s

बिजनेस भिसामा बसेर अपराध

Year of Publication: 27 February 2019 । Nayapatrika

Publication Type: NEWS

Published by: CESLAM

नवराज मैनाली

उद्योग विभाग भन्छ– कम्पनी खोलेपछि व्यापारको नाममा अन्य गतिविधिमा संलग्न हुन सजिलो भएकाले विदेशी नागरिकले साना कम्पनीमा लगानी बढाए

नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन् । तर, लगानी भने वार्षिक रूपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा नेपालमा विदेशी लगानी घटेको छ । लगानी घटे पनि विदेशी लगानीमा स्थापना हुने साना कम्पनीको संख्या भने बढ्दो छ ।

साना कम्पनीका नाममा लगानी बढ्नु शंकास्पद रहेको उद्योग विभागका अधिकारीहरू बताउँछन् । कम्पनी खोलेपछि बिजनेस भिसा पाइने भएकाले व्यापारको नाममा अन्य गतिविधिमा संलग्न हुन विदेशीहरूले साना कम्पनीमा लगानी बढेको उनीहरूको भनाइ छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा १४ अर्ब एक करोड ७३ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब मात्र विदेशी लगानी आएको छ, तर कम्पनीको संख्या भने बढेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा विदेशी लगानीमा १७८ प्रोजेक्ट आएका थिए, तर यो वर्ष २१३ वटाले अनुमति लिएका छन् । विभागका निर्देशक प्रसन्न बोहराका अनुसार गत आर्थिक वर्षको यही अवधिमा विदेशी लगानीमा १७८ प्रोजेक्ट आएका थिए, तर यो वर्ष २१३ वटाले अनुमति लिएका छन् । ‘साना लगानीका प्रोजेक्टहरू बढेका छन्,’ उनले भने, ‘कतिपयले व्यापार गर्ने नाममा अन्य कामका लागि पनि यसरी प्रोजेक्ट भित्र्याएका हुन सक्छन् ।’

 बिजनेस भिसाको बढ्दो दुरुपयोग

नेपालमा बिजनेस भिसाका लागि खुकुलो प्रावधान भएकाले पनि यसको दुरुपयोग बढेको प्रहरी तथा अध्यागमन अधिकारीले बताएका छन् । नेपालमा बिजनेस भिसामा रहेका व्यक्तिहरू विभिन्न आपराधिक गतिविधिमा पक्राउ पर्दै आएका छन् । कतिपय धर्म प्रचारमा संलग्न छन् । निगरानीको संयन्त्र कमजोर हुँदा नेपालमा अवैध गतिविधि बढाएका छन् । अध्यागमन विभागका अनुसार हाल दुई हजार आठ विदेशी नेपालमा बिजनेस भिसामा बसिरहेका छन् ।

गत असारमा बिजनेस भिसामा बसेर चर्च खोल्ने फिलिपिनी नागरिक दे भेरा रिचर्ड र इन्डोनेसियाकी रीता गोङ्गालाई पक्राउ गरी अध्यागमन विभागले निष्कासन गरेको थियो । ठमेलमा काठमाडौं वान नामक होटेल चलाउने चिनियाँ नागरिक सुन तस्करीमा संलग्न भएका थिए । गत असारमै युक्रेनका दुई नागरिक वैदेशिक रोजगारी ठगीको आरोपमा पुतलीसडकबाट पक्राउ परेका थिए ।

उनीहरूले पोल्यान्ड पठाउने भनेर ठगी गरेका थिए । बिजनेस भिसामा बस्दै आएका केही चिनियाँ नागरिक अवैध डलर तथा वन्यजन्तुको अंगको कारोबारको आरोपमा समेत पक्राउ परेका छन् । चितवनमा बेकरी सञ्चालन गर्दै आएका कोरियन नागरिक धर्म प्रचारमा संलग्न पाएपछि उनीहरूलाई हालै सचेत गराइएको छ । पर्यटक भिसामा नेपालमा एक वर्षमा बढीमा १५० दिन मात्र बस्न पाइन्छ । लामो समय नेपाल बस्न चाहनेले बिजनेस भिसा लिने गरेका छन् ।

 बैंक स्टेटमेन्ट नै नक्कली

नेपालमा बिजनेस भिसा पाउन कम्तीमा ५० हजार अमेरिकी डलरबराबरको विदेशी लगानी ल्याउनुपर्ने हुन्छ । तर, सुरुमै सो रकम ल्याउनुपर्दैन । सुरुमा करिब २५ प्रतिशत लगानी भिœयाएपछि बिजनेस भिसा पाइन्छ । ५० हजार डलर कति वर्षभित्र ल्याइसक्नुपर्ने भन्ने प्रस्ट छैन । जसकारण, यसको दुरुपयोग भइरहेको छ । अझ कतिपयले त विदेशबाट पैसा ल्याएको भनेर नक्कली बैंक स्टेट्मेन्टसमेत बनाएर उद्योग विभागमा पेस गर्ने गरेको स्रोत बताउँछ ।

दलालले उद्योग विभागका कर्मचारीलाई प्रभावमा पारी राम्रोसँग अध्ययन नै नगरी भिसाका लागि अध्यागमन विभागमा सिफारिस गरेका छन् । भिसा थप गर्ने क्रममा पनि विदेशी लगानी रहेका कम्पनीको अवस्थाबारे विस्तृत अनुगमन हुने गरेको छैन । खुकुलो प्रावधानकै कारण भिसाको दुरुपयोग बढेकाले न्यूनतम पाँच करोड विदेशी लगानी ल्याउनुपर्ने गरी नियमावली संशोधन गर्न लागिएको उद्योग विभागका अधिकारीले जनाएका छन् ।

 छानबिनमा तीव्रता दिइने

विदेशी लगानी खासै नबढे पनि बिजनेस भिसाका लागि आवेदन भने बढेको छ । उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहका अनुसार साना कम्पनीमा विदेशी लगानी बढेको छ । भाषा इन्स्टिच्युट र साना रेस्टुरेन्टका लागि विदेशी नागरिक आउने क्रम बढेको छ । जसमा धेरैजसो चिनियाँ नागरिक छ । साउनयता दर्ता भएका २१३ कम्पनीमध्ये ९५ वटा चिनियाँ र १६ वटा कोरियन कम्पनी छन् ।

‘१०–२० लाख लिएर व्यापार गर्नै कुनै विदेशी यहाँ आउँदैनन्,’ विभागका एक अधिकारी भन्छन्, ‘उनीहरूको गतिविधि अरू नै भएको भन्ने सुनेका छौँ ।’ विभागका महानिर्देशक सिंह कतिपयले गलत प्रयोजनका लागि नेपालमा विदेशी कम्पनी दर्ता गर्ने र अन्य काम गर्ने आशंका रहेको बताउँछन् । ‘बिजनेस भिसाको दुरुपयोग गरेर अन्य गतिविधि गरेको हाम्रो पनि आशंका छ,’ उनले भने, ‘यसमा हामी अनुगमन र निगरानी बढाएका छौँ ।’ हालसम्म नेपालमा विदेशी लगानीका ४ हजार ६ सय ९२ वटा कम्पनी रहेको विभागको तथ्यांक छ । विभागले हालै गरेको अनुगमनमा बिजनेस भिसामा बस्दै आएका कतिपय व्यक्तिहरू चर्च खोलेर बसेकोसमेत भेटिएको छ । त्यस्ता व्यक्तिमाथि कारबाही गर्न विभागले गृह मन्त्रालयले पत्राचार गरेको छ ।

Published on: 27 February 2019 । Nayapatrika

Back to list

;