s
Year of Publication: 25 January 2024 | Onlinekhabar
Published by: CESLAM
१० माघ, काठमाडौं । युद्धले मान्छेको ज्यानमात्रै लिदैन, सँगैसँगै परिवार पनि उजाडिन्छ । श्रीमतीको सिउँदो खोसिन्छ, आमाको काख रित्तिन्छ ।
रसुवा नौकुण्ड गाउँपालिका– ५ की ६० वर्षकी पवित्रा तामाङको पनि युद्धले सबैथोक खोस्यो । जीवनमा उनले यस्तो वियोगान्त भोगिन्, २० वर्षअघि नेपालको सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाइन्, अहिले रुस-युक्रेन युद्धमा छोरा ।
‘युद्धले मेरा श्रीमान् र छोरा खोस्यो’ उनले भनिन्, ‘मसँग अब रुनलाई आँसु बाहेक केही छैन ।’
****
सशस्त्र द्वन्द्वको त्रासदीपूर्ण दिनहरु । संकटकाल, विद्रोही पक्ष माओवादी र सेना प्रहरीको जगजगी ।
भारतीय सेनामा थिए पवित्राका श्रीमान् कमानसिंह । बेला बखत उनी घर आउने जाने गरिरहन्थे । ०६० सालमा परिवारलाई भेट्न घर आएका बेला गाउँमा कसैले माओवादीलाई सुराकी लगाइदिए । चैत २६ गते माओवादी लडाकूहरुले घरमै आएर खुकरी प्रहार गरी ज्यान लिए ।
अनाकहमा श्रीमान मारिएपछि पवित्राका दुःखका दिन सुरु भए । ‘श्रीमानको सहारा खोसिएपछि साना बालबच्चा च्यापेर बसें’ आफ्नो विगत सम्झदै उनले भनिन्, ‘त्यसपछि मेरो जीवन पहिले जस्तो रहेन । मेरो दिन र रात रोएरै बिते ।’
मनभरि खत बोकेर भएपनि उनले सन्तान हुर्काउने अठोट लिइन् । अनेक दुःख, अभाव झेलेर भएपनि एक्लै तीन छोरा र दुई छोरीलाई हुर्काइन्, पढाइन् ।
पाँच सन्तानमध्ये कान्छा छोरा थिए, ३७ वर्षका सुन्दर मोक्तान । जब उनी १६ पुगे, फौजी बाबुको बाटो पच्छाउँदै नेपाली सेनामा भर्ना भए । १० वर्ष भन्दा बढी जागिर गरे । त्यसपछि सेनाको जागिर छाडेर बैदेशिक रोजगारीका लागि मलेसिया गए । चार वर्षपछि फर्केर आई निर्माण व्यवसायमा लागे । पछिल्ला दिनहरुमा उनी पेटी ठेकेदार (सब कन्ट्र्याटर) का रुपमा काम गर्दै आएका थिए ।
उनकी श्रीमती भने रोजगारीका लागि चार वर्षदेखि ओमानमा थिइन् । १२ वर्षकी छोरी र ८ वर्षका छोरासहित सुन्दर, आमासँग बस्दै आएका थिए ।
गत भदौको अन्तिमतिर पवित्रालाई डेंगु संक्रमण भयो । काठमाडौंमा रहेकी जेठी छोरी राधिकाकोमा बसेर उपचार गराउँदै थिइन् । त्यही बेला गाउँबाट आएर सुन्दरले आमालाई भेटे ।
‘ठेक्कापट्टा गरिरहेका छोराले एकाएक क्रोएसिया जान्छु भन्यो । कमाउन जान्छु भनेको छोरालाई रोक्न पनि मिलेन । जाँदा मेरो खुट्टा ढोकेर गयो’, पवित्राले छोरासँगको अन्तिम भेट सम्झिन्, ‘उसँगको भेट त्यति नै रहेछ ।’
आमालाई आफ्नो बालबच्चाको पनि जिम्मा लगाएर गएका उनी त क्रोएसिया होइन, रुस पुगेका थिए ।
पवित्राले पछि थाहा पाइन् । ‘युद्धमा बल्लतल्ल जोगाएको छोरा फेरि युद्ध लड्न गएछ’, उनले भनिन्, ‘थाहा पा’को भए नजा भन्थे, रोक्थेँ होला । के गर्नु एजेन्टले फसायो होला ।’
युद्धबाट जोगाएको छोरा परदेशमा युद्ध लड्न गएको कुराले उनलाई दिनरात खाइरहन्थ्यो । रुसी सेनामा भर्ना भएपछि छोरा सुन्दरसँग उनको जम्माजम्मी दुई पटक कुरा भयो । फोनमा कुरा हुँदा उनी एक वचन पनि नभनी किन गएको भनेर सोधिरहिन्थन् । घर फर्कन भन्दै पटक पटक सम्झाइरहन्थिइन् ।
‘यहाँ आएपछि फर्कन मिल्दैन आमा, छोराछोरी हेरिदिनुहोला भन्थ्यो’, अन्तिम संवाद सम्झिइन् उनले ।
मंसिरको अन्तिम सातापछि पवित्राको छोरासँग सम्पर्क टुट्यो । उनको मनले ठाउँ छोड्यो । पुस १३ गते भने विदेशमा रहेका माइला छोराले भाइ सुन्दरको मृत्यु भएको खबर पठाए । सुन्दरसँग गएका साथी कुमार तामाङले उनको मृत्युको खबर दाइलाई पठाएका रहेछन् । पवित्राले कुमारसँग कुरा गर्न चाहिन्, सम्पर्क हुन सकेन ।
छोराको मृत्यु भएको अपुष्ट खबर आएपछि पवित्रा अत्तालिँदै रसुवाबाट काठमाडौं हान्निइन् । रुसी दूतावासमा पुगिन्, छोरा फर्कादेऊ भनेर रोइकराइ गरिन् । ‘मेरो छोरा कहाँ छ भनेर दूतावासमा पुगेर झगडा नै गरेँ’ उनले भनिन्, ‘उनीहरुले अस्पतालमा छ, उपचार भइरा’छ भनेर मलाई ढाटिरहें ।’
माघ ५ गते भने सुन्दरकै साथी कुमारले उनको शवको फोटो र अस्पतालले दिएको मृत्युको प्रमाणपत्र परिवारलाई पठाइदिए । ‘श्रीमान् मारिएपछि सन्तानको मुख हेरेर मन बुझाएको थिएँ’, पवित्राले भनिन्, ‘त्यही छोरा पनि परदेशको युद्धमा बित्यो । मेरो त संसार नै रित्तियो ।’
छोरा मृत्युको खबर आएयता उनले आफूलाई सम्हाल्न सकेकी छैनन् । बोल्दाबोल्दै आँखाका छेउकुना रसाइहाल्छ । मंगलबार काठमाडौंबाट रसुवा फकर्ने तयारीमा रहेकी उनले हत्केलाले आँसु पुछ्दै भनिन्, ‘श्रीमान गुमाउँदा मेरो मनमा लागेको घाउ फेरि बल्झियो । अब केही सहन सक्दिन ।’
शव ल्याइदेऊ
रुस–युक्रेन युद्धमा परेर सुन्दरले ज्यान गुमाएको एक महिना बितिसकेको छ । परिवारले माघ ५ गते आधिकारिक खबर पायो, तर अझैसम्म शव पाएको छैन ।
परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा भर्ना भएका १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर कसैको पनि शव ल्याउन सकिएको छैन । कतिपय परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
पवित्रा भने छोराको शव नपाएसम्म अन्तिम संस्कार गर्न तयार छैनन् । छोराको शव हेरेर मात्र अन्तिम संस्कार गर्ने अडान लिएकी छन् । शव नेपाल ल्याउन सक्दैन भने रसिया सरकारले सम्मानका साथ अन्त्येष्टि गरिदिओस् भन्ने चाहन्छिन् उनी ।
आमा पवित्राको अडान छ, ‘मेरो छोरा युद्धमा गएर मरेको हो, गोरु मरेझैं खाल्डो खनेर राख्न पाइँदैन ।’
***
श्रीमानको मृत्युको खबर सुनेर पातली थिङ हप्तादिन अघिमात्र ओमानबाट नेपाल आइपुगेकी छन् । उनी श्रीमानका साथी कुमार तामाङले रुसबाट पठाएको शवको फोटो, अनि दुई साना बच्चा हेर्दाै एक तमास टोलाइरहन्छिन् ।
‘आफैंले पत्याउन सकेकी छैन’ उनी भन्छिन्, ‘बाबु बिते भनेर साना बच्चालाई के गरी सम्झाउने होला ?’
श्रीमानको शव आउने नआउने अनिश्चयले झन् पीडा थपेको छ । ‘अरु केही नभएपनि शव त चाहियो नि !’ पातली भन्छिन्् ‘बचाएर फर्काउन त सकिएन, अन्तिम पटक भए पनि देख्न पाउनुपर्यो ।’
सुन्दरले रुस जान एजेन्टलाई बुझाउन ८ लाख रुपैयाँ भन्दा बढी ऋण लिएको पाइएको छ ।
त्यसअघि पनि ठेक्का पट्टा गर्दा लिएको ऋण बाँकी छ । श्रीमानको मृत्युको शोकमा रहेकी उनलाई त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । सरकारले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन भूमिका खेले उनीहरुको घाउमा थोरै भए पनि मलम हुनेछ ।
Published on: 25 January 2024 | Onlinekhabar
GET IN TOUCH