s
Year of Publication: 20 August 2024 | Naya Patrika
Published by: CESLAM
नेपालबाट विदेश अध्ययनका लागि जाने विद्यार्थीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८०/८१ मा विद्यार्थीले पढ्नका लागि ५४ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ लिएका छन् । ती पैसा नेपालमा लगानी भएको छैन । विद्यार्थीले विदेश पढ्न जाने प्रयोजनमा खर्च गरिरहेका छन् ।
आव ०७९/८० मा विद्यार्थीले ५५ अर्ब ८६ करोड तीन लाख ऋण लिएका थिए भने आव ०७८/७९ मा ३१ अर्ब ४१ करोड ४७ लाख ऋण लिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले ऋण लिने क्रम बढेको जानकारी दिए । उनका अनुसार विद्यार्थीले लिएको ऋणमध्ये अधिकांश रकम बाहिर जाने गर्छ ।
‘बैंक तथा वित्तीय संस्थासँग एउटा स्किम हुन्छ, विद्यार्थीले त्यही स्किमअनुसार ऋण लिन्छन्, कतिपय विदेशी विद्यार्थीले पनि ऋण लिन्छन्,’ उनले भने, ‘अधिकांश विद्यार्थीले विदेश जाँदा ऋण लिएर जाने गरेका छन् र जान सक्छन्, नेपालकै कलेजमा पनि पढ्नका लागि कतिपय विद्यार्थीले बैंक र वित्तीय संस्थाबाट कर्जा लिन्छन्, वैदेशिक अध्ययनमा बाहिरिएको केही रकम विद्यार्थीले लिएको ऋणमध्येका पनि पर्छ ।’ उनले शैक्षिक संस्थाहरूले लिएको ऋण भने विदेश नजाने र यहीँ प्रयोग हुने बताए । उनका अनुसार कतिपय विदेशी सम्बन्धनका कलेजले भने यहाँ कर्जा लिएर सटही गरी प्रयोग पनि गर्ने गरेका छन् ।
तथ्यांकअनुसार पछिल्लो वर्ष विद्यार्थीले लिने ऋण पनि बढ्दै गइरहेको छ । राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले विद्यार्थीले लिएको कतिपय ऋण विदेश जाँदा सटहीमा रूपमा आउने गरेको बताए । विद्यार्थीले विदेश जाने प्रक्रियामा वा पढ्नका लागि रकम अभाव भएपछि बैंकमार्फत ऋण लिने गरेको उनको भनाइ छ ।
नेपालमा शैक्षिक संस्थाहरूले लिएको ऋण उच्च देखिए पनि नेपालको शिक्षा क्षेत्र जहाँको तहीँ छ । राष्ट्र बैंकका अनुसार शैक्षिक संस्था तथा विद्यार्थीले लिएको ऋण कसरी लगानी भइरहेको छ भन्न सकिने अवस्था छैन । कतिपयले शैक्षिक ऋण लिएर भवन बनाउने गरेका छन्, कतिपयले शैक्षिक संस्था खोल्ने, कतिपयले विदेश पठाउने गर्छन् भने विद्यार्थीले लिएको ऋणमध्ये अधिकांश बाहिर जाने गरेको छ ।
राष्ट्र बैंकका सूचना अधिकारी डा. पोखरेलले शैक्षिक संस्था र विद्यार्थीले लिएको ऋणको खासै प्रभावकारिता नदेखिएको बताए । ‘कतिपयले ऋण लिएर भवन बनाउँछन्, कतिपयले विदेश पनि पठाउँछन् होला,’ उनले भने, ‘शैक्षिक संस्थाहरूले लिएको कर्जा यहीँ प्रयोग हुन्छ, संघसंस्थाहरू यहाँबाट ऋण लिएर सीधै बाहिर लैजान पाउँदैनन् ।’
राष्ट्र बैंकका अनुसार ०८०/८१ मा विभिन्न बैंकमार्फत विभिन्न शैक्षिक संस्थाले ६२ अर्ब ३७ करोड ३५ लाख कर्जा सुविधा लिएका छन् । राष्ट्र बैंकले ऋण लिन चाहिने आवश्यक प्रक्रिया पूरा गरेपछि शैक्षिक संस्थाहरूलाई सहजै ऋण दिने गरेको छ । त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा ५८ अर्ब ३६ करोड दुई लाख ऋण लिएको राष्ट्र बैंकको तथ्यांक छ । आव ०७८/७९ मा शैक्षिक संस्थाहरूले ५७ अर्ब आठ करोड १६ लाख ऋण लिएका थिए ।
एक वर्षमा विदेश अध्ययनमा बाहिरियो एक खर्ब २५ अर्ब
पछिल्लो एक वर्षको अवधिमा विदेश अध्ययनमा जाने विद्यार्थीबाट एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ०८० साउनदेखि ०८१ असार मसान्तसम्ममा सो परिमाणको रकम बाहिरिएको हो । अघिल्लो वर्ष ०७९/८० मा एक खर्ब ४२ करोड रकम बाहिरिएको थियो । तर, अघिल्लो वर्षको भन्दा ०८/८१ मा २४ अर्व ८१ करोडहाराहारी बढी रकम बाहिरिएको छ । ०७८/७९ मा ६७ अर्ब ७० करोड १६ लाख, ०७७/७८ मा २४ अर्ब ९५ करोड ९४ लाख, ०७६/७७ मा २५ अर्ब ८१ करोड ३२ लाख र ०७५/७६ मा ४६ अर्ब २४ करोड तीन लाख बाहिरिएको थियो ।
वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार आव ०८०/८१ मा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जापान, क्यानडा, युके, अस्ट्रेलिया, अमेरिका, कोरिया, फ्रान्स, भारतलगायत देशका पुगेका छन् । जसमध्ये जापानमा ३४ हजार ७३१, क्यानडामा १५ हजार ९८२, अस्ट्रेलियामा १४ हजार ३७२, अमेरिकामा ११ हजार २६१, डेनमार्कमा एक हजार ७५४, भारतमा दुई हजार ३८९ र कोरियामा ६ हजार ८८९ पुगेका छन् । एनओसी लिन प्रतिव्यक्ति दुई हजार शुल्क तिर्नुपर्छ । त्यस्तै, युकेमा १३ हजार ३३९, युएईमा दुई हजार १४७, न्युजिल्यान्डमा एक हजार ४४६, फ्रान्समा एक हजार ४८९, फिनल्यान्डमा एक हजार ५३५ लगायत ६६ देशमा अध्ययनका लागि नेपाली विद्यार्थी पुगेका छन् ।
शाखाका अनुसार वैदेशिक अध्ययनमा गएका प्रतिविद्यार्थी औसत १३ लाख रुपैयाँ खर्च हुन्छ । पछिल्ला आवमा विदेश गएकामध्ये २८ हजार ८९१ विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि गएका छन् । त्यस्तै, जापनिज भाषामा ३३ हजार ६९७, बिजनेस विषयमा १० हजार दुई, सूचना प्रविधिमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, कम्प्युटर साइन्समा चार हजार ९९२, इन्जिनियरिङमा चार हजार ४२६, स्वास्थ्य विषयमा चार हजार १५९ र विज्ञान प्रविधि विषय अध्ययनका लागि चार हजार १०२ नेपाली विदेशिएको तथ्यांक छ । त्यस्तै, हस्पिटालिटीमा दुई हजार ५४३, मानविकीमा एक हजार ८१३, शिक्षाशास्त्रमा ४३६, कृषि विज्ञानमा ३९२ विद्यार्थी बाहिरिएका छन् ।
गुरुप्रसाद पौडेल, कार्यकारी निर्देशक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थासँग एउटा स्किम हुन्छ, विद्यार्थीले त्यही स्किमअनुसार ऋण लिन्छन्, कतिपय विदेशी विद्यार्थीले पनि ऋण लिन्छन् । अधिकांश विद्यार्थीले विदेश जाँदा ऋण लिएर जाने गरेका छन् र जान सक्छन्, नेपालकै कलेजमा पनि पढ्नका लागि कतिपय विद्यार्थीले बैंक र वित्तीय संस्थाबाट कर्जा लिन्छन्, वैदेशिक अध्ययनमा बाहिरिएको केही रकम विद्यार्थीले लिएको ऋणमध्येका पनि पर्छ ।
Published on: 20 August 2024 | Naya Patrika
GET IN TOUCH