दुर्गा न्यौपाने
सिन्धुपाल्चोक, ठूलो पाखरकी विष्णुमाया तामाङ हिजोआज गलैंचा कारखानामा काम गरेबापत मासिक १५-१८ हजार रुपैयाँ आम्दानी गर्छिन् । तैपनि उनलाई नेपालमा बस्न मन छैन । हुर्कंदै गरेका दुई बच्चाबच्ची छाडेर सवा दुई वर्ष साउदी बसी पोहोर साल गाउँ र्फकेकी उनका श्रीमान् दिनहुँ जाँडरक्सी खाएर परिवारमा वितन्डा मच्चाउँछन् । बाहिर अर्की श्रीमती लिएर हिंँड्छन् । टाउकामा लोग्नेले कुटेको चोट देखाउँदै उनले पीडा पोखिन् । विदेशमा मासिक नौ हजार कमाइ गर्ने विष्णु घरेलु हिंसा सहन नसकेर पुनः छोराछोरी, वृद्ध बा-आमालाई छोडी विदेशिने सुरसारमा छिन् ।
नुवाकोट पीपलटारकी मीना क्षत्री -नाम परिवर्तन) को व्यथा पनि कम दर्दनाक छैन । १३ वर्षको उमेरमा घरमा अर्की श्रीमती छँदाछँदैको केटासँग उनको बिहे भयो । दुई छोराछोरीकी आमा मीना, श्रीमान् र घरपरिवारसँग छुट्टएिर बसेको १२ वर्ष भयो । ज्यामी, मजदुरी गर्दै बालबच्चा हुर्काउँदै गरेकी यिनी करिव तीन वर्ष छोराछोरीलाई मामाघर छाडेर लेबनान बसिन् । हाल यिनी छुट्टीमा स्वदेश फर्किएकी छन्, बिरामी शरीर लिएर । चिकित्सकले यिनको पाठेघरमा दोस्रो स्टेजको क्यान्सर भएको प्रमाणित गरेका छन् । उताको कमाइ उपचारमा खचर्ंदै छिन् । घरमा अंश मुद्दा चल्दैछ । तर विडम्बना, उनमा अझै विदेश गई कमाएर आफ्नो र छोराछोरीको खर्च टार्ने चाहना ज्युँकात्युँ छ ।
काँडाघारी पेप्सीकोला नजिक बस्ने काखमा दुधे बच्चा खेलाउँदै गरेकी पार्वती श्रेष्ठले जेनतेन एसएलसी पास गरिन् । एकताका गृहजिल्ला सिन्धुपाल्चोकमा उनी सानोतिनो खासा व्यापार गर्थिन् । घरकी जेठी छोरी, कमजोर आर्थिक अवस्थाले पढाइ अघि बढाउनुको सट्टा आफ्नी बहिनीसमेतको उमेर बढाई राहदानी बनाएर दुवैजना दलालको माध्यमबाट कुवेत पुगे । एजेन्टले कम्पनीमा काम गर्ने भनी पठाए । उता विमानस्थलमा केही दिन कुराएपछि मान्छे लिन आए । कपडा दोकानमा काम गर्ने भनेर लगेको घरको काममा राखिदिए । उक्त घरबाट भागेकाले उनलाई केेही दिन हिरासतमा बस्नुपर्योभ । विदेशको ज्यादै तीतो अनुभूति छ, पार्वतीलाई । कुन्नि के कारणले हो, आफूसँगै विदेशिएकी बहिनी काम गरेको घरबाट बेपत्ता भइन् । साथीहरूले खोजखबर गरे, पत्तो लागेन । तीन वर्षपछि उनी सिन्धुपाल्चोक फर्किइन्, तर बहिनीको मरे-ज्युँदो थाहा भएन । एकदिन बहिनी राममाया अचानक घरको आँगनमा देखापरिन् । बुबा बेहोस हुनुभयो । थाहा लाग्यो, यिनी तीन वर्ष कुवेत जेलमा परिछन् । हाल राममाया डिप्रेसनकी बिमारी छन् ।
घरको हिंसा र गरिबीले दपेेटिएका धेरै नेपाली महिला वैदेशिक रोजगारमा लाग्न बाध्य छन् । अस्थायी कामदारको रूपमा परिवार र आफ्नो भविष्यलाई आर्थिक टेवा पुर्यामउनमात्र हैन, घरेलु हिंसाबाट मुक्त हुन, लैङ्गकि, सांस्कृतिक, सामाजिक शोषण र पुरातनवादी मूल्य-मान्यताबाट छुटकारा पाउनका लागि पनि नेपाली महिला विदेशिने क्रम बढ्दो छ । 'तावाबाट खसेर भुङ्ग्रोमा' भनेझैं विदेशमा झनै सुरक्षित छैनन्, नेपाली घरेलु कामदार महिलाहरू । लेबनानमा साढे दुई वर्ष बिताएर स्वदेश र्फकेकी पौरखी संस्था सिन्धुपाल्चोकमा कार्यरत डोल्मा तामाङ, वैदेशिक रोजगारका क्रममा सुरुदेखि अन्त्यसम्मै महिला कामदार हिंसामा पर्ने कुरालाई सकार्छिन् । स्वदेशमै दलालले अनावश्यक कमिसन खोज्छन्, कतिपय अवस्थामा आफ्नै परिवारका मान्यजनले विदेश पठाउन दबाब सिर्जना गर्छन् । हिंसा विमानस्थलमै हुन्छ । सेल्टर होममा भेडा-बाख्राजस्तो गरी घर मालिकको पर्खाइमा धेरै संख्यामा लामो समय कुराउँछन् । तोकेजति तलब नदिएर ज्यालामा शोषण हुन्छ । पकाएर साहुको परिवारलाई ख्वाउने हामी कतिपय अवस्थामा भोकै पर्छाै । जाडोमा न्यानोसँग बस्न पाइन्न र बिरामी पर्दा राम्रो उपचार हुन्न । कहीं त आफ्नो धर्म पनि छिपाएर उनीहरूकै धर्ममार्गी हुँ भन्नुपर्ने बाध्यता छ, उनको कथन छ ।
यौनजन्य हिंसाबारे प्रश्न गर्दा नुवाकोटकी मीना क्षत्रीको बुझाइमा विदेशमा यस्ता कुराहरू आफूमै भरपर्ने गर्छन् । तर केेही महिला काम गर्न बसेको घरका साहु-साहुनीले अन्य घरमा पठाएर देहव्यापारमा लाग्न बाध्य पारेका उदाहरणहरू पनि उनले उल्लेख गरिन् ।
धनुषा कनकपट्टीका मनोज पासवानका एकै घरका दुई दाजुभाइ खाडी मुलुकमा छन् । उनी भन्छन्, 'यहाँ लोग्नेमान्छे विदेश जानु सामाजिक बाध्यता छ, नत्र समाजले नालायक ठान्छ । उनीहरूको अनुपस्थितिमा केही जग्गा बाँझै छ । खेतमा काम गर्ने बानी छुट्यो, उल्टै खेताला खोजेर खेतीपाती गर्छाै र स्वदेशको महँंगीले विदेश नपसे परिवार भोकै पर्ने उनको दुखेसो छ ।' उनको संस्कारमा छोरा विदेश जाँदा बुहारीलाई माइत जान दिइँदैन र घरमा राम्रो खाना पनि ख्वाइन्न । लोग्नेको अनुपस्थितिमा श्रीमतीहरू विविध बल्झाइमा पर्छन् ।
वैदेशिक रोजगारले सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक-नकारात्मक दुवै प्रभाव छोडेको राय जनकपुर अञ्चल अस्पतालका अहेव सूर्यनारायण मण्डलको छ । हाडनाता करणी र गर्भपतनमा वृद्धि, फस्टाउँदो दहेज प्रथा, पारिवारिक विखण्डन, जमिनदारहरूले जग्गा प्लटिङ गरी चर्काे दरमा बेच्ने गरेकाले धनी र गरिब बीचको खाडल अझै फराकिलो हँुदै गएको साथै निर्माणकार्यका लागि मिस्त्रीको अभावमा छिमेकी देशबाट ज्यामी मिस्त्री झिकाउनुपर्ने जस्ता समस्या रहेको मण्डल बताउँछन् ।
गरिबी र बेरोजगारी वर्तमान नेपालको जुम्ल्याहा समस्या हुन् । यी समस्याहरूसँग जुध्नका लागि हाल धेरै नेपाली विदेशिने क्रम जारी छ । वैदेशिक रोजगार विभागको अभिलेखअनुुसार हालसम्म नेपालबाट श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २० लाख नाघिसकेको छ । यसमा महिलाको संख्यामा वृद्धि भैरहेछ । आ.व. २०६८/६९ को तथ्याङ्कअनुसार विदेशिने जम्मा ३,८४,६६५ जनामध्ये २२,९५८ जना महिला छन् । यो सन्दर्भमा कैयन् समस्या हुँदाहुँदै पनि वैदेशिक रोेजगार देशको आर्थिक स्रोतको मेरुदण्ड बनेको कुरामा विमति छैन । हालैको नेपाल जीवनस्तर सर्वेक्षणअनुसार करिब ५५.८ प्रतिशत नेपाली घरधुरीले विप्रेषण आय भित्र्याउने गर्छन् । जसअनुसार नेपाल कुल गार्हस्थ उत्पादनमा आप्रवासन विप्रेषणको योगदानका आधारमा विश्वका माथिल्ला देशमध्ये पाँचांै स्थानमा परेको छ । हाल दैनिक सरदर १००० भन्दा बढी नेपालीहरू रोजगारी खातिर मुलुक बाहिर निस्कन्छन् । उल्लेखित संख्यामध्ये महिला कामदारहरूको संख्या करिव ११ देखि १५ प्रतिशतसम्म रहेको अनुमान छ । प्रतिवर्ष नेपालको श्रम बजारमा चार लाखको हाराहारीमा युवाहरू रोजगार बजारमा आउने गरेको पाइन्छ । तसर्थ स्वदेशमा दिगो रूपमा रोजगारका अवसरहरू सिर्जना नहुन्जेलसम्म वैदेशिक रोजगारमा लाग्नेको यो शृङ्खला रोकिनेवाला छैन ।
अन्तरिम संविधान-२०६३ ले रोजगारीको अधिकारलाई मौलिक अधिकारका रूपमा राखेको छ । सरकारले आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना २०६८ र सुशासन कार्ययोजना २०६८ मा पनि रोजगार वृद्धिमा जोड दिएको छ । चालु आर्थिक वर्षलाई लगानी वर्षका रूपमा घोषण गरेको छ । सरकारको यस तत्परतालाई व्यावहारिक बनाउन खास-खास संवेदनशील क्षेत्रमा रोजगारका विशेष प्याकेज कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । यसले गर्दा हिंसाबाट मुक्ति पाउन विदेश ताक्ने प्रवृत्तिबाट महिलालाई निरुत्साहित गर्न सकोस् । महिलाहरूलाई कानुनी उल्झनबाट मुक्त गरी आर्थिक सशक्तीकरणका कार्यक्रमद्वारा आत्मनिर्भर बनाई विदेश पलायन हुनबाट रोक्न र हिंसाबाट बचाउन सकिन्छ ।
विदेशमा कामको प्रकृति र बसाइका हिसाबले विशेषतः खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाहरू बढी शोषण र हिंसामा पर्ने गरेका उदाहरणहरू छन् । त्यतिमात्र नभई स्वदेशमा फर्किएपछि पनि सामाजिक लाञ्छना, श्रीमान्-श्रीमतीबीच वैमनस्यताजस्ता समस्याले थप हिंसा भित्रिएको छ, जसको परिणाम एकपटक वैदेशिक रोजगारमा गएकामध्ये धेरै महिला पुनः विदेश र्फकने गरेको तथ्याङ्कले देखाएको छ । छोरा, बुहारी, छोरीहरू विदेशिंँदा केटाकेटीको हेरचाहमा वृद्धवृद्धा आमा-बा, सासू-ससुरालाई थप बोझ भइरहेको छ । यसले गर्दा पारिवारिक विखण्डन, चर्काे व्याजदरको ऋण भार, आश्रति परिवारजन कुलतमा फस्ने सम्भावना आदि सामाजिक समस्याहरू पनि देखिन थालेका छन् । अतः वैदेशिक रोजगारका कारण कमजोर हुँदै गएका मूल्य-मान्यतालाई बेलैमा पहिचान गरी सुधार्नु र महिलामाथि हुने गरेका हिंसा रोक्नका लागि सरकारी र अन्य सम्बन्धित निकायहरूले ध्यान दिनु जरुरी छ ।
लेखक गरिबी निवारण कोषकी सञ्चालक समिति सदस्य हुन् ।
Published on: 7 November 2012 | Kantipur
GET IN TOUCH