s
Year of Publication: 16 October 2012 | Nagarik
Publication Type: NEWS
Published by: CESLAM
राजेन्द्र महर्जन
सानेपामा सार्वजनिक गाडी कुर्दै बस्दा बच्चा बोकेर बाटो पार गर्न खोजिरहेकी महिलातिर अचानक ध्यान गयो। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को कार्यालय जाने चक्रपथमा जोकोहीलाई पनि बाटो पार गर्न सजिलो छैन। ती महिला त झन् मास्क लगाएको बच्चालाई सम्हाल्दै, गाडीको लस्करबीच अन्ततः दुवै हात उठाउँदै बाटो पार गर्न सफल भइन्। ठूलो युद्ध जितेसरी बाटो पार गर्न सफल भएकाले लामो-लामो सास तान्दै उनले मकहाँ आएर रत्नपार्क जाने गाडी कतिखेर आउँछ भन्दै सोधिन्। उनको सोधाईबाट थाहा भयो- उनका लागि काठमाडौं नौलो शहर हो, अर्कै नेपाल हो। आफू पनि रत्नपार्ककै गाडी कुरिरहेकाले एकछिन कुर्न आग्रह गरें तर उनलाई भने निकै हतार रहेछ। उनको मनमा जिन्दगीको गाडी छुट्ला कि भन्ने त्रास थियो क्यारे।
नख्खु-रत्नपार्कको फुच्चे गाडी आएको संकेत गरेपछि उनी हतारिएर छिरिन्। म पनि छिरंे। गाडीमा बस्नासाथ उनी फत्फताउन थालिहालिन्- ‘यो मटर वीर अस्पताल रोक्छ? यो अभागी छोराले पनि खोक्याखोक्यै छ, डाँग्डरकहाँ जानुपर्ने। मेनपावरको लाइन पनि कति लामो, आठ बजेदेखि दुई बजेसम्म कुर्दा पनि पालै आएन। बच्चाले खोक्याखोक्यै गरेपछि लाइनै छाडेर निस्कंे, भाग्यै खोटो।'
पिँठ्युमा बोकिएको पाँच-छ वर्षको छोराको चिन्ता तामा रंगको अनुहारमा धर्साेका रुपमा कोरिएका छन्। ‘कुन देश जान लागेको नि?'- यस्सो अनुहार हेरेर सोध्दा उनले खोक्दै गरेको छोरालाई चुपो लाग्न संकेत गर्दै अज्ञानता जाहेर गरिन्- खै कुन देश भन्छ, कतर हो कि मलेस्या भन्छ। काम पनि पाले बस्ने हो कि हाउसमेड भन्छ। पैसा पनि कति लिने हो, थाहै छैन।
अन्तर्राष्ट्रिय श्रम संगठननजिकै रहेको मेनपावर एजेन्सीले नेपाली पुरुष र महिलालाई विदेशको श्रम बजारमा लान लाइन लगाएको छ, दशैंका खसी-बोका जस्तै। तर काठमाडौंको सरकारबाट खासै टाढा नभएको सानेपा क्षेत्रमा लाइनमा बस्ने ती महिलालाई थाहा छैन, कुन देशमा कुन कामका लागि आफूलाई लगिँदैछ, कति पैसा लिने र कति पैसा दिने पनि उनलाई ज्ञान छैन। उनलाई त जसरी भए पनि विदेश जानु छ, काम पाउनु छ, पैसा कमाउनु छ, छोराछोरीलाई पाल्नु छ र सम्भव भए ऋण दिने साहूबाट घर निखन्नु छ। नेपाल सरकार र श्रम संगठनहरूलाई यसबारे ज्ञान छ कि छैन, थाहा छैन।
नेपाल सरकार काठमाडौं उपत्यका अर्थात् पुरानो नेपालका बाटा चौडा गर्नमा ब्यस्त छ, राष्ट्रपिता भनिएका त्रिभुवनको नाममा रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुधार्ने तम्तयारीमा छ। अब त यस्तो लाग्छ- ती अधिकांश बाटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्त कतै जाँदैनन्, जहाँ दिनरात विदेशतिर उड्ने सपनाको लाइन लागेको लाग्यै छ। दैनिक १३ सयभन्दा बेसीको संख्यामा ‘नयाँ लाहुरे' हुनेहरूको सपनाको उडान खाडी देशमा कत्तिको सुरक्षित ढंगले अवतरण हुन्छ, मेनपावर एजेन्सीहरूलाई मतलब छैन। उनीहरूको सपना कहाँ कसरी दुर्घटनाग्रस्त हुन्छ, नेपाल सरकारलाई वास्ता छ कि छैन, थाहा छैन। वास्ता भएको भए दैनिक ३-४ वटा नेपाली लास फिर्ता, त्यत्तिकै संख्यामा आत्महत्या र बलात्कारको संख्यामात्रै गन्दै बस्ने थिएन होला। नख्खुदेखि रत्नपार्कसम्मको बसमा भेटिएकी उनी पनि विदेश गइसकेपछि कुन रुपरंगमा स्वदेश फिर्ने हो, कहालीलाग्दो प्रश्न मनमा उठ्यो। कुनै शेख र अमीर वा उनीहरूका कुनै प्रजाको बच्चा बोकेर घर फर्कने हुन् कि पागल ठहर्याएर कुनै जेलखानामा सडिने हुन्, श्रमिक निर्यात गर्ने देश र देशका शासकहरूलाई कुनै मतलब छैन।
लाहुरे सपनामा पनि वर्ग विभाजन
यतिखेर स्वदेशमा दशैं लागिसकेको छ, विदेशिएका नयाँ लाहुुरेका सपना र विपनालाई पनि चाडबाडको रमाइलोले छपक्कै छोपिसकेको छ। उनीहरू विमानस्थल र विभिन्न नाकाबाट गाउँघरतिर फर्कंदैछन्। काठमाडौंबाट बाहिरिने गाडीको लर्काे, विदेशबाट भारतीय भूमि र आकाशे मार्ग भएर स्वदेश फर्कनेहरूको लाइन हेर्दा चाडको मुड लागिसकेको देखिन्छ। तर उनलाई भने दशैं होइन, दशाजस्तै आएको दशैंमा पनि विदेशिने मोह लागेको रहेछ। दशैंलगत्तै विदेशिने सपना बोकेर मेनपावर एजेन्सी धाइरहेकी उनी नेपाली श्रमिक महिलाका प्रतिनिधि पात्र हुन्। किनभने पहिले पुरुषको लाहुरेकरण हुन्थ्यो, अहिले महिलाको पनि लाहुरेकरण व्यापक भएको छ, नयाँ लाहुरेकरणका क्रममा।
यसरी उनीजस्तै विदेशिने नेपालका अधिकांश नयाँ लाहुरेको सपना हो- रोजगार र आर्थिक समृद्धि खोजी गर्नु। नेपालभित्र त्यस्तो खोजी कठिन भएपछि दैनिक १३ सयभन्दा बेसी नेपाली नयाँ लाहुरे बनिरहेका छन्। आ-आफ्नो वर्ग, आर्थिक स्थिति र हैसियतअनुसार कोही खाडी मुलुकका त कोही मलेसिया र कोरियाका लाहुरे बनिरहेका छन्। अमेरिका, युरोप र अस्ट्रेलियाका लाहुरेको हैसियत र पहिचान भने बेग्लै छ। र, दशैंको मुखैमा आएको डिभी भर्ने मौसममा साइबर क्याफे र डिभी भर्न सघाउने एजेन्सीहरूका लाइन हेरियो भने उनीहरूको हैसियत अरु स्पष्ट हुनेछ। उनीहरूको सपनाको देश अमेरिकातिर उड्ने सपना र खाडी मुलुकतिर जानेहरूको सपनाबीच पनि वर्ग विभाजन छ। भारतीय शहर बेंगलोरमा राति वाचम्यानको काम गर्ने हजारौं बझांगी र अमेरिकाको बोस्टन शहरमा भारतीय रेस्टुरेन्ट, स्टोर, सब वेका पसल र फास्टफुडका पसलमा काम गर्ने बझांगीको वर्गीय हैसियत र वर्ग उन्नति भने फरक हुनु स्वाभाविकै हो। तर दुवैखाले हैसियत भएका नेपालीको सपनाले देखाएको सत्य हो- अब उनीहरूका लागि नेपाल सपनाको मुलुक रहेन। स्वदेशमा सपना फलाउन-फुलाउन नसक्ने देखेरै उनीहरूले विदेशिने निधो गरेकोमा कुनै द्विविधा छैन।
सपनाको देशमा लाहुरेकरण
समाजशास्त्री चैतन्य मिश्रका अनुसार कुनै जमानामा नेपाल विदेशीका लागि पनि सपनाको देश थियो। चारैतिरका छिमेकीले आफ्नो भविष्य खोज्न नेपाल आउने र यहीँ बसोबास गर्दै रोजगार गर्ने परम्परा कयौं शताब्दीसम्म चलेकै थियो। यहाँ सम्भावनाको ठूलो ढोका खुलेको देखेरै चारै दिशाबाट नेपाल छिरेका अनेक रुपरंग, जातजाति र धर्म सम्प्रदायका मानिसका सन्तान/दरसन्तान दशनंग्रा खियाएर बसेका थिए। भारत तिब्बत (चीन) को इन्टरपोट व्यापारबाट मालामाल हुने क्रममै काठमाडौं उपत्यका एक जमानामा विश्वकै उत्कृष्ट र विकसित शहरका रुपमा विकास भएको थियो। उपत्यकाका तिनै वैभव र व्यापारमाथि कब्जा जमाउने, नेपालका महाराजा हुने र तराईका जमिन दोहन गर्ने लोभवश नै गोरखाली राजाले राज्य विस्तार गरेका थिए।
‘जति जमिन जित्न सक्छौं, त्यति जमिन पाउँछौं, जति सम्पत्ति लुट्न सक्छौं, त्यसमा भाग लाग्छ!'- यस्तै आश्वासन र आश्वासनअनुसारको बाँडफाँटबाट लोभिएर पहाडका किसान गोरखाली राज्य विस्तारका लागि मर्न/मार्न तयार भएका थिए। ‘फौज पेटको बलमा हिँड्छ' भन्ने जानकारी भएका शाह र उनका उत्तराधिकारीले ती किसानलाई मर्न/मार्न तयार पारेर लडाइँमा पठाउन अनेक जुक्ति-बुद्धि प्रयोग गरेका थिए। लडाइँ जितेपछि ठूलो जागिर, धेरै जमिन पाइने, दर्जा/इज्जत बढ्ने, मरेमा आफ्ना सन्तानले मरोट पाउने व्यवस्था त्यसकै अंग थिए।
सरदार भीमबहादुर पाँडेका अनुसार ‘फौजको आधार थियो जमिन र जमिनगुनाको फौज थियो। जति धेरै जमिन सरकारले आर्जन गर्न सक्यो, उति ठूलो फौज जम्न सक्ने गुन्जायस थियो।... जमिनकै लोभ देखाएर पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले कति राजारजौटा र भारदारलाई नेपालमा मिलाएथे। गोरखा फौजमा भर्ती लिने क्रम घटेपछि नेपालीहरू लागेका हुन् लाहोरतिर।'
अमेरिकी मानवशास्त्री स्टेफन माइकसेलका अनुसार शाह राजाहरूको नेतृत्वमा सन् १७६९ मा काठमाडौंमा गोरखाली झन्डा फहराएका जमिनका भोका तिनै गोरखाली सिपाहीको भूमि र सम्पत्ति विस्तार सन् १८१६ ब्रिटिस साम्राज्य र नेपाली राज्यबीच भएको सुगौली सन्धिपछि रोकियो। त्यसपछि राजा, राजपरिवार, भारदार र कुलीनहरू खुम्चिएको राज्यभित्रकै जमिनजस्तो स्रोतसाधन र श्रममा कब्जाका लागि लडभिड गर्न लागे। तागाधारी सम्भ्रान्त वर्गचाहिँ देशभित्रकै गोरखाली सेनामाथि कब्जा जमाइबस्यो भने केही मानिस उत्तरपूर्वी भारततिर बसाइँ र श्रम सराईमा लागे। तर, शाह र राणा शासकले मतवालीहरूमा तामाङबाहेक अन्य जातजातिका मानिसलाई नेपालबाहिर गोरखाली फौजमा भर्ती हुन प्रेरित गरे, दबाब दिए, आदेशै दिएर लाखौंलाई मर्न/मार्न पठाए। अनि, आफ्ना शासनप्रति ब्रिटिस साम्राज्यको मान्यता, त्यस्तो शासनको सुरक्षाका लागि हतियार र आर्थिक सहयोग साटासाट गरे।
‘पुस एण्ड पुल फ्याक्टर'
तागाधारी सम्भ्रान्त वर्गका दरबारियाका आन्तरिक लडाइँका सिकार भएका असन्तुष्ट लडाकु पनि महाराजा रणजित सिंहको पञ्जाबअन्तर्गत रहेको लाहोरतिर लागे, लाहुरे बन्न। उनीहरूकै शोषण र उत्पीडनको मारमा परेका रैती पनि मुग्लाने हुन गए, मुगलहरूको शासन चल्ने देशतिर। सैन्य विस्तारका आधारमा विस्तार गरिएको गोरखाली अर्थतन्त्र खस्किन थालेपछि राज्यबाट बाहिर रहेका मतवाली जातका जनता ब्रिटिस साम्राज्य शासित भारततिर बसाइँ सराई र श्रम सराईतिर उद्यत भए, बहादुर वा कान्छाका नाममा। केहीलाई गुर्खाजका नाममा सैनिकमा भर्ती गर्ने तथा अरु देश र जनताविरुद्ध मात्रै होइन, नेपालविरुद्ध समेत प्रयोग गरियो, लडाकुयन्त्रका रुपमा, लडाइँका गोलाबारुदका रुपमा।
पुराना लाहुरेका रुपमा विदेशिने चलन समाप्त भएको छैन तर नयाँ लाहुरेको उत्पादन र निर्यात भने तीव्र भएको छ अनि त्यसबाट मालामाल भएका छन्, सीमित शासक सम्भ्रान्त वर्गका मानिस। देशभित्र सत्ता, शक्ति र सम्पत्तिमाथि सीमित समूहको एकाधिकार भएपछि उत्पीडन, बहिष्करण र सीमान्तीकरणका क्रममा जनजनका लागि बसाइँ सराई मात्रै होइन, श्रम सराईमा जानुको विकल्प रहँदैन। त्यसमा पनि पहिले ब्रिटिस साम्राज्य र ब्रिटिस अधीनस्थ भारतले युद्धको चारा बनाउन नेपाली श्रमिकलाई लोभ्याउने र तान्ने काम गरेका थिए भने अचेल विश्वव्यापी पुँजीको बजारले लोभ्याइरहेकै छ। देशभित्र रगत, पसिना र आँसु बगाएर भए पनि खानपुग्ने वातावरण बन्न नदिई विदेशतिर धकेल्ने शासकीय प्रपञ्च र विदेशबाट विश्वव्यापी पुँजीवादी बजारले लोभ्याएर तानिरहने खेल जारी रहेको बेला नयाँ लाहुरेकरण तीव्र भएको हो।
नयाँ लाहुरेकरणले गर्दा विश्वव्यापी श्रम बजारमा नेपालीको पहुँच स्थापित भएको छ र नयाँ लाहुरेले पठाएको रेमिट्यान्सले गाउँघरमा केही गरिबी घटेको पनि छ। तर रेमिट्यान्सका कारण सबैभन्दा बेसी त सम्भ्रान्त शासक वर्गको गरिबी घटेको छ। नेपाली श्रम दोहनका लागि धकेल्ने र तान्ने (पुस एण्ड पुल) राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलको मारमा परेका लाखौं नेपाली श्रमिकका हक, हित र अधिकार स्थापित गर्नेखालको संरचनागत गरिबी घटेको छैन, न त शासक र सरकारहरूको वैचारिक र राजनीतिक दरिद्रताको ग्राफै कम भएको छ। नयाँ नेपाल बनाउने सपना बोकेर लडेका मानिससमेत नयाँ लाहुरे बन्न विवश हुन थालेको स्थितिमा दुइटा नेपाल कतिञ्जेल थेगिरहन सकिन्छ भन्ने प्रश्न अनुत्तरितै छ।
Published on: 16 October 2012 | Nagarik
GET IN TOUCH