s

आम्दानीको स्रोत बन्दै ‘अटोरिक्सा’

Year of Publication: 30 April 2024 | Gorkhapatra

Published by: CESLAM

अत्तरिया (कैलाली), वैशाख १७ गते । बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बनेको हो ।

अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक बताउनुहुन्छ । कैलालीको धनगढी उपमहानगरपालिका-६ जालीका ज्ञानबहादुर विकले अटोरिक्सा चलाएर मासिक ४५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो । रोजगारीका लागि तीन वर्ष माल्दिभ्स बसेर घर फर्किएर अटो व्यवसायमा लागेका विक आफ्नो कमाइमा निकै सन्तुष्ट हुनुहुन्छ । “मैले धनगढी बजार क्षेत्रमा विगत चार वर्षदेखि अटोरिक्सा चलाउँदै आएको छु, दैनिक एक हजार पाँच सयदेखि दुई हजार कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “खर्च कटाएर दैनिक एक हजार पाँच सय बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।”

चार वर्षअघि तीन लाख २० हजारमा किस्तामा विद्युतीय अटो रिक्सा किनेका विकले १८ महिनामा किस्ता पूरा गरेको बताउनुभयो । “सुरुसुरुमा अटो रिक्सा कमै थिए, दैनिक तीन हजार पाँच सयसम्म पनि कमाइ हुन्थ्यो, सहजै किस्ता पनि तिरेँ”, उहाँले भन्नुभयो, “अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, सात जनाको परिवार छ, घरखर्च छोराछोरीको पढाइलेखाइ खर्च यसैबाट चलेको छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।”

सोही ठाउँका स्थानीय नवराज भट्टले अटो रिक्सा चलाएर मासिक ४० देखि ४५ हजारसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले विगत छ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटोरिक्सा चलाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सुरुमा ऋण लिएर पाँच लाख ७५ हजारमा अटोरिक्सा किनेर चार वर्ष चलाए, त्यो सबै ऋण चुक्ता गरेर त्यो अटो पनि बेचे, अहिले चार लाख १० हजारमा अर्को अटो किनेर चलाइरहेको छु, दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म बचत हुन्छ, सुरुसुरुमा दैनिक पाँच हजारसम्म पनि आम्दानी गरेँ ।”

उहाँले पाँच जनाको परिवारको घर खर्च यसैबाट धानेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नुपरेको छैन, यसैमा सन्तुष्ट छु ।” जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उहाँको भनाइ छ । सोही ठाउँका चन्द्रमान विकले अटोरिक्सा चलाएर मासिक ३० हजार आम्दानी गर्ने गरेको बताउनुभयो ।

“मैले छ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटो चलाउँदै आएको छु”, उहाँले भन्नुभयो, “दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुन्छ, खर्च कटाएर दैनिक एक हजार बचत हुन्छ ।” उहाँका अनुसार बिहानदेखि साँझसम्म चलाउनसके राम्रै आम्दानी हुन्छ । “मैले धेरै समय चलाउने गरेको छैन, तैपनि राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “घरखर्च राम्रै चलेको छ, चार जनाको परिवार छ, सबै खर्च यसैबाट चल्छ, आम्दानीको अर्को स्रोत केही छैन ।” रासस

Published on: 30 April 2024 | Gorkhapatra

Link

Back to list

;