेरोजगार हुँदै स्वदेश फर्केकालाई उनीहरूकाे चाहना अनुसार निर्माण क्षेत्रमा काम दिन सकिने निर्माण व्यवसायीहरुले बताउने गरेका छन् । नेपालमा नयाँ जनशक्ति र बेरोजगार भएर स्वदेश आउने करिब १० लाख युवालाई काम दिने ती व्यवसायीहरुको दाबी रहेको छ ।

नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गरेको बताईन्छ । बजारमा आउने नयाँ जनशक्ति र विदेशबाट फर्कने जनशक्तिलाई स्वदेशमा रोजगारी दिन तत्काल खाँचो रहेको छ । 

हाल यो क्षेत्रबाट १५ लाख जनशक्तिलाई रोजगारी दिएको व्यवसायीको भनाइ छ । तर यस्तो रोजगारी अत्याधिक मात्रामा भारतीय कामदारले ओगटेको कुरा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो । विदेशमा निर्माण क्षेत्रमा काम गरी स्वदेश फर्किएका कामदारको कामको दक्षतासहित डाटा बनाउन जरुरी रहेको अध्यक्ष सिंह बताउनुहुन्छ ।

स्थानीय स्तरका रोजगारी बढाउन पाँच करोडसम्म ठेक्काको काम सम्बन्धित जिल्ला भित्रकै व्यवसायीलाई काम दिने गरी नीति बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

स्थानीय निकाय र सरकारले विदेशबाट फर्कने कामदारको डाटा उपलब्ध भए उनीहरुको कामको दक्षता हेरेर काममा लगाउन सकिने वातावरण बन्नेछ ।

व्यवसायी सिंहका अनुसार भारत र बंगलादेश बाट कामदार नल्याए निर्माणका काम अधुरो जस्तै हुन्छ । देश विकासको मेरुदण्डको रुपमा मानिएको निर्माण क्षेत्रमा कामदारको अभाव हुने गरेको व्यवसायी बताउछन् ।

नेपालमा काम गर्न नेपालीले लाज मान्ने र विदेशमा जस्तो सुकै काम गर्न पनि तयार हुने सामाजिक मनोवैज्ञानिक संस्कारको विकास भइरहेको अध्यक्ष सिंहको ठहर छ ।

नेपालमै निर्माण क्षेत्रमा काम गर्ने कामदारले न्यूनतम आठ घण्टा काम गर्दा ३० देखि ३५ हजार रुपियाँ कमाउने गरेको व्यवसायी सिंह बताउनुहुन्छ ।

यस क्षेत्रमा काम गर्ने भारतीय कामदारले प्रतिव्यक्ति ४० हजारदेखि दुई लाखसम्म कमाउने गरेको उहाँको भनाइ छ । धेरै युवा जहाज चढ्न पाईने, विदेशका ठुला –ठुला महल देख्न पाईने र धेरै पैसा कमाइने मानसिकताको कारण पनि लहलहमै विदेश जान गर्छन् । 

वेदेशिक रोजगार विज्ञ मधुविलास पण्डितका अनुसार विदेशमा गए कामको करार अवधि भर कामको ग्यारेन्टी हुने र पैसा बचत हुने कारण देखाउँदै विदेश रोज्ने गरिएको छ । स्वदेशमै काम गर्ने संस्कारको विकास गरी युवा लक्षित सर्टिफिकेट धितो राखेर ऋण दिने लगायत सरकारले ल्याएका योजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको वैदेशिक रोजगार विज्ञ पण्डित बताउनुहुन्छ ।सरकारले तत्कालका लागि विदेशबाट फर्किने युवालाई कृषि क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनुहुन्छ ।

तत्काल विदेशबाट फर्किएकालाई उद्योग धन्दा खोलेर रोजगारी दिने सम्भव नभएको र उनीहरलाई काम गर्न सहजीकरण गरे मात्र पनि कृषिबाट फाइदा लिन सकिने उहाँ बताउनुहुन्छ । रोजगारीको खोजीमा भारतमाबाहेक करिब ४० लाख युवाशक्ति विदेशमा रहेको तथ्याङ्क छ ।

Published on: 25 August 2020 | gorkhapatra

Link

Back to list

;