s

परदेशमा सस्तो श्रम बेचिरहेको नेपाल

आभास बुढाथोकी

गत साउनयता नेपालमा हरेक महिना सरदर एक खर्ब २० अर्ब रुपैयाँको दरले रेमिट्यान्स आइरहेको छ ।

साउन २०८० देखि जेठ २०८१ सम्मको ११ महिनामा कुल १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड नै मानिएको रेमिट्यान्सले कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) को २४ प्रतिशत हिस्सा ओगट्छ ।

यो आर्थिक योगदानको ठुलो हिस्सा अदक्ष श्रमिकहरुबाट आउने गरेको छ । अर्थात वैदेशिक रोजगारीमा जाने नेपालीको ठुलो संख्या अदक्ष श्रमिकहरूको छ ।

विभागका अनुसार बितेको तीन वर्षमा २१ लाख ८२ हजार श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये सीप नसिकेकामात्रै ६ लाख ३० हजार अदक्ष श्रमिक थिए । त्यसमा सामान्य सीप जानेका १३ लाख ३० हजार दक्ष श्रमिकहरू  थिए ।

त्यस्तै आधा सीप सिकेका एक लाख ७५ हजार, व्यवसायिक सीप सिकेका ४ हजार ६०० र एक हजारमात्र उच्च दक्ष श्रमिकहरू थिए ।

आर्थिक वर्ष ०७८/०७९ मा सीप नसिकेका (अदक्ष) २ लाख ८३ हजार, सामान्य सीप सिकेका (दक्ष) दुई लाख ९१ हजार ८८९, अर्धदक्ष ५४ हजार ३२८, व्यवसायिक सीप सिकेका ६८० र उच्च दक्ष १२४ श्रमिक विदेश गएका थिए ।

आर्थिक वर्ष ०७९/०८० मा सीप नसिकेका (अदक्ष) दुई लाख २ हजार ६२१, सामान्य सीप सिकेका (दक्ष) पाँच लाख ६ हजार ७४६, अर्धदक्ष ६० हजार ५५५, व्यवसायिक सीप सिकेका एक हजार १५३ र उच्च दक्ष २५७ श्रमिक विदेश गएका थिए ।

आर्थिक वर्ष ०८१/०८२ मा सीप नसिकेका (अदक्ष) एक लाख ४५ हजार, सामान्य सीप सिकेका (दक्ष) पाँच लाख ३२ हजार १२३, अर्धदक्ष ६० हजार १२३, व्यवसायिक सीप सिकेका दुई हजार ७७२ र उच्च दक्ष ७३२ श्रमिक विदेश गएका छन् ।

तथ्याङ्कले नै के देखाउँछ भने सीप नसिकी (अदक्ष र समान्य सीप सिकेर जाने अर्धदक्ष) वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ठूलो छ । त्यसबाहेक अर्धदक्ष, व्यवसायिक सीप सिकेका र उच्च दक्ष श्रमिकहरु पनि छन् । तर त्यो संख्या निकै कम छ ।

वैदेशिक रोजगार सूचना अधिकारी गुरुदत्त सुवेदीले विगतको तुलनामा केही सुधार भए पनि वैदेशिक रोजगारीमा जानेमा अधिकांश अदक्ष कामदार नै रहेका छन् ।

उनका अनुसार सीप नसिकी गएका श्रमिकहरुले विदेशमा सस्तोमा श्रम गर्नुपर्छ । त्यस्ता श्रमिक ठगिने, श्रम शोषणमा पर्ने सम्भावना उत्तिकै हुन्छ । उनीहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति समेत हुँदैन । अदक्ष श्रमिकले श्रमको राम्रो पनि पाउँदैनन् ।

यसरी सीप नसिकी विदेश जाँदा जोखिमपूर्ण काममा ज्यान गुमाउने खतरा समेत हुन्छ । वार्षिक एक हजार श्रमिकहरुको विदेशमा मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।

बढ्न सक्थ्यो रेमिट्यान्स

नेपालले अदक्ष श्रमिक पठाइरहँदा यसको मूल्य श्रमिकलेमात्र नभएर राज्यले रेमिटान्समा समेत चुकाइरहेको छ । जबकि यही संख्यामा (वार्षिक साढे सात लाख) दक्ष वा अर्धदक्ष श्रमिक पठाउन सके रेमिटान्स दोब्बर/तेब्बरले बढ्ने श्रम विज्ञ तथा अधिवक्ता डा. सोमप्रसाद लुईंटेल बताउँछन् ।

अहिले वार्षिक १४ खर्ब हाराहारी रेमिट्यान्स आउने गरेको छ । ‘दक्ष श्रमिक जादा फाइदा व्यक्ति परिवारलाई मात्र हैन, त्यसको लाभ देशले पनि पाउँछ’ उनी भन्छन्, ‘श्रमिक नै पठाउने हो भने, सीप सिकेर दक्ष श्रमिक नै किन नपठाउने ?’

सीप सिकेर श्रमिक पठाउने नीति असफल

वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगारीमा जादा सीप सिकेर मात्र जानुपर्ने व्यवस्था गरेको छ ।

सरकारले हाउस वाइरिङ/इलेक्ट्रिसियन, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, वेटर, कुक, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लिनर, सेक्युरिटी गार्ड, पम्बिङ, पेन्टर, गामेन्ट/टेलरिङ जस्ता क्षेत्रमा काम गर्न जादा सिप सिकेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था समेत गरेको थियो । तर पछि वैदेशिक रोजगार व्यवासायीहरुले यसको विरोध गरे । त्यसैले सीप सिकेर जानुपर्ने व्यवस्था कार्यान्वयन हुन सकेन ।

वैदेशिक रोजगार मामिलाका जानकारहरु राज्यले बलियो कानुन नल्याउँदा श्रमिकहरु सीप नसिकी जानुपर्ने अवस्था भएको बताउँछन् । धेरै श्रमिकले पनि विदेशमा कामको प्रकृति र त्यहाँ सीपको महत्व नबुझ्दा नेपालमा सीप सिक्न झञ्झट मान्छन् ।

श्रम बजारको अध्ययन र श्रममा लगानी

श्रम विज्ञ जीवन बानियाँ नेपालको प्रमुख श्रम गन्तव्य मलेसिया र खाडी राष्ट्रहरुमा अदक्ष श्रमिककै माग हुने गरेको बताउँछन् । ‘श्रम गन्तव्य मुलुकहरुबाट माग नै अदक्ष श्रमिकहरुको धेरै छ’, उनले भने, ‘यस्तो अवस्थामा नेपालले मात्र दक्ष श्रमिक पठाउने भनेर हुँदैन । कूटनीतिक पहलबाट दक्ष श्रमिकको मागलाई बढाउन जरुरी छ ।’

नेपालले बदलिदो श्रम बजारको अध्ययन गरी सोही अनुसारको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘पहिले त बजारको माग र आवश्यकतालाई अध्ययन गर्न जरुरी छ’, उनी भन्छन्, ‘र, त्यसैलक्षित दक्ष श्रमिक उत्पादन गर्न लाग्नुपर्छ ।’

श्रम विज्ञ लुईंटेल सरकारले दक्ष श्रमशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउँछन् । ‘हामीसँग सीप सिकाउने संयन्त्रहरु भए पनि प्रभावकारी बनाउन सकिरहेका छैनौं’, उनी भन्छन्, ‘अब यी संयन्त्रहरुलाई बलियो बनाएर श्रम बजारको आवश्यकतालाई हेरेर श्रम जनशक्ति उत्पादन गर्न लाग्नुपर्छ ।’

Published on: 23 July 2024 |Onlinekhabar

Link

Back to list

;