‘घरेलु कामदार नरोकियोस्’

वैशाख ३, २०७४- यूएईस्थित नेपाली दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र विश्वास कायम राख्न कानुनी रूपमा घरेलु कामदार पठाउने कार्य रोक्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । खाडीका अन्य मुलुकसँग यूएईलाई जोड्न नमिल्ने दूतावासको भनाइ छ । 

दूतावासले युएईसँग नेपालको श्रम सम्झौता भएको, घरेलु कामदारसँग सम्बन्धित कानुन अन्तर्राष्ट्रियस्तरको भएको र कानुनी बाटो भएर आउने घरेलु कामदार समस्यामा नपरेको जानकारी परराष्ट्र र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई गराएको छ ।

‘वैध घरेलु कामदार आउन कहिले खोल्ने, कहिले बन्द गर्ने गर्दा द्विपक्षीय सम्बन्ध र विश्वासमा असर पर्न सक्ने हुँदा यसलाई गम्भीरतासाथ विचार गर्नुपर्छ,’ यूएईका लागि कार्यवाहक राजदूत नेत्रप्रसाद टन्डनले कान्तिपुरसँग भने, ‘संस्थागत रूपमा घरेलु कामदारको श्रम अनुमति लिई फूलको माला लगाई नेपालको विमानस्थलका सबै निकायका पदाधिकारीसँग आँखा जुधाई आएकालाई अवैध तरिकाबाट आउनेसँग दाँज्नु अपमान र बेइज्जत हो ।’ 

दूतावासले घरेलु कामदार लिने संस्थागत प्रक्रियालाई प्रोत्साहन गर्न यूएई सरकारले समेत साथ दिइरहेको जनाएको छ । ‘यूएईमा भिजिट वा अन्य भिसाबाट आएकालाई घरेलु कामदारको भिसा परिवर्तन गर्न मिल्ने प्राबधान छ । त्यसलाई हटाउन दूतावासले गरेको अनुरोधलाई यूएई सरकारले सकारात्मक रूपमा ग्रहण गरेको छ,’ उनले भने, ‘केही क्षेत्रमा लागू भइसकेको छ । केहीमा प्रक्रिया सुरु भएको छ ।’ 

श्रम समितिले दुई देशबीच श्रम सम्झौता नभएसम्म घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयन नगर्न निर्देशन दिएपछि श्रम मन्त्रालयले संस्थागत रूपमा हुने घरेलु कामदारको श्रम स्वीकृति बन्द गरेको हो । खाडीका ६ देशमध्ये यूएईमा मात्रै गत वर्षको जेठ २३ देखि घरेलु कामदार पठाउने प्रक्रिया सुरु भएको हो । हालसम्म १ सय ३६ जना घरेलु कामदार संस्थागत प्रक्रियाबाट यूएई पुगेका छन् । 

दूतावासले पर्यटन वा भ्रमण भिसामा मानव तस्करबाट घरेलु कामदार पठाउने कार्य रोक्नु सम्बन्धित निकायको जिम्मेवारी भएको जनाउँदै भनेको छ, ‘घरेलु कामदारका लागि कानुनी बाटो खुला गरेर चोर बाटो पूर्णत: बन्द गर्नुपर्छ ।’ दूतावासले घरेलु कामदार आपूर्ति गर्ने यूएईको संस्थाले नेपाली दूतावास र यूएईको सरकारसमक्ष १ करोड ६५ लाख रुपैयाँ र नेपालको म्यानपावरले वैदेशिक रोजगार विभागमा २५ लाख रुपैयाँ धरौटी राखेको जानकारी दिएको छ । 

‘नियम उल्लंघन गरे ३० लाख रुपैयाँ जरिवाना बुझाउनुपर्छ,’ कार्यवाहक राजदूत टन्डनले भने, ‘नेपाल र यूएईमा वैध घरेलु कामदारका लागि इजाजत प्राप्त संस्थालाई जिम्मेवार बनाइएको छ । समस्या परेकालाई उद्धार गर्न उक्त रकम खर्च गर्न पाइनेछ ।’ 

एक जना घरेलु कामदार ल्याउन रोजगारदाताले ७ लाख रुपैयाँसम्म खर्च गुर्नपर्ने भएकाले अर्को देश पठाउने सम्भावना नरहेको दाबी दूतावासको छ । दूतावासले यूएईका १० वटा म्यानपावरसँग १० हजार डलर धरौटी लिई नेपालबाट घरेलु कामदार ल्याउन अनुमति दिएको छ । निर्देशिकाअनुसार यूएईले गत २३ अगस्ट २०१६ देखि घरेलु कामदार ल्याउन स्वीकृति दिन थालेको थियो । 

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दूतावासले जिम्मेवारी लिने अवस्था भए निर्देशिकालाई कार्यान्वयन गर्न सकिने जनाएको छ । ‘हामी घरेलु कामदारको सुरक्षामा बढी संवदेनशील छौं,’ अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका उपसचिव झलक शर्मा सापकोटाले भने, ‘कामदारको ग्यारेन्टी दूतावासले लिन्छ र दुई देशबीच श्रम सम्झौता भएको छ भने कामदार पठाउँदा हुन्छ ।’

 

Published: 16 April 2017/ Kantipur



 

NEWS SEARCH