s
Year of Publication: 31 October 2012 | Nagarik
Publication Type: NEWS
Published by: CESLAM
एकदशक विदेस बसेर आएका उदयपुर जाँतेका मिलन राई घर न घाटको भएका छन्। उताबाट फर्केपछि उनी बेरोजगार भएका छन्। मरुभूमीमा जीवनको उर्वर शक्ति खर्चेका ३६ वर्षे राईले जति कमाए सबै उतै सके। कहिले काम पाएनन, कहिले बिरामी भए, कमाएको उतै सके। 'बरु त्यत्तिञ्जेल हलो नै जोतेको भए नेपालमै कमाउँथे होला', उनी पछुतो मान्दैछन् 'अहिले परिवार पाल्नै धौधौ भयो।'
उनी पहिलोपटक कतार गएर तीनवर्ष बस्दा दुईलाख कमाएर फर्के। अनि मलेसिया गए। त्यहाँ कम्पनी नराम्रो पर्योक। चार वर्षमा एक वर्ष कमाइ भयो, बाँकी समय भएन। उनी रित्तै घर फर्के।
जाँते ७ का शैनध्वज राई ०५७ सालमा मलेसिया गए। पैसा आउनु त कता हो कता, ०६७ सालमा उनको शव मात्र आयो। लुकिछिपी बसेका कारण शब मगाउन परिवारले दुई लाख रुपैंया खर्चिनु परेको बाबु हर्क बहादुर बताउँछन्।
जाँते ५ का हरिकुमार राईको पनि मलेसियाबाट आठ बर्षपछि शब फर्कियो। वडाध्यक्ष रहेका उनी ०५९ सालमा माओबादी कारण घर बस्न नसकेर विदेशिएका थिए। मलेसियाको पुल हाउसमा कार्यरत विद्युतीय झट्काले ०६८ सालमा घट्नास्थलमै मृत्यु भएको थियो।
अर्का युवा टीकाराम राईको पनि ०६८ मा शव मात्र आयो। श्रीमति सहित विदेशिएका उनी १० वर्षदेखि मलेसियाको बंगुर फाराममा काम गर्थे। भाले बंगुरको आक्रमणमा परी घट्नास्थलमै उनको मृत्यू भएको थियो।
जाँतेका मात्रै आठजनाले मलेसियामा ज्यान गुमाएका छन्। लगभग हजारभन्दा बढी जाँतेली युवा विदेशिएकामध्ये धेरैको विल्लीबाठ भएको गाविसका पूर्व अध्यक्ष हर्कसेर राई बताउँछन्। उनका अनुसार विदेशिएकामध्ये २५ प्रतिशत मात्र सन्तोषजनक अवस्था छ। बाँकी कसैको परिवार विग्रेको छ, कतिका श्रीमतिले दोस्रो विहे गरेकाले सन्तानको बिचल्ली भएको छ। कति पैसा कमाउन नसकेर उतै भासिएका छन्।
विदेशिने युवाको परिवारमा विखण्डन आएको छ। प्रहरीमा उजुरी पर्छन। उजुरी पर्नेभन्दा तेब्बर बढी यस्ता समस्या गाउँमै मिल्ने गरेको पाइएको प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलको भनाई छ।
उदयपुरबाट मात्र वर्षमा १० हजार बढी युवा खाडी जाने अनुमान छ। जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनेको संख्या बढ्दैछ। प्रशासनका राहदानी फाँटमा कार्यरत खरिदार माधव खतिवडाका अुनसार वर्षेनी राहदानी लिनेको संख्या छ हजार नाघ्छ।
GET IN TOUCH