s
Year of Publication: 5 August 2024 | Kantipur
Published by: CESLAM
भैरहवा — क्यासिनो सञ्चालन व्यवस्थापनसित सात महिनाअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै तिलोत्तमा–१७ स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टको प्रवेशद्वारमा मजदुरले आइतबारबाट अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
यसअघि काठमाडौंको सांग्रिला र यहाँस्थित टाइगर प्यालेर रिसोर्टमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटीएम) प्रालि र ट्रेड युनियनबीच ०८० पुस १३ मा भएको विवाद समाधान र फरफारक सम्झौता कार्यान्वयन माग गर्दै आइतबार बिहानबाट उनीहरू धर्नामा बसेका हुन् ।
मजदुरको धर्नाका कारण आइतबार दिनभर भारतीय पर्यटकले रिसोर्ट प्रवेश पाएनन् । आफ्नै गाडीमा आएका भारतीय पर्यटक गेटसम्म पुगेर प्रवेश नपाएपछि मुख्यद्वारबाटै फर्किएका थिए । खाना पकाउने ग्यास र चुलोसहित उपस्थित मजदुरले माग पूरा नभएसम्म धर्ना कायम राख्ने जनाए । उनीहरू प्रवेशद्वारमा बिछ्यौना ओछ्याएर धर्नामा बसिरहेका छन् । रिसोर्टमा कसैलाई पनि प्रवेश दिइएको छैन । रिसोर्टबाट बाहिरिनेलाई अवरोध नगरिएको मजदुर बताउँछन् ।
गैरआवासीय नेपालीले व्यवस्थापन सम्हालेपछि रिसोर्ट पुरानै अवस्थामा सञ्चालन भइरहेको छ । भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको क्यासिनो मजदुरको आन्दोलनका कारण पर्यटक आगमन ठप्प भएको रिसोर्टको भनाइ छ ।
तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा रहेको क्यासिनोमा कार्यरत ६० र काठमाडौंको सांग्रिला होटलमा सञ्चालित क्यासिनोमा कार्यरत २ सय ९ जना मजदुर धर्नामा सहभागी रहेको संयुक्त मजदुर संघर्ष समितिका संयोजक चित्र भण्डारीले जनाए । सम्झौता कार्यान्वयन नभएसम्म धर्ना जारी रहने उनले बताए । ‘श्रम अदालतको आदेशअनुसार प्रतिकामदार १ लाख ६५ हजार रुपैयाँ दरले भुक्तानी दिने सहमति भएको थियो,’ उनले भने, ‘पैसा दिन्छु भने पनि मजदुरले पाएका छैनन् ।’
पुनर्बहाली हुन चाहनेलाई पुरानो नियमअनुसार निरन्तरता नदिएर नयाँ करार सम्झौता गर्न खोजिएको भण्डारीको भनाइ छ । गत पुसमा क्यासिनो व्यवस्थापन, ट्रेड युनियन, संयुक्त संघर्ष समितिबीच १४ बुँदे फरफारक सम्झौता भएको थियो ।
रिसोर्ट व्यवस्थापनले भने मजदुरका मागप्रति गम्भीर रहेको जनाएको छ । प्रत्येक वर्ष क्यासिनो नवीकरण गर्नुपर्ने भएकाले कार्यरत मजदुरलाई स्थायी रूपमा नियुक्त गर्न असमर्थ रहेको क्यासिनो व्यवस्थापनका एक कर्मचारीले बताए । मागका विषयमा व्यवस्थापन पक्षबीच छलफल भइरहेकाले समस्या हल गर्न तत्पर रहेको ती कर्मचारीको भनाइ छ ।
उनका अनुसार ०६२ पुस ४ मा दर्ता भएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटीएम) प्रालि सञ्चालक समिति बैठकले ०८० चैत १२ मा सांग्रिला र टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको इजाजतपत्र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसपछि दुवै क्यासिनोका इजाजतपत्र रद्द भएका थिए । उक्त निर्णयपछि ०८१ साउन १ बाट एसएचएलको सम्पूर्ण व्यवसाय पूर्ण रूपमा बन्द गरिएको व्यवस्थापनले जनाएको छ ।
Published on: 5 August 2024 | Kantipur
GET IN TOUCH