s
Year of Publication: 15 July 2024 | Naya Patrika
Published by: CESLAM
जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रगतिको वर्तमान गतिले प्रविधिले अर्थव्यवस्था, व्यवसाय र समाजलाई कसरी प्रभाव पार्छ भनी पूर्वानुमान गर्न कठिन बनाएको छ । केचाहिँ स्पष्ट देखिन्छ भने एआईका नयाँ अनुप्रयोगले थोरैलाई अथाह लाभ पुर्याउनेछ, रोजगारीको संख्या घटाउनेछ र सरकारहरूका सामुन्ने ठूला नीतिगत चुनौती प्रस्तुत गर्नेछ ।
अब आर्थिक वृद्धिका तीन प्रमुख घटक पुँजी, श्रम र उत्पादकत्वलाई एआईले कसरी प्रभाव पार्छ, त्यो हेरौँ । पुँजीको सन्दर्भमा एआई इनोभेसनहरूका लागि विशाल लगानी आवश्यक पर्ने हुँदा यसबाट लाभान्वित हुनेहरू पनि त्यो परिमाणमा लगानी जुटाउन सक्ने तीनै थोरै फर्महरू नै हुनेछन् । अर्थात्, त्यो संख्या निकै साँघुरो र अधिक केन्द्रित हुनेछ । आ–आफ्ना बजारमा एकाधिकार जमाएका ठूला प्रविधि कम्पनी मात्र लार्ज ल्यांगवेज मोडेल (एलएलएम)हरूको विकास र प्रशिक्षणसँग सम्बन्धित विशाल लागत वहन गर्न समर्थ हुनेछन् ।
यस्तो लागतमध्ये पनि ठूलो लागत उन्नत ग्राफिक्स प्रोसेसिङ युनिट (जिपियू)को सञ्चालन र विशाल डेटा सेन्टरहरूको पावरिङ र कुलिङमा जानेछ । मल्टिभर्सका प्रमुख टेक्नोलोजी अफिसर साम मुगेलका अनुसार एलएलएमको अर्काे पुस्तालाई तालिम दिन कम्तीमा एक अर्ब डलर खर्च हुनेछ । सन् २०२३ मा मात्र संयुक्त राज्य अमेरिकाका शीर्ष सात प्रविधि कम्पनी (म्याग्निफिसेन्ट सेभेन)ले अनुसन्धान र विकास (आरएन्डडी)का लागि संयुक्त रूपमा ३७० अर्ब अमेरिकी डलर छुट्याएका थिए । यो भनेको लगभग युरोपियन युनियनको अनुसन्धान र विकासको समग्र बजेट (व्यवसाय र सार्वजनिक क्षेत्र दुवैको गणना गर्दा) बराबर हो ।
श्रमको सम्बन्धमा के हुन्छ, त्यो आकलन गरौँ । एआईसँग सम्बन्धित लाभ र हानि अर्थव्यवस्थामा कसरी वितरण हुनेछन्, वा यसमा को विजेता हुनेछन् र कसले क्षति व्यहोर्नुपर्नेछ भनी अहिले नै अनुमान गर्नु धेरै हतार हुनेछ । गोल्डम्यान स्यासको सन् २०२३ को एक रिपोर्टले एआईले अटोमेसनमा ३० करोड पूर्णकालिक रोजगारी खोस्न सक्ने अनुमान गरेको छ । तर, वर्ल्ड इकोनोमिक फोरमले ८०३ कम्पनीमा गरेको सर्वेक्षणले भने एआईले हरित संक्रमण (ग्रिन ट्रान्जिसन) र जलवायु परिवर्तन अनुकूलनमा योगदानबाट सिर्जना हुने रोजगारीको मध्यनजर निकै कम मात्र खुद घाटा हुने औँल्याएको छ । धेरैलाई एआईले दीर्घकालीन संरचनात्मक बेरोजगारीमा योगदान पुर्याउँदै बेरोजगार वर्ग (दक्ष र अदक्ष कामदार दुवैमा) सिर्जना गर्ने डर छ । माथिका अनुमानले के हुन सक्छ भन्ने कुराको आधार रेखा प्रदान गरे पनि यो विषयमा हाम्रो सोचलाई परिष्करणको पर्याप्त सम्भावना छ । आखिर, समस्याको स्केल एआई मूल्य शृंखलाको विभिन्न विन्दुहरूमा कुन रोजगारी कति गुमे भन्नेमा निर्भर गर्छ ।
व्यापक अर्थतन्त्रको त कुरै छाडौँ, चेनको एउटा कडीमा रोजगारी गुम्नुको अर्थ प्रविधि क्षेत्रमा कस्तो हुन्छ भन्ने हामीले अहिलेसम्म देखेका छैनौँ । हामी चिप म्यानुफ्याक्चर, एआई पूर्वाधार र एआई अनुप्रयोगबाट स्वास्थ्य सेवा, शिक्षा र दूरसञ्चारजस्ता क्षेत्रमा सर्दै गर्दा रोजगारीमा यसको प्रभाव व्यापक रूपमा भिन्न हुन सक्छ । यी क्षेत्र एआई नवप्रवर्तनबाट लाभ उठाउन तम्तयार छन् । टेक्नोलोजीको आधारमा, चिप म्यानुफ्याक्चर (जस्तै एनभिडिया)हरूले फ्याब्रिकेसन (चिप उत्पादन गर्ने कारखाना) सुविधाहरू निर्माण र एआई क्रान्तिलाई ड्राइभ गर्ने गरी उत्पादन क्षमतामा लगानी गर्ने क्रममा पहिले नै विशाल वृद्धि र रोजगारी सिर्जना गरिसकेका छन् । नयाँ प्रविधिको प्रयोग कसरी हुनेछ वा यसले कस्तो प्रभाव पार्न सक्छ भनेर कसैले पनि भविष्यवाणी गर्न नसक्ने भएकाले यसबाट अन्यत्र कति रोजगारी सिर्जना हुने वा गुम्ने भन्ने कुरा स्पष्ट छैन । दीर्घकालीन दक्षता र उत्पादकत्व वृद्धिमा एआईको प्रभावका प्रारम्भिक संकेत उत्साहजनक छन् । उदाहरणका लागि, एरिक ब्रायनजोल्फसन, डेनियल ली र लिन्डसे आर रेमन्डले सन् २०२३ मा पाँच हजार कामदारमा गरेको एक अध्ययनले एआई उपकरणले कामदारको उत्पादकत्व औसतमा १४ प्रतिशत र नयाँ र अदक्ष कामदारमा ३४ प्रतिशतले वृद्धि गरेको पाएको थियो ।
पहिलेदेखि नै प्रविधिगत प्रगतिमा व्यापार र दूरसञ्चारमा विश्वव्यापी कनेक्टिभिटी बढाउने, स्वास्थ्य सेवा र शिक्षाजस्ता सार्वजनिक वस्तुमा पहुँच विस्तार गर्ने, नवप्रवर्तनलाई गति दिने, जीवनस्तर सुधार गर्ने र अन्ततोगत्वा व्यापक आर्थिक वृद्धिलाई सशक्त बनाउने इतिहास रहिआएको छ । एआईले पनि यसो गर्दैन भनेर सोच्नुपर्ने कुनै कारण छैन ।
यसबाहेक, एआई पूर्ववर्ती टेक्नोलोजीहरूभन्दा छिटो व्यापक अर्थव्यवस्थामा फैलन सक्छ । जसको अर्थ एआईसँग सम्बन्धित उत्पादकता र दक्षताको लाभ छिटै प्राप्त हुन सक्छ भन्ने नै हो । पहिलेका सामान्य प्रयोजनका प्रविधि (जस्तै वाष्प इन्जिन, विद्युतीकरण र पर्सनल कम्प्युटर)का लागि आधारभूत पूर्वाधार निर्माण गर्न विशाल खर्चको आवश्यकता पथ्र्याे । बीसौँ शताब्दीको पूर्वार्द्धमा बिजुली व्यापक रूपमा पहुँचयोग्य हुन ४० वर्षभन्दा बढी समय लाग्यो । सन् २०१० को दशकको स्मार्टफोनलाई ९० प्रतिशतभन्दा बढी अंगीकार हुन लगभग एक दशक लाग्यो । यसविपरीत एआईलाई मौजुदा प्लाटफर्म र उपकरणमार्फत नै तैनाथ गर्न सकिन्छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सुपर साइकलले उत्पादकत्व वृद्धि र मजबुत आर्थिक वृद्धिलाई सन् २०३० सम्ममा विश्वव्यापी रूपमा १६ ट्रिलियन अमेरिकी डलर पुर्याउने पिडब्लुसीको आकलन छ । तर, धेरै हदसम्म यी लाभ मुख्यतया पुँजीका मालिकलाई नै प्राप्त हुनेछ । संकुचनको सम्भावना रहेको श्रमशक्तिलाई खासै लाभ प्राप्त हुनेछैन । कम श्रमप्रधान आर्थिक वृद्धिको आजको युगमा धेरैजसो कम्पनी र उद्योगले आफ्ना व्यवसायका मोडेललाई अनुकूलन गर्नेछन्, अर्थात् रोजगारीमा पुँजीको अनुपात बढाउनेछन्, जसका कारण सरकारहरूले पनि कर र कल्याणकारी नीतिहरूको पुनः मूल्यांकन गर्न आवश्यक छ ।
यदि अधिक आर्थिक लाभ पुँजीका मालिकमा प्रवाह भइरहेको छ भने करहरू तदनुसार परिवर्तन गर्न आवश्यक हुन्छ । उदाहरणका लागि, स्वचालन र थोरैभन्दा थोरै कार्यबलद्वारा सिर्जित अतिरिक्त मुनाफामा हिस्सा लिन सरकारहरूलाई कर्पाेरेट करका उच्चदर आवश्यक हुन सक्छ । कल्याणको सन्दर्भमा, एआईबाट बढ्दो संरचनात्मक बेरोजगारीको खतराले विश्वव्यापी आधारभूत आयजस्ता कट्टरपन्थी प्रस्तावबारे बहस पुनर्जीवित गर्नेछ ।
हामीले देशभित्र, पुँजी र श्रमबीच र देशमाझ असमानतामा एआईको प्रभावबारे विचार गर्नुपर्छ । अमेरिका र चीनजस्ता प्रविधि नेता र बाँकी विश्व विशेषगरी गरिब अर्थव्यवस्थाबीचको बढ्दो खाडलले पहिलेदेखि नै व्याप्त तनावपूर्ण भूराजनीतिक वातावरणलाई थप खराब बनाउन सक्छ ।
Published on: 15 July 2024 | Naya Patrika
GET IN TOUCH