s

‘झार उखेलेर’ पौने दुई लाखले बुझे तलब

Year of Publication: 2 August 2019 | Setopati

Published by: CESLAM

झार उखेलेर होस् या चौतारी/सडक सफा गरेर। गत आर्थिक वर्षको अन्तिममा आएर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस्तै सामान्य काममा बेरोजगार युवाहरुलाई काम दिइयो। यस कार्यक्रमअन्तर्गत काम गरेर देशभरका करिब १ लाख ७५ हजार ९०९ जनाले पारिश्रमिक बुझेका छन्। गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न ५९९ स्थानीय तहले बुझाएको प्रतिवेदनका आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो विवरण सार्वजनिक गरेको हो। यसरी काम गर्नेले औसतमा १३ दिनको पारिश्रमिक बुझेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी प्राप्त गर्न नसकेकालाई वर्षमा न्यूनतम १ सय दिनको रोजगारी उपलव्ध गराउने वा त्यति पनि दिन नसकेमा सय दिनकै न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलव्ध गराउने व्यवस्था गरेको थियो। केही नगरी निर्वाह भत्ता दिनुको साटो बेरोजगारलाई काम लगाएर पारिश्रमिक दिइएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षमा कुल २ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ यसका लागि बजेट बिनियोजन भएको थियो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यस कार्यक्रममार्फत काम नपाएर खान नपाउनेले न्यूनतम केही रकम भए पनि सहयोग पाएको बताए। ८६ वटा कामका प्रक्रिया पुरा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको बताउँदै उनले पहिलो पटक ल्याइएको यस्तो कार्यक्रमप्रति आफू खुसी रहेको बताए। ‘झार उखेलेका वा अन्य प्रकृतिका कामलाई लिएर तपाईहरुले दिएका सुझावका आधारमा कमीकमजोरी सुधारेर आगामी दिनमा सरकार अघि बढ्नेछ’ उनले भने ‘देशमा भयाभह बेरोजगारी छ, अब यो सरकारले रोजगारीमार्फत जनताको जीवनलाई परिवर्तन गर्न चाहेको छ।’ १७ लाखले आफूहरुलाई बेरोजगारको सूचीमा दर्ता गराएको उनले जानकारी दिए। सरकारले यस वर्ष ५ लाखलाई रोजगारी दिने अठोट गरेको बताउँदै उनले विगतका वर्षमा कहिलै पनि बेरोजगारका सवालमा कदम नचालिएको दावी गरे। ‘कमसेकम यो सरकारले नयाँ कामको सुरुआत गरेको छ, यस्तो कठिन काममा थप ५ लाखलाई रोजगारी दिने प्रतिबद्धता पनि धन्यवादको विषय बन्नुपर्ने थियो’ उनले भने।

Published on: 2 August 2019 | Setopati

Back to list

;