s

माघमा एक्कासि घट्यो रेमिट्यान्स, आन्तरिक अर्थतन्त्रको शिथिलता कायमै

Year of Publication: 11 March 2024 | Onlinekhabar

Published by: CESLAM

२७ फागुन, काठमाडौं । यो आर्थिक वर्ष सुरु भएपछि मासिक १ खर्ब २२ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेकोमा माघमा आएर त्यसमा ब्रेक लागेको छ । विगत ६ महिनामा उच्च रफ्तारमा बढिरहेको रेमिट्यान्स माघमा किन घट्यो भनेर नीतिनिर्माताहरुलाई झस्काएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । पुससम्म ७ खर्ब ३३ खर्ब रेमिट्यान्स आएकोमा माघमा थप १ खर्ब ६ अर्ब रेमिट्यान्स आएको छ । जुन चालु आर्थिक वर्ष (आव) को मासिक औसतभन्दा कम हो । गत आवमा मासिक औसत १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन चालु आवको भन्दा कम थियो ।

नेपालमा ब्याजदर घट्को क्रममा रहेको र आयात सामान्य रुपमा बढ्ने संकेत देखिएको कारण पनि रमिट्यान्समा केही कमी देखिएको हुनसक्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

‘ब्याजदर घट्दा रेमिट्यान्स पठाउन प्रोत्साहन कम हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘अघिल्ला महिनामा रेमिट्यान्स बढी नै आएकाले माघमा घटेको पनि हुनसक्छ ।’ बैंकिङ क्षेत्र जोखिममा रहेको भन्दै अफवाह फैलाउन प्रयास भएकोले त्यसको कारण पनि वैदेशिक रोजगारीमा रहेकाहरुले माघमा रेमिट्यान्स कम पठाएको हुनसक्ने श्रेष्ठ बताउँछन् ।

सुनको आयात पनि घटेको भन्दै उनले रेमिट्यान्सको पैसा सुनमा लगानी भएर आएको हुनसक्ने पनि श्रेष्ठ बताउँछन् ।

‘आपैचारिक माध्यममा सुनको आयात पनि घटेको देखिन्छ । सुनको मूल्य लगातार बढिरहेको छ । यस्तोमा रेमिट्यान्स घटेको देखिँदा सुनमा लगानी गर्दा फाइदा हुन्छ भन्ने सोच पनि हुनसक्छ,’ श्रेष्ठ भन्छन् । यद्यपि, एक महिनाको तथ्यांककै आधारमा निष्कर्षमा भने पुग्न नसकिने उनले बताए ।

आन्तरिक अर्थतन्त्रको सिथिलता कायमै

मुलुकको आान्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता भने कायमै रहेको देखिन्छ । सरकारको राजस्वमा केही सुधार देखिएको छ । तर, पूँजीगत खर्चको वृद्धिदर उत्साहजनक छैन । आयात बढ्न सकेको छैन भने निजी क्षेत्रका प्रवाह हुने कर्जा पनि खासै विस्तार भएको छैन ।

गत आर्थिक वर्ष २०७९/८० को माघमा १३.०३ प्रतिशतको उच्च विन्दुमा पुगेको कर्जाको भारित औसत ब्याजदर करिब २ प्रतिशत विन्दुले घटेर ११.०८ प्रतिशतमा आइसकेको छ । कर्जाको ब्याजदर उल्लेख्य रुपमा घटेको, राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिलाई क्रमशः लचिलो बनाउँदै लगेको छ ।

यद्यपि, आन्तरिक आर्थिक गतिविधि, विशेष गरेर वास्तविक क्षेत्रमा देखिएको समस्या सुधार नहुँदा सरकारी वित्तमा दबाब छ भने बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीसमेत प्रभावित बन्दै गएको छ ।

राष्ट्र बैंकले गत साउनमा मौद्रिक नीति सार्वजनिक गर्दै गर्दा चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको थियो । यस्तै कम्तीमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने पुग्ने विदेशी विनिमय सञ्चिति कायम राख्नु मौद्रिक नीतिको लक्ष्य हुने मौद्रिक नीतिमा उल्लेख थियो ।

यस्तै विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार हुने प्रक्षेपणसहित मौद्रिक नीति तर्जुमा गरेको थियो ।

तर, आर्थिक वर्षको ७ महिना सकिँदा ४ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । यसले कर्जा विस्तारको लक्ष्य प्राप्त हुने सम्भावना देखिन्न । विस्तृत मुद्राप्रदाय, मुद्रास्फीति र विदेशी विनियम सञ्चितिको अवस्था भने मौद्रिक नीतिको लक्ष्यअनुरुप नै रहेका छन् ।

विस्तृत मुद्राप्रदाय ७ प्रतिशतले विस्तार भएको छ भने बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य स्रोत रहेको छ ।

कस्तो देखियो माघसम्मको आर्थिक अवस्था ?

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखेकोमा माघ महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको माघ महिनामा यो ७.८८ प्रतिशत थियो । माघमा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२.३३ प्रतिशतले घटेको राष्ट्र बैैंकले जनाएको छ ।

यस्तै माघमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ । यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १.४१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्रा सञ्चितिले १२.३ महिनाको आयात धान्नसक्ने

चालु आर्थिक वर्षको ७ महिनामै विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले वढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स घटे पनि लगातार बढ्दै शोधनान्तर बचत

रेमिट्यान्समा आएको उच्च सुधारकै कारण चालु आर्थिक वर्षको सुरुवातबाट नै चालु खाता र शोधनान्तर स्थिति बचतमा छ । यस्तै विदेशी विनियम सञ्चिति लगातार रुपमा बढिरहेको छ । माघमा रेमिट्यान्स केही कम भए पनि अर्थतन्त्रका बाह्य क्षेत्र थप सबल बन्दै गएको छ ।

माघमा शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंककको तथ्यांकले देखाएको छ । पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता बचत माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ ।

गत आव २०७९/८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो ।

चालु खाताको बचतको वृद्धिमा रोक लागे पनि माघमा शोधनान्तर स्थितिमा थप सुधार भएर करिब ३ खर्ब बचतमा पुगेको छ । माघ मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सात महिनामा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा थियो । पुस मसान्तमा २ खर्ब ७३ अर्ब ५२ करोड बचतमा रहेको शोधनान्तर स्थिति माघमा पनि थप बढेको हो ।

ब्याजदर घट्यो, कर्जा बढेन

कर्जाको ब्याजदर उच्च हुँदा व्यावसायिक वातावरण बिग्रिएको र कर्जामो माग समेत हुन नसकेको निजी क्षेत्रको गुनासो छ । तर, गत आव ब्याजदर उच्च विन्दुमा पुगेको ब्याजदर २ प्रतिशत विन्दुले तल आइसकेको छ । बैंकहरुले पछिल्ल्लो समय राम्रो परियोजना र आवासीय घर कर्जा एकल अंकको ब्याजमा नै दिइरहेका छन् ।

२०७९ माघ र फागुनमा वाणिज्य बैंकहरुको कर्जाको भारित अँैसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो । चालु आवको माघ मसान्तमा आउँदा कर्जाको भारित औसत ब्याजदर घटेर ११.०८ प्रतिशतमा झरिसकेको छ । कोभिडअगाडि पनि ११.८० प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर त्यसभन्दा धेरै तल झरिसक्दा समेत कजाको मागमा खासै सुधार देखिएको छैन ।

निजी क्षेत्रमा पहिल्यै धेरै कर्जा गइसकेकाले अहिले कर्जाको माग नभएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बताउँछन् । केही दिन अगाडि नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा उनले अहिले बैंकिङ क्षेत्रको वास्तविक अवस्था बाहिर आएको बताए । चालुपूँजी कर्जा मार्गदर्शले बैंकिङ क्षेत्र सुदृढ भएको उनको तर्क छ ।

Published on: 11 March 2024 | Onlinekhabar

Link

Back to list

;