s

अस्तु आयो, आएन क्षतिपूर्ति

Year of Publication: 12 August 2024 | Kantipur

Published by: CESLAM

पोखरा र धनुषा — सोचेजस्तै भइदिएको भए स्याङ्जाका प्रितम कार्की यति बेला रुसमा ‘पीआर’ पाएर परिवार उतै लैजान नेपाल आउने तयारी गरिरहेका हुन्थे । उनी उडेको १० महिनामा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको अस्तु आइपुग्यो । रुस–युक्रेन युद्धमा मारिएका प्रितमको अस्तु लिन उनकी श्रीमती रिमा काठमाडौं जान सकिनन् ।

‘देवर नाता पर्नेले बुझेर बिहीबार पशुपति आर्यघाटमा सेलाए,’ पति वियोगमा विक्षिप्त उनले भनिन्, ‘खरानी ल्याएर के गर्ने, मान्छे ल्याउन पाएको भए पो !’

पुतलीबजार नगरपालिका–५ ठूलोस्वाँराका प्रितमले पाँच वर्षअघि ३५ वर्षको उमेरमा नेपाली सेनाबाट अवकाश लिएका थिए । त्यसपछि पोखरामा सुरक्षा गार्डका रूपमा १० महिना काम गरे । दलालमार्फत सुरक्षा गार्डमै काम गर्ने गरी अफगानिस्तान पुगे । कोरोना महामारीले लकडाउन सुरु भएपछि १० महिना काम पाएनन् । काम मिलेको ८ महिनामा बिदामा आए । आउने–जाने गरेर झन्डै तीन वर्ष अफगानिस्तानमा बिताए । २०८० भदौमा उनी दुई महिनाको बिदामा घर फर्किए । रुसी सेनामा भर्ती हुने योजना बनेको त्यति बेलै हो । तर घरमा केही सुइँको दिएनन् ।

प्रितम असोजको दोस्रो साता काठमाडौं पुगे । असोज १५ मा रुस जाने टिकट काटेर श्रीमतीलाई सुनाए । ‘दलालले एक वर्षमा पीआर बन्छ, परिवार उतै लैजान पाइन्छ, कमाइ पनि राम्रो हुन्छ भनेको रहेछ,’ रिमाले सुनाइन्, ‘लडाइँ चलेको छ, यस्तो खतरा हुन्छ भन्ने थाहा पाएको भए जानै दिने थिइनँ ।’ उनी गइसकेपछि भने आफन्त, छिमेकी, नातागोताले ‘त्यस्तो लडाइँ चलेका बेला किन रुस पठाएको ?’ भनेर प्रश्न गर्न थाले । त्यसपछि रिमाले प्रितमलाई सोधिन् । उनले हल्ला मात्रै भएको दोहोर्‍याइरहे ।

‘केही खतरा छैन, अरूको कुरा नसुन । अहिले तालिम मात्रै चलेको छ, लडाइँमा जान पर्दैन भन्नुहुन्थ्यो । गएको मान्छेले हुँदै होइन भनेपछि होइन होला भन्ने भयो,’ उनले भनिन्, ‘पछि थाहा भयो, हामीले चिन्ता नलिऊन् भनेर त्यसो भन्नुभएको रहेछ ।’

प्रितमले ९–१० दिन बिराएर घरमा फोन गर्थे । अन्तिमपल्ट कात्तिक २९ मा भाइटीकाको दिन घरमा बुबा, आमा, श्रीमती र पोखरामा रहेकी दिदी देवीसँग उनको कुरा भएको थियो । उनले हातमा पिलो आएकाले अस्पताल भर्ना भएर आराम गरिरहेको बताएका थिए । त्यतिबेला उनलाई गोली लागेको हुन सक्ने परिवारलाई शंका छ । त्यसपछि प्रितमको फोन आएन । भ्वाइस म्यासेजको जवाफ पनि आएन । मंसिर पहिलो साता परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले वडालाई प्रितमको मृत्यु भएको चिठी पठायो । मंसिर १० मा उनकी दिदीले पनि खबर पाइन् । मंसिर ११ मा आफन्तले प्रितमको लडाइँका क्रममा एम्बुसमा परेर मृत्यु भएको खबर सुनाइदिए । उनका आमा इन्द्रकुमारी र श्रीमती रिमा अचेत भए ।

भोलिपल्ट कुशको शव बनाएर हिन्दु परम्पराअनुसार प्रितमको दाहसंस्कार भयो । ‘कात्तिक २९ कोबेलुका ६ बजेसम्म हामीसँग बोल्नुभएको थियो, राति ११ बजे त्यस्तो घटना भएछ,’ रिमाले भनिन्, ‘लास ल्याउने कि के गर्ने ? डीएनए जाँच गरेर ल्याउँदा ६ महिना, वर्ष दिन पनि लाग्न सक्छ, १५–२० लाख रुपैयाँ लाग्छ, ल्याउन सक्छौ कि भनेर सोधे । बच्चा साना छन्, यिनलाई पढाउने कि लास ल्याएको खर्च बेहोर्ने भनेर भो भनें ।’

प्रितम दलाललाई ७ लाख रुपैयाँ बुझाएर रुस पुगेका थिए । कोसँग सम्पर्क गरे, कसरी पुगे भन्ने परिवारलाई थाहा छैन । ‘उहाँ पनि भ्रममा पर्नुभयो । पहिला समाचार पनि त्यतिसारो आउँथेन । एक वर्षमा कार्ड बनाएर परिवार लैजान पाइन्छ, सबै जना सँगै भइएला भनेर जानुभएको हो । म गएर मर्छु, परिवारको चिलबिल पार्छु भनेर जानुभएको होइन,’ रिमाले भनिन् । उनको ठूलो छोरा ११ वर्षीय प्रशान्त पोखराको सैनिक आवासीय विद्यालयमा कक्षा ६ मा पढ्छन् । कान्छो छोरा ६ वर्षीय प्रमिश स्याङ्जामै यूकेजीमा पढ्छन् ।

छोराको सम्झनामा ६२ वर्षीया इन्द्रकुमारीको आँसु रोकिएको छैन । प्रितमका बुबा हरिबहादुर कार्की ६६ वर्ष पुगिसकेका छन् । गाउँमा खेतीकिसानी र प्रितमको आधा पेन्सनबाहेक आम्दानीको उपाय छैन । घरछेउमै बाटो आउने भएपछि केही जग्गा बाटोलाई दियौं ।

‘गाडी आयो । सुविधा भयो । तर खेती गर्ने जमिन गयो,’ इन्द्रकुमारीले भनिन्, ‘एउटै छोरो छ कमाएको छ, बाटाकै छेउमा बसम्ला भनेर हामीले हुन्छ भन्यौं । अहिले छोरा नै छैन ।’ अस्तिसम्म पनि उनलाई छोराको मृत्यु भएको विश्वासै लागेको थिएन । आफ्नै आँखाले शव नदेखेकाले छोरा ‘आमा’ भन्दै टुप्लुक्क आइपुग्छ कि भन्ने उनको मनमा थियो । अस्पतालको पनि चिठी आयो । मंगलबार अस्तु आउने खबर आयो । बुधबार अस्तु नै आयो । ‘बमले शरीर चौटाचौटा भएको छ भन्थे,’ उनले भनिन् ।

३३ वर्षीया रिमाको काँधमा दुई छोराको शिक्षादीक्षा, सासू–ससुराको पालनपोषणको जिम्मेवारी छ । भनेजस्तो जागिर पाएकी छैनन् । जुन देशका लागि लड्यो त्यही देशले शव पनि पठाउन नसकेकामा उनको मन खिन्न छ । ‘शव पठाउन सकेन, अस्तुसम्म आयो,’ उनले भनिन्, ‘अब क्षतिपूर्ति पाएदेखि बालबच्चा हुर्काउन सजिलो हुन्थ्यो । कहिले आउँछ खै ?’

रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लडेर ज्यान गुमाएका पाँच जनाको अस्तु बुधबार नेपाल आइपुगेको थियो । पोखराका २६ वर्षीय देवान राई, स्याङ्जाकै वालिङ नगरपालिका–१४ का २३ वर्षीय हरिप्रसाद अर्याल, स्याङ्जाकै भीरकोट नगरपालिकाका गणेश श्रेष्ठ र धनुषाका अनित साहको अस्तु बिहीबार आफन्तले बुझेर विसर्जन गरेका छन् ।

काठको डिब्बामा जवान छोरा

रुस–युक्रेन युद्धमा छोरा गुमाएको घाउ पुरिँदै गएको ठानेका थिए पोखराका धनराज र लक्ष्मी राईले । छोरा देवनको मृत्यु भएको १० महिनापछि अस्तु आइपुग्यो । बिहीबार काठमाडौं पुगेर धनराजले २६ वर्षीय देवनको अस्तु बुझे । बिहीबार नै पशुपति आर्यघाटमा अस्तु विसर्जन गर्दा उनले मनमनै सोचे, ‘एकपल्ट भए पनि अनुहार हेर्न पाएको भए हुन्थ्यो ।’ तीन दशकअघि उदयपुरबाट पोखरा आएका धनराज राईले यतै घरबार जोडे । ज्याला मजदुरी गरेर दुई सन्तान हुर्काए । पोखरा–१३ कमलपोखरीमा घर बनाए । जेठो छोरा दक्षिण कोरिया गएर कमाउन थालेपछि धनराजले पोखराकै रानीपौवामा किराना पसल चलाउन थाले । कान्छो छोरा देवनले भने रुस–युक्रेन युद्धमा ज्यान गुमाए । ‘कमाउने बेलाको जवान छोरा काठको सानो डिब्बामा आउँदा मन थाम्न सकेको छैन,’ धनराजले भने, ‘उसकी आमालाई सम्हाल्न पनि मन थामेजस्तो गरेर हिँड्नुपर्ने बाध्यता छ ।’

विद्यार्थी भिसामा रुस पुगेका देवन आकर्षक कमाइ हुने देखेपछि ०८० वैशाखमा रुसी सेनामा भर्ती भएका थिए । उनी कुनै खतरा नरहेको घरमा बताउँथे । देवनसँग अन्तिमपल्ट असोज १७ मा धनराजको कुरा भएको थियो । आफू बसिरहेको क्याम्पबाट १५ दिनका लागि अर्को क्याम्पमा जाने र त्यहाँ फोन, इन्टरनेट केही नहुने जानकारी देवनले परिवारलाई गराएका थिए । त्यसपछि उनको कहिल्यै फोन आएन ।

रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लड्दालड्दै असोज २२ मा देवनको मृत्यु भएको खबर मंसिर १ मा आयो । छोराको शव ल्याइदिन धनराजले परराष्ट्र मन्त्रालयमा निवेदन दिए । शव आउने आशामा कहिले रुसस्थित नेपाली दूतावासमा फोन घुमाए, कहिले परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग धाए । दुई महिनाको पर्खाइपछि रुसस्थित नेपाली दूतावासले शव पठाउन नसक्ने टुंगो दियो । शव ल्याउन सम्भव नभएपछि परिवारको सहमतिमा देवनको शव फागुन ३ मा रुसमा जलाइयो । अस्तु आउन ढिला हुने देखेपछि देवनको परिवारले गत फागुन १५ मा पुर्ख्यौली थलो उदयपुरको लिङचुङबुङ पुगेर किराती परम्पराअनुसार दाहसंस्कार गर्‍यो । ‘हाम्रो शव गाड्ने, त्यसमाथि वरको चौतारो चिन्ने, केरा सार्ने परम्परा हो, त्यसैअनुसार गर्‍यौं,’ धनराजले सुनाए ।

पहिला सम्पर्कविहीन हुँदाको निराशा, फेरि मृत्युको खबर, शव नआएको दुःख र अहिले अस्तुको आगमन । यी घटनाक्रमले चाहेर पनि छोरालाई दिलदिमागबाट हटाउन नसकेको धनराज बताउँछन् । ‘सबै एकैपल्ट परेको भए बिर्सिंदै जान सजिलो हुन्थ्यो । यस्तो हुँदा सम्झाइराख्ने रहेछ,’ शुक्रबार उनले भने, ‘अब फेरि क्षतिपूर्ति नटुँगिँदासम्म फेरि तनाव हुने होला । यो पीडा कहिले अन्त्य हुन्छ खै ×π’ कन्सुलर विभागले मृतकको परिवारलाई रुसले क्षतिपूर्ति दिने आश्वासन दिए पनि कहिले पाउने, कति पाउने भन्ने केही टुंगो छैन । ‘नेपाल सरकारले वास्ता गरेको छैन । रुससँग घरीघरी कुरा गरिराखे त पाइन्थ्यो होला,’ उनले भने, ‘बीचमा दलालहरू थुप्रै हुन्छन् रे । खाइदिने पो हो कि π’

लाहुरे बन्ने रहरले टिकटकबाट रुस

भारतीय सेनामा छनोटको अन्तिम समयमा पैसा मागिएपछि स्याङ्जाका गणेश श्रेष्ठ लाहुरे हुनबाट वञ्चित भए । लाहुरे हुने रहर मरिसकेको थिएन । टिकटक लाइभमा दलालले रुसी सेनामा भर्ती हुने बाटो देखाए । टिकटकमा भेटिएका तिनै नेपाली दलाललाई ६ लाख रुपैयाँ बुझाएर भीरकोट नगरपालिका–४ छाङछाङ्दीका ३२ वर्षीय गणेश गत कात्तिक ३ मा रुस पुगे । पारिवारिक स्रोतका अनुसार दलालले एक वर्षमा ‘पीआर’ पाएर परिवार लैजान पाइने, ८ महिना हिउँ जम्ने भएकाले युद्धमा जानु नपर्ने, ‘रेड जोन’ मा नगई कम तलब लिएर ‘ग्रिन जोन’ मा पनि बस्न पाइने लोभ गणेशलाई देखाएका थिए । कतारमा तीन वर्षको बसाइ बिट मारेर दाइ दीपक श्रेष्ठसँगै मिलेर स्याङ्जाको बयरघारीमा चलाएको दाना पसल र कुखुरा फार्म घाटामा गएपछि उनले रुसी सेनामा भर्ती हुने बाटो रोजेका थिए ।

रुसी सेनामा भर्ती भएको १५ दिनपछि गणेशले सम्झौतामा हस्ताक्षर गरे । उक्त सम्झौतामा मासिक १ लाख ९२ हजार रुबेल (करिब २ लाख रुपैयाँ) तलब, युद्धमा अंगभंग भए ३० लाख रुबेल (करिब साढे ४ लाख रुपैयाँ) र ज्यान गए १ करोड ३० लाख रुबेल (करिब २ करोड रुपैयाँ) दिइने उल्लेख थियो । अन्तिमपल्ट मंसिर १७ मा उनको परिवारसँग सम्पर्क भएको थियो । ७२ वर्षीया आमा, दाइ, भाउजू र दुई दिदीलाई उनले अब तीन दिनको यात्रा गरेर लडाइँमा जान लागेको र मोबाइल अफ हुने बताएका थिए । फर्किएपछि आएको तलब ५–६ लाख रुपैयाँ घर पठाउने उनको भनाइ थियो । त्यसपछि उनी सम्पर्कविहीन भए । उनीसँगै युद्धमा रहेका नेपालीले उनी घाइते भएको र अस्पताल लगिएको जानकारी परिवारलाई दिए । त्यसपछि कुनै खबर थिएन । चैतमा एक्कासि उनको मृत्यु भइसकेको खबर रुसमा रहेको नेपाली दूतावासमार्फत आयो । दूतावासमा आएको जानकारीअनुसार युद्ध क्षेत्रमा जाँदै गर्दा मंसिर १८ मा युक्रेनी सेनाको आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए । सैनिक अस्पतालमा उपचारका क्रममा मंसिर २६ मा उनको मृत्यु भयो । परिवारको स्वीकृतिमा असार २६ मा शव दहन भयो । उनको अस्तु पनि बुधबार नेपाल आइपुग्यो । उनकी भाउजू सुमी श्रेष्ठले अस्तु बुझिन् । बिहीबार पशुपति आर्यघाटमा विसर्जन गरिन् । ‘घरमा बुढी आमा रोगी हुनुहुन्छ, छोराको पीरले केही होला कि भनेर डर लाग्छ,’ उनले भनिन् ।

खतराबारे जान्दा ढिला भइसकेको थियो

ब्यारेक जानुअघि स्याङ्जाका गणेश श्रेष्ठ र हरिप्रसाद अर्याल १५ दिन एउटै कोठामा बसेका थिए । वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद नेपाली सेनाको जागिर छाडेर त्यहाँ पुगेका थिए । रुसी सेनामा रहेका गोरखाका सन्दीप थपलियाको युद्धका क्रममा मृत्यु भएको खबर थाहा पाएपछि गणेश र हरिको परिवारले दुवै जनालाई नेपाल फर्कन आग्रह गरे । तर हरिप्रसादले परिवारलाई भन्ने गर्थे, ‘नेपालको जागिर चिप्लियो, यता दलाललाई पैसा बुझाएर आइयो, अब जे होला होला ।’

मस्कोमा बस्दा कुनै खतरा महसुस नगरेका उनले बन्दुक चलाउने तालिम लिए । १५ दिनको तालिम सकिएपछि जब युद्धमैदानमा परिचालित भए, तब मात्रै खतरा महसुस गरे । रुसी सेनाको सम्झौतामा हस्ताक्षर गरेर पोसाक लगाइसकेपछि एक वर्ष छाड्न नपाइने उनले थाहा पाए । त्यतिन्जेल धेरै ढिला भइसकेको थियो । हरिप्रसादले भाइटीकाको दिन गत कात्तिक २९ मा आमा, बुबा, दिदी, भाउजूसँग झन्डै डेढ घण्टा ‘भिडियो कल’ गरेका थिए । नेपालबाट दुबई हुँदै कात्तिक ३ मा रुस पुगेका उनी ५ दिनमै रुसी सेनामा भर्ती भएका थिए । पछिल्लोपल्ट मंसिर १८ मा फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले ‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै’ लेखेका थिए । मंसिर १९ सम्म उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि भने सम्पर्कविहीन भए ।

दाजु राजुले सोधीखोजी गरे । रुसी सेनामै रहेका नेपालीले हरिप्रसादलाई बचाउन नसकिएको सन्देश पठाए । राजुले पत्याएनन् । पुस १७ मा परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले वडाध्यक्ष बोधराज कुँवरलाई आधिकारिक जानकारी गराएपछि मात्रै राजुले घरपरिवारमा भाइको मृत्यु भएको खबर सुनाए ।

१२ कक्षा उत्तीर्ण गरेका हरिप्रसाद १८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका थिए । बुबा भारतीय पेन्सनर, दुई दाइ कमल र राजु दुबईमा रोजगार थिए । नेपाली सेनाको कमाइले हरिप्रसादलाई चित्त बुझेन । दक्षिण कोरिया जान भाषा सिके, परीक्षा दिए तर नाम निस्किएन । ओमन प्रहरी र कुवेतमा समेत आवेदन भरे । त्यता पनि असफल भएपछि उनी विरक्तिएका थिए । भाइलाई दुबई नै बोलाउने तयारी भइरहँदा कसैलाई खबर नगरी रुस पुगेको राजुले बताए । ‘घरपरिवारको सरसल्लाहमा जान्छु भनेर गएको पनि होइन, एक्कासि त्यस्तो सुन्नुपर्‍यो,’ उनले भने, ‘सेनाको जागिर छोडेपछि यता हुन्छ कि उता हुन्छ कि भन्दाभन्दै कतै नभएपछि रुस गएको होला ।’ हरिप्रसादको परिवारले पनि उनको उतै सतगत् गर्न वडाबाट कागजपत्र कन्सुलर विभाग हुँदै रुसस्थित नेपाली दूतावासमा पठायो । माघ ५ मा कुशको शव बनाएर नेपालमा दाहसंस्कार भयो । उनको अस्तु बिहीबार आफन्तले पशुपति आर्यघाटमा विसर्जन गरे ।

लकेटले चिनायो शव

ओभरसियर पढिसकेपछि २२ वर्षीय अनित साहले इन्जिनियर पढ्ने सोच बनाए । कम खर्चमा राम्रो अवसर पाइने सुनेपछि उनले रुस जाने योजना बनाए । ६ लाख रुपैयाँ खर्च गरेर उनी एक वर्षअघि रुस गए । त्यहाँ गएको ५ महिनापछि साथीहरूसँगै रुसी सेनामा भर्ती भए । परिवारजनले सेनामा भर्ना भएको थाहा पाएपछि फिर्ता हुन आग्रह गरेका थिए । सेनामा भर्ती भएको २ महिनासम्म अनित नियमितजसो परिवारको सम्पर्कमा थिए । ‘एक वर्षका लागि सेनामा भर्ती भइसकें, अहिले फिर्ता हुन दिँदैन, ५/७ महिना त क्याम्पमै तालिम हुन्छ भन्थ्यो,’ अमिनका दाजु अमितले भने, ‘भर्ती भएको दुई महिनासम्म कुराकानी हुन्थ्यो । सम्पर्क हुन छाडेको ४ महिनासम्म केही अत्तोपत्तो नै भएन ।’

महोत्तरीको सोनमा घर भई धनुषाको धनुषाधाम नगरपालिका–८ भिमान बस्दै आएको अनितको परिवारमा बुबाआमा र दाजु छन् । अनितको अस्तु बुधबार आइपुग्यो । काठमाडौंमा अस्तु बुझेर दाजु अमितले बिहीबार पशुपतिमा सेलाएका छन् । ‘मेरो भाइ पढ्न गएको थियो । २०/२२ जनाको समूहलाई त्यहाँको दलालले रुसी सेनामा भर्ना गराएको रहेछ,’ अमितले भने, ‘सम्पर्कविहीन भएको थाहा पाउनासाथ खोजीका लागि सरकारसित आग्रह गर्दा केही गरिदिएन ।’ साथीहरूको सम्पर्कबाट ४ महिनापछि मात्रै भाइको मृत्यु भएको खबर पाएको उनले बताए । घरबाट हिँड्दा भाइले लगाएको लकेट (सिक्री) दूतावासले देखाएपछि मृत्युको यकिन गरेको र काजकिरिया गरेको अमितले सुनाए । दूतावासले दाहसंस्कार गर्नु अगाडि शव देखाउने भने पनि अन्तिम संस्कार गरेको दुई दिनपछि मात्रै खबर गरेको उनको भनाइ छ । ‘पढ्न भनेर गएको भाइको लाससम्म देख्न पाएनौं,’ अमितले भने ।

Published on: 12 August 2024 | Kantipur

Link

Back to list

;