s

बाँसको कामले विदेशमा जस्तै कमाइ

Year of Publication: 30 March 2016 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

रामबाबु यादव
 
सिरहा: करीब दुई वर्ष भइसक्यो लहान-१५ स्थित ढोढनाका देवीलाल मल्लिकका जेठा छोरा २४ वर्षीय उमेश मल्लिक वैदेशिक रोजगारबाट फर्केको। तर अहिलेसम्म उनी विदेश जानुभन्दा बाबुआमा र भाइहरूसँगै मिलेर बाँसको काम गर्न रुचाउँछन्।
 
देवीलालले बुवासँग घरमै आफ्ना पुर्खौली सिप बाँसको चोयाबाट विभिन्न सामग्री बनाउन सिकेका हुन्। पछि सोही काम उनका चार छोराहरू पनि सिक्दै छन्। अहिले पनि उनीहरू बाँसको चोयाको सामग्री बनाउन बस्दा जेठा छोरा उमेश बाँस टुक्रयाउँछन्, माइला रबिन टुक्रयाएका चोयालाई मसिनो बनाउँछन् र साइलो प्रवीणसहित देवीलाल र उनको पत्नी ढाकी तथा विभिन्न सामग्रीहरू बुन्छन्।
 
यसरी सबै मिली काम गरेपछि दिनभरीमा उनीहरूले १० वटादेखि १५ वटासम्म ढाकी र विभिन्न सामग्रीहरू बनाउछन्। कान्छो छोरा रमेश स्कुले विद्यार्थी भएको कारण उनीहरू उनलाई काममा त्यति सारो लगाउँदैन्।
 
‘विदेशमा जत्तिकै मेहेनेत गर्न सकियो भने त्यहाँभन्दा बढी यहाँ आर्जन गर्न सकिन्छ-, देवीलालका जेठा छोरा उमेशले भने,-त्यहाँ दिनरात नभनीकन एक महिना काम गरियो भने मुश्किलले २५ देखि ३० हजार जोगिन्छ, यहाँ पनि अलिकति मेहेनत गरियो भने त्यतिको आम्दानी गर्न गाह्रो छैन।
 
ढोढनाको मल्लिक परिवारले आफूलाई बाँसको चोयामा आधारित सामग्री उत्पादन गर्नमा व्यस्त राख्दा अहिले उनीहरूले वैदेशिक रोजगारभन्दा बढी आम्दानी गर्दैछन्।
 
उमेशका अनुसार, स्थानीय बजारमा उनीहरूले उत्पादन गरेका बाँसको चोयाको एउटा ढाकीको मूल्य १५० देखि दुई सयसम्म पर्दछ। त्यतिकै मात्रामा उनीहरूले उत्पादन गरेका डलिया, फुलदानी र परेबा तथा कुखुराका खोपहरूको राम्रो मूल्यमा सजिलै विक्रि हुन्छ।
 
‘एकपटक उमेश विदेश गएपछि यो परिवारका कोही पनि विदेश जान रुचाउँदैनन्-, ढोढनाका स्थानीय समाजसेवी वीरेन्द्र चौधरीले भन्नुभयो-अहिले कोही पनि सगोलमा बस्न रुचाउँदैनन्, तर यिनीहरूको सगोल परिवारले सबैलाई एउटा उदाहरण बनेर देखाएका छन्।
 
बाँसकै चोयाबाट निर्मित सामग्रीहरू र उमेशले कमाएर ल्याएको केही एकमुष्ट रकमलाई मिलाएर यसपालि देवीलालले ढोढनामै साढे ११ कठ्ठा खेत पनि जाडेका छन्।उमेश भन्छन-विदेशमा कमाएजती यहाँ पनि कमाउन सकिन्छ, त्यसको लागि आफूसँग भएको शिप र जागर चलाउन जरुरी छ। 
 
युवाहरूलाई विदेश जानबाट रोक्ने हो भने सरकारी तवरबाटै युवाहरूलाई स्वरोजगार हुने खालको शिप सिकाउनु जरुरी छ। 
 
Published on: 30 March 2016 | Annapurna Post

Back to list

;