s

ऋण काढेर विदेश, ऋण काढेरै स्वदेश

Year of Publication: 1 February 2024 | Nagarik

Published by: CESLAM

हेटौंडाका नाम भन्न नचाहने २९ वर्षीय युवकलाई म्यानमारको रोजगारीको प्रलोभनले तान्यो। ऋण काढेर त्यहाँको एउटा कल सेन्टरमा गएका उनी फर्कने बेलामा पनि ऋण काढेरै फर्केका छन्।

ती युवा हेटौंंडामै १२ कक्षा पास गरी ६ महिने कम्प्युटर तालिम लिइरहेका थिए। त्यही बेला उनको भेट एजेन्ट कविता गुरुङसँग भयो। कविताले नै उनलाई म्यानमारको एउटा कल सेन्टरमा काम गर्न जाने व्यवस्था मिलाएकी थिइन्।

कविताले उनलाई फोन उठाउने र इमेल जाँच गर्ने काम मात्र भएको बताएकी थिइन्। पाँचजनाको सीमित कोटा भएकाले छिटो जानुपर्ने कविताको सुझाव थियो। त्यसका लागि कम्प्युटर टाइप र अन्तर्वार्तामा पास भए सिधै म्यानमार जान सकिन्छ भन्ने थियो। मासिक तलब हजार अमेरिकी डलर (करिब एक लाख ३२ हजार रूपैयाँ) हुने कविताबाटै उनले आश्वासन पाएका थिए।

युवकका अनुसार काठमाडाैंको सानो भर्‍याङको आफू बस्ने घरमा कविताले दुईचारजना युवालाई बोलाई अंग्रेजी टाइप गर्न लगाएकी थिइन्। ‘तिमीहरूलाई मज्जाले अंग्रेजी टाइप गर्न आउने रहेछ,’ कविताले आफूहरूलाई भनेको सम्झिँदै ती युवकले भने, ‘मैले चेकजाँच गरेँ। ल अब तिमीहरू अन्तर्वार्तामा पास भयौ, बधाई छ। यत्तिको मान्छे भएपछि काम गर्न सकिन्छ। विदेश पुगेपछि राम्रो काम गर्दै गयौ भने पारिश्रमिक बढ्दै जान्छ। खाने र बस्ने व्यवस्थासमेत कम्पनीले नै व्यहोर्ने हुँदा कमाएको रकम सबै बचत हुन्छ।’

आफू पनि एक महिना म्यानमार गएर आएको उल्लेख गर्दै कविताले बिरामी भएकाले मात्र फर्कनुपरेको बताएकी थिइन्। ‘अहिले उपचार गर्दै छु,’ उनले भनेकी थिइन्, ‘सन्चो भएपछि तपाईहरूसँगै जाने हो।’

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा म्यानमारसम्बन्धी कुनै कागजात नदेखाई भारतको कोलकाता जान लागेको बताउन एजेन्ट कविताले सिकाएकी थिइन्। गत मंसिरमा युवाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको कोलाकाता, थाइल्यान्ड हुँदै म्यानमारको यांगुन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए। चिनियाँ मूलका व्यक्तिले म्यानमारस्थित कम्पनीमा पुर्‍याएको पीडित युवकले बताए।

युवकका अनुसार उनीहरूले एकएक थान कम्प्युटर र १० वटा जति मोबाइल दिए। उक्त डिभाइसमा फेसबुक, एम्स, ह्वाट्सएप र इन्स्टाग्राम जस्ता विभिन्न एप डाउनलोड गर्न लगाई सामाजिक सञ्जाल प्रयोग के कसरी गर्ने ? च्याट गर्दा के के बोल्ने? केके नबोल्ने? च्याट कसरी फर्काउने? कसरी अमेरिकी नागरिकलाई विट क्वाइनमा लगानी गर्ने भन्ने तालिमसमेत तिनले दिए।

तालिममा आफ्नो वास्तविक नाम, फोटो राखी कुरा गर्न हुन्न भनेर सिकाइएको थियो। तालिमका दौरान अनलाइन ठगी गर्ने कार्य अवैध भएको पीडितले थाहा पाएका थिए। ‘यस्तो काम नगर्ने बरु नेपाल फिर्ता गरिदिनू भन्दा आफूहरूलाई ६ हजार अमेरिकी डलरमा किनेको ती चिनियाँले बताएका थिए,’ उनले भने, ‘हामीले भनेअनुसारको काम गर नत्र ८ लाख रूपैयाँ बुझाएर घर जाऊ भनेका थिए।’

कमाउन भनी विदेश गएका उनीहरूसँग त्यत्रो पैसा नभएर चिनियाँ नागरिकले भनेअनुसार काम गर्न बाध्य भएका थिए। एक जनाका लागि १०/१२ वटा केटा र केटीका फेक आइडी तयार गरिएको पीडितले बताए।
हप्ता दिनभित्र अमेरिकी नागरिकलाई विट क्वाइनमा लगानी गर्न तयार बनाउन पथ्र्यो। यसरी फसाउन सकिएन भने शारीरिक तथा मानसिक यातना दिइन्थ्यो। अमरिकी नागरिकले लगानी गर्ने पक्का भएपछि अगाडिको प्रक्रिया चिनियाँ नागरिकले नै ह्यान्डल गर्ने गरेको पीडितले बताए।

उनीहरूले भनेअनुसार कामको लक्ष्य पुर्‍याउन नसके दुई–तीन सय पुसअप, सिटअप, फ्रग जम्प गर्न लगाउने, घाममा दौडाउने, कुटपिट गर्ने तथा करेन्ट लगाउनेसम्मको शारीरिक तथा मानसिक यातना सहनुपरेको म्यानमारबाट फर्केका पीडित युवकले बताए।

‘उनीहरूले सञ्चालन गरेको कम्पनीबाट बाहिर जान प्रतिबन्ध थियो,’ उनले भने, ‘सुरुसुरुमा तलब राम्रो नै थियो। पछि काम बढाउँदै गए। तलब पनि कम हुँदै गयो। पछि विनापारिश्रमिक १८–२० घण्टासम्म काम गर्नुपर्‍यो। यस्तो काम गर्न सकिँदैन, नेपाल फिर्ता पठाउनू भन्दा यहाँसम्म ल्याउँदा भएको ८/८ लाख रूपैयाँ खर्च तिर्न भनेका थिए। उनले भने, ‘पैसा नतिर्दासम्म हामीलाई काम गराइरहे। धेरै गाह्रो भएपछि हामी तीनजना साथी स्वदेशबाट ८/८ लाख रूपैयाँ मगाएर बुझाई नेपाल फर्केका हौं।’

चिनियाँ नागरिकले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देश लगेर अनलाइन ठगीमा लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्णप्रसाद पंगेनीले बताए।

‘ती देशमा लगेर अनलाइन ठगीको काममा लगाउने गरिन्छ,’ उनले भने, ‘तोकेअनुसार ठगी गर्न नसके शारीरिक र मानसिक यातना दिइन्छ। स्वदेश फर्कन खोज्दा पनि चिनियाँले लाखौं रूपैयाँ लिने गरेका छन्।’

स्वदेश फर्किएका युवा न्यायका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन गएका छन्। ‘अहिले अनलाइन स्क्यामिङको समस्या भयावह छ,’ पंगेनीले भने, ‘नेपालीलाई विभिन्न मुलुकमा पुर्‍याएर अनलाइन ठगीमा लगाउने गरेको उजुरी परेका छन्।

Published on: 1 February 2024 | Nagarik

Link

Back to list

;