s
Year of Publication: 15 July 2024 | Kantipur
Published by: CESLAM
काठमाडौँ — परिवारको सहमतिबिना पर्साका लोकबहादुर सुनुवारको शव गाडिएको घटनाको छानबिन गर्न साउदी सरकारले बेवास्ता गरेको छ । जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयले परिवार तथा नियोगको अनुमतिबिनै सुनुवारको शव गाडिएकोमा साउदीको विदेश मन्त्रालय र सम्बन्धित निकायहरूमा असहमति जनाई निरन्तर ताकेता गर्दै आएको छ । तर हालसम्म त्यहाँको सरकारले औपचारिक जवाफसमेत दिएको छैन ।
मृतक सुनुवारको परिवारलाई क्षतिपूर्ति दिने, घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नजनाई साउदीले उल्टो उत्खनन गरिएको शव बुझ्न नेपाली महावाणिज्य दूतको कार्यालयमार्फत परिवारलाई दबाब दिएको स्रोतको भनाइ छ । यो विषयमा नेपाल सरकारले पनि उच्च तहमा साउदी सरकारको ध्यानाकर्षण गराएको छैन ।
साउदी अरबको जिजान प्रान्तको वेस जनरल अस्पतालमा उपचारका क्रममा गत वर्षको साउन २७ मा लोकबहादुरको मृत्यु भएको थियो । २०८० वैशाख १९ मा जिजानको ‘मोडर्न स्टार लाउन्ड्री कार सर्भिसेज’मा गाडी धुनेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लोकबहादुरलाई थप उपचारका लागि तुरुन्तै वेस अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा तीन महिनापछि मृत्यु भए पनि लोकबहादुरको मेडिकल रिपोर्टमा मृत्युको कारण भने नेचुरल लेखिएको छ ।
साउदीले लोकबहादुरको शव गाडिएको विषयमा जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयलाई समेत अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । ‘जिजान जेद्दाबाट ७ सय किमि पर्छ । हामी जतिखेर पनि जिजान पुग्न सक्तैनौं । अस्पताल, जेल, अदालत, प्रहरी, श्रम कार्यालयसँग जोडिएको विषयहरू एकैचोटि सम्बोधन हुने गरी जिजान पुग्छौं,’ कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘यही क्रममा हामी गत वर्षको जुन ३ मा जिजान गएका थियौं । त्यो बेला वेस अस्पतालमा उपचारत लोकबहादुरलाई भेट्यौं । बिरामीको अपडेट लियौं । त्यतिखेरसम्म लोकबहादुर कोमामा नै थिए । दोस्रो पटक सेप्टेम्बर ५ मा फेरि टोली अस्पताल पुग्दा लोकबहादुर भेटिएनन् ।’
महावाणिज्य दूतको कार्यालयबाट खटिएका एक प्रतिनिधिले अस्पतालसँग सोधपुछ गर्दा पनि लोकबहादुरबारे पत्ता लागेन । ‘स्पोन्सरसँग सोधपुछ गर्यौं । स्पोन्सरले पनि केही बताउन सकेन । तीन दिनपछि स्पोन्सरले लोकबहादुरको मृत्यु भइसकेको सूचना लिएर आए । प्रहरी र अस्पतालको मिलेमतोमा लोकबहादुरको शव पनि गाडिसकेको जानकारी दिए,’ ती अधिकारीले भने, ‘यो थाहा पाउनेबित्तिकै हामीले औपचारिक रूपमा जेद्दास्थित साउदीको परराष्ट्र मन्त्रालयको शाखा कार्यालय र रियादस्थित परराष्ट्र मन्त्रालयसँग जानकारी माग्यौं ।’
साउदीले लोकबहादुरको शव कहिले गाडिएको र कहिले उत्खनन गरिएको भन्ने यकिन विवरण नेपाललाई जानकारी गराएको छैन । साउदीले गत अप्रिलमा उनको शव परिवारलाई बुझ्न पत्र पठाएको छ । ‘हामी पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने विषयमा कानुनी उपचारमा जाने गरी छलफल गरिरहेका छौं,’ रियादस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘क्षतिपूर्ति दिने निकाय गोसीसँग पनि दोहोर्याएर छलफल गर्ने निचोडमा पुगेका छौं ।’
गोसीले मेडिकल रिपोर्टमा मृत्युको कारण नेचुरल भएकाले क्षतिपूर्ति नपाउने बताइसकेको छ । लोकबहादुरसँगै काम गरेका देवराज मोक्तान र श्यामबहादुर लोप्चनले विद्युतीय झड्का लागेर उनी घाइते भएको बताए । ‘घटना भएको साँझ साढे पाँचतिर हो । उनले गाडी धोई–पखाली गरे । मेसिन अफ गर्न खोज्दा करेन्ट लाग्यो,’ देवराजले भने, ‘लोकबहादुर भुइँमा पछारिए । तुरुन्तै एम्बुलेन्समा हालेर अस्पताल पठाएको हो ।’ वीरगन्ज महानगरपालिका–३२, पर्साका लोकबहादुर दुई वर्षदेखि साउदी अरबमा काम गर्थे । महिनाको एक हजार रियाल पाउँथे ।
कार वासिङका मालिकले लोकबहादुरका दाजु पूर्णबहादुरलाई काम गर्दागर्दै ‘इलेक्ट्रिक करेन्ट सर्ट’ भई दुर्घटना भएको जानकारी दिएका थिए । पीडित परिवारले भने लोकबहादुरको मृत्यु विवरण नै झूटो आएको भन्दै छानबिन गराउन परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्दै आएको छ । तर, परराष्ट्र मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबाट साउदी सरकारको उच्च तहमा यो विषयमा ध्यानाकर्षण जनाएको छैन । ‘हामीले परराष्ट्र मन्त्रीलाई भेटेर ध्यानाकर्षण जनाएका छौं । कन्सुलर विभागमा निवेदन दिएका छौं । सरकारले यो विषयलाई त्यति गम्भीर रूपमा लिएको देखिएन,’ लोकबहादुरका ससुरा लभबहादुर तामाङले भने ।
महावाणिज्य दूतको कार्यालयले गत मार्च ३ तारिखमा लोकबहादुरको शव पठाउन भन्दै कम्पनीलाई ‘एनओसी’ जारी गरिसकेको छ । तर, परिवारले क्षतिपूर्ति र छानबिन गरी दोषीमाथि कारबाहीको टुंगो नलागेसम्म शव नबुझ्ने अडान राखेको छ । ‘घटनाको सीसीटीभीको फुटेज, प्रत्यक्षदर्शीको राय, अस्पतालको सक्कल कागजात कहाँ छ ? करेन्ट लागेर भएको दुर्घटनालाई किन प्राकृतिक मृत्यु भनियो ? मलाई नसोधी कसको स्वीकृतिमा शव गाडियो ? दुर्घटनामा मृत्युबापत प्राप्त हुनुपर्ने क्षतिपूर्ति कसले दिन्छ ? साउदीबाट आएको चार हजार रियाल लिएर श्रीमान्को शव बुझ्न सक्दिन, दोषी पत्ता लगाइनुपर्छ,’ लोकबहादुरकी श्रीमती पूजाले नेपाल र साउदी सरकारसँग प्रश्न गरेकी छन् ।
परिवारले शव नबझ्नुे अडान राखेपछि नेपाली दूतावासले साउदी सरकारलाई यसबारे जानकारी गराइसकेको छ । ‘हामीले परिवारको चासोबारे साउदी सरकारसमक्ष कूटनीतिक नोट पठाएका छौं । शव गाडिएको विषयमा पठाएको पत्रको कुनै पनि जवाफ साउदी सरकारले दिएको छैन,’ ती अधिकारीले भने, ‘साउदी सरकारको न्यायिक जवाफको प्रतीक्षामा बसेका छौं ।’
Published on: 15 July 2024 | Kantipur
GET IN TOUCH