s
Year of Publication: 1 February 2024 | Kantipur
Published by: CESLAM
दोलखा — १६ वर्ष उमेर टेकेकी सिता थापालाई प्रत्यक्ष रुपमा आफ्नो बुबाको अनुहार कस्तो छ पत्तो छैन । कालिञ्चोक गाउँपालिका–६ लेप्टुङकी उनी २ वर्षकी छँदा आमाको काखमा राखेर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । चाडवाड होस या विद्यालयमा अभिभावक दिवस सबैका अभिभावक देख्दा उनी भने आफ्नो बुबा सम्झेर भक्कानिन्छिन् ।
२०६६ सालमा रोजगारीको सिलसिलामा मलेसिया गएका ४० वर्षका मानबहादुर थापा विगत १४ बर्षदेखि बेपत्ता छन् । उनको परिवार हरेक दिन उनी फर्कन्छन् कि भनेर बाटो हरेर बसेका हुन्छन् । मलेसिया गएको २ वर्षसम्म घरमा उनले रकम पनि पठाए । तर एकाएक त्यसपछि भने उनी सम्पर्कविहीन बने । ‘अरुका बुबाले हात समातेर स्कुल लैजाँदा मेरा पनि बुबा छन् भन्ने लाग्छ, आमासँग बुबा खै भन्दै रुन्थे,’ उनले भनिन्, ‘तर कहिल्यै म र दिदीले बुबाको न्यानो काख र औंला समाएर विद्यालय जान पाएनौं, बुबा फर्कनुहुन्छ कि भनेर हरेक दिन दोबाटोमा पुगेर फर्कन्छु ।’
बुबा नहुँदा सानै उमेरबाट निकै कष्ट सहनु परेको उनले बताइन् । हाल स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सिताले बुबाको अनुहार आफूलाई सम्झना नभएको बताईन । लामो समय छोरा सम्पर्कमा नआएपछि उनका बुबा इन्द्रबहादुर विभिन्न निकायमा छोरा सम्पर्कबिहीन बनेको भनेर खोजिदिन धाए ।
विगत १२ बर्षदेखि छोरा खोज्दै उनले ७ लाख जति रकमसमेत खर्च गरिसके तर उनले छोरो फेला पार्न नसकिएको उनले बताए । छोरा खोजिदिने भन्दै उनी धेरै पटक दलालको चंगुलमा समेत फसेर रकम खर्च भएको सुनाउँछन् । उमरेर ७० टेक्नै लागेका उनी छोरो खोजिदिन आग्रह गर्दै अहिले पनि परराष्ट्रदेखि स्थानीय तह धाईरहेका छन् । ‘घरको जेठोबाठो छोरा कमाउन विदेश गएको त्यो पनि सम्पर्कमा नआएको १२ वर्ष भयो,’ उनले भने, ‘छोरा खोज्दै भौतारिएर कहिले दलाल त कहिले सरकारी अड्डा सबैतिर धाए कतैबाट छोरो खोजिदिने पहल भएन ।’
छोरा खोजिदिने नाममा दलालले धेरै दुःख दिएको उनले बताए । ‘काठमाडौंबाट तपाईंको मान्छे भेटियो पैसा बोकेर आउनु भन्नछन्,’ उनले सुनाए, ‘ऋण गरेर छोरो लिन जान्छु, तर दलालले रकम दिएपछि मात्रै छोरो फिर्ता हुन्छ भनेर झुक्याउँछ ।’
पटक पटक आफू र बुहारीलाई छोरो भेटियो भन्दै काठमाडौं बोलाएर दलालले रकम माग्दै रित्तो हात फर्काउने गरेको उनले गुनासो गरे । दलालले कतिपटक अस्पताल लगेर तपाईंको छोराको शव हो भन्दै चिनाउने गरेको उनले बताए ।
‘कतिपटक तपाईंको छोराको शव आउँदैछ लिन आउनु भनेर दलालले फोन गरेर बोलाउँथ्यो,’ उनले भने हतास हुँदै काठमाडौं पुग्थे तर रकम अभावमा आउन पाएन भनेर फर्काईन्थ्यो ।’ यति रकम भए छोरा फर्काउने भन्दै रकम खोज्न भनेर घर फर्काउने गरेको उनले बताए । १२ वर्षदेखि यसरी नै मलाई दलालले दुःख दिएको उनले बताए ।
पैसा सबै सकिएपछि एक वर्षदेखि छोरो खोज्न नहिँडेको उनले बताए । पीडितलाई थप पीडा दिएर घर-घरमा रित्तो हात फर्कंदा आमा,बुहारी र छोरीको बलिन्द्र धारा हेरेर निकै कष्ट हुने उनले बताए । घरमा रुवावासी नभएको दिन नहुने उनले बताए ।
मान बहादुरकी आमा ईन्द्रकुमारी कोही झोला बोकेर गाँउ आए छोरो फर्क्यो की भनेर टोलाउँछिन् । ‘आज आउँछ की भोलि आउँछ भनेर बाटो हेरेर बस्छु,’ उनले भनिन, ‘मनमा सन्तोक छैन, दिमागले काम गर्न छाडिसक्यो, छोरोको यादमा आँखाको पानी पनि सुकिसक्यो ।’
२०६६ सालमा खुम्बु ओभरसिज नामको म्यानपावरबाट रोजगारीका लागि मानबहादुर मलेसिया गएका थिए । हाल उक्त म्यानपावर कम्पनी छैन । ईन्द्रकुमारीका ३ भाई छोरा मध्ये उनी जेठा छोरा हुन् । नावालक २ छोरी छोडेर रोजगारीका लागि मलेसिया गएका उनी वेपत्ता भएपछि श्रीमती कमलाले निकै कष्ट सहेर छोरी हुर्काएको बताईन् । श्रीमान खोज्न ऋण काढेर ससुरा र बुहारी १२ वर्षदेखि राज्यका हरेक निकायमा धाएको उनले बताईन् । घरमा छोरीहरुले सानोमा बुबा खाई भनेर सोध्दा निकै पीडा हुने गरेको उनले बताईन् । ‘चाडवाड लागेपछि बुबाको भइदिएको भए भन्दै छोरीहरुको रुवाबासी चल्छ, मन थाम्न सक्दिन कुना पसेर म पनि भक्कानिन्छु,’ उनले भनिन्, ‘हामी जस्तो कतै केहि नबुझेका मान्छेको कोही हुँदोरहेनछ ।’
श्रीमान खोज्दिन्छौं भन्दै धेरै दलालले फसाएको उनले बताईन । ‘ पैसा नभएका कारण एक वर्ष भयो श्रीमानको खोजी गर्न छाडेको,’ उनले भनिन्, ऋण काढेको पैसा तिर्न सकेका छैनौं, श्रीमान खोज्न कस्ले ऋण दिन्छ ।’ यतिखेर अन्य देशमा संकटमा परेका नेपाली नागरिक सरकारले विदेशबाट उद्धार गरिरहेको सुनेको उनले बताईन् । ‘श्रमका लागि स्वीकृति लिएर मलेसिया गएका मेरा श्रीमान पनि सरकारले खोजिदिन्छ की भन्ने आस छ,’ उनले भनिन, तर कहाँ र कस्ले खोजिदिन्छ त्यो ठाउँ आफूलाई जानकारी नभएकाले थप अन्यौलमा परेको छु ।’ सबै तिर हारगुहार गरेपनि कसैले श्रीमान खोजिदिन सहयोग नगरेको उनले बताईन ।
Published on: 1 February 2024 | Kantipur
GET IN TOUCH